काठमाडौं । काठमाडौंस्थित देउराली जनता फर्मास्युटिकल्स प्रालिले चितवनको भरतपुरमा नयाँ परियोजना सञ्चालन गर्ने भएको छ । चार अर्ब ७५ करोड लगानीसहित अत्याधुनिक नयाँ कारखाना स्थापना गर्ने निर्णय भएको कम्पनीका निर्देशक सुरजभक्त पौडेलले जानकारी दिनुभएको हो । विगत ३५ वर्षदेखि स्वदेशमै अत्यावश्यक औषधि उत्पादन गर्दै आएको कम्पनीले जीवन रक्षक तथा दीर्घरोग उपचारमा प्रयोग हुने क्याप्सुल, ट्याब्लेट, झोल औषधि, मलहम, ड्राइ पाउडरलगायत दुई सय ९६ प्रकारका औषधि उत्पादन गर्दै आएको जनाएको छ ।
हाल कम्पनीमा विश्वका विभिन्न मुलुकबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक र अन्य जनशक्ति गरी करिब छ सय ७५ कर्मचारी कार्यरत रहेकोमा नयाँ परियोजनामा थप साढे पाँच सय जनाले रोजगारी पाउने कम्पनीद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । वार्षिक साढे दुई अर्ब रुपैयाँको कारोबार गर्ने उद्योगले आगामी दिनमा औषधि निर्यात गर्ने तयारी गरेको कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताउनुभयो । उहाँका अनुसार नेपालमा हरेक वस्तुको उत्पादन लागत बढी हुने गर्छ, अत्यधिक करलगायतका कारण उत्पादन लागत बढी हुने गरेको हो । सोही कारण पनि प्रतिस्पर्धी क्षमता बढाउँदै विदेशी बजारमा नेपाली औषधि पुर्याउनुपर्ने चुनौती छ ।
नयाँ परियोजना सञ्चालनमा आएसँगै औषधि निर्यात तयारी भएको हो । रोजगारी सिर्जना, उद्योगमा लगानी, पूर्वाधार विकासलगायतका आर्थिक सूचकले नेपाल दक्षिण एसियामै कमजोर देखिए पनि हिम्मत नहारी आफूहरू उद्योग विस्तारमा लागेको उहाँको भनाइ थियो । कम्पनीले ३५औँ वार्षिकोत्सवका अवसरमा औषधिको गुणस्तर अझ सुदृढ गर्दै राष्ट्रलाई औषधिमा आत्मनिर्भर बनाउन थप योगदान गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले अन्तर्राष्ट्रियस्तरका गुणस्तर व्यवस्थापन, वातावरणीय मापदण्ड तथा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका औषधि उत्पादनसम्बन्धी मापदण्ड पूरा गरेका आधारमा विभिन्न अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच