काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो प्रसारण संस्था इमेज च्यानल आफ्नो संस्थागत विस्तारको नयाँ चरणमा प्रवेश गरेको छ । चौधरी ग्रुपअन्तर्गत सञ्चालित सिजी इन्टरटेनमेन्ट प्रालि औपचारिक रूपमा इमेज ग्रुप अफ कम्पनिजमा आबद्ध भएसँगै इमेज समूहको मिडिया नेटवर्क थप सुदृढ भएको छ ।
२०८२ सालको सुरुवातसँगै नयाँ व्यवस्थापन संरचना, सुदृढ कर्पोरेट गभर्नेन्स र दीर्घकालीन रणनीतिसहित अघि बढिरहेको इमेज ग्रुप हाल प्रसारण, छापा, रेडियो तथा डिजिटल माध्यम समेट्ने बहुप्लेटफर्म मिडिया नेटवर्कका रूपमा विस्तार हुँदै गएको छ । यस प्रक्रियामा सिजी इन्टरटेनमेन्टको औपचारिक सहभागितालाई समूहको विस्तार यात्राको महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ ।
नयाँ व्यवस्थापनअन्तर्गत हाल इमेज ग्रुपले इमेज च्यानल एचडी, नेपाल समाचारपत्र (राष्ट्रिय दैनिक), न्यूज अफ नेपाल (अनलाइन), इमेज एफएम ९७.९, इमेज खबर (अनलाइन), इमेज न्यूज एफएम, कामना सिने मासिक तथा साधना हेल्थ म्यागेजिन सञ्चालन गर्दै आएको छ । यी माध्यममार्फत् समूहले समाचार, सूचना, मनोरञ्जन तथा जीवनशैलीसम्बन्धी सामग्रीलाई एकीकृत रूपमा प्रवाह गर्दै आएको छ ।
करिब तीन दशकदेखि सञ्चार, सिनेमा तथा मनोरञ्जन क्षेत्रमा सक्रिय सिजी इन्टरटेनमेन्ट प्रालि उद्योगी, सर्जक तथा कवि वसन्त चौधरीको नेतृत्वमा स्थापित संस्था हो । चलचित्र उत्पादन, वितरण, प्रदर्शनी तथा डिजिटल कन्टेन्ट निर्माणमा संलग्न यो संस्थाले नेपाली मनोरञ्जन उद्योगको व्यावसायिकीकरण र संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
सिजी इन्टरटेनमेन्ट र कामना न्यूज पब्लिकेसन्सको सहकार्यमा आयोजना हुँदै आएको ‘सिजी कामना फिल्म अवार्ड’ नेपाली चलचित्र उद्योगको प्रतिष्ठित अवार्ड समारोहका रूपमा स्थापित छ । यस्तै, डिजिटल प्लेटफर्ममार्फत् प्रसारण हुँदै आएको सामाजिक संवादमूलक कार्यक्रम ‘मनका कुरा’ दर्शकमाझ लोकप्रिय रहँदै आएको छ ।
सिजी इन्टरटेनमेन्टको प्रवेशसँगै इमेज ग्रुपले कन्टेन्ट उत्पादनदेखि वितरणसम्म आधुनिक प्रविधिको प्रयोग, डिजिटल विस्तार तथा बजार पहुँचलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ । समूहले विश्वसनीय पत्रकारिता, सिर्जनशील मनोरञ्जन र डिजिटल नवप्रवर्तनलाई एकैसाथ अघि बढाउँदै नेपाली मिडिया तथा मनोरञ्जन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य लिएको बताइएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच