काठमाडौं । पछिल्लो समय खाना पकाउने ग्याँस अभावको हल्ला फैलाएर बजारमा कृत्रिम अभावको अवस्था सिर्जना भएको भन्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिक्रीवितरण हुने ग्याँसको विवरण सार्वजनिक गरेको छ । खासगरी नेपाल ग्याँस अभाव रहेको गुनासोपछि निगमले नेपाल ग्याँस काठमाडौंका ८४ स्थानबाट छ हजार आठ सय ७० सिलिण्डर बिक्रीवितरण हुने जनाएको हो ।
निगमका अनुसार हाल ग्याँसको आयात परिमाण बढाइएको छ र अब ग्याँस अभाव छैन । निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्याँस स्टक नगर्न पनि सचेत गराएको छ । अभावको हल्लाका कारण उपभोक्ताले अनावश्यक स्टक गर्न थालेपछि बजारमा केही समस्या देखिएको निगमको भनाइ छ ।
ग्याँस अभाव भएको नभई मिडियाहरूमा ग्याँस अभाव हुने समाचार आउन थालेपछि उपभोक्ताहरू त्रसित भई आवश्यकभन्दा बढी ग्याँस स्टक गर्न खोज्दा बजारमा चाप परेको निगमको दाबी छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले भारतबाट मागभन्दा धेरै ग्याँस आयात भइरहेको र आगामी निर्वाचन अवधिभर पनि ग्याँसको आपूर्ति निरन्तर हुने व्यवस्था कायम रहेकाले उपभोक्ताले ग्याँस स्टक राख्नुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । उहाँले आवश्यक नभएको अवस्थामा अनावश्यक रूपमा खरिद गरी घर, पसल, होटल तथा रेष्टुराँमा स्टक गरी जम्माखोरी नगर्न पनि आग्रह गर्नुभएको छ ।
निगमका अनुसार पछिल्लो तीन दिनमा आयल निगममार्फत् आयात गरिएको एलपिजी ग्याँसको लोडिङ शनिबार एक १८ बुलेट(एक लाख ४९ हजार पाँच सय सिलिण्डर), सोमबार एक सय १५ बुलेट(एक लाख ४५ हजार सात सय सिलिण्डर) र मंगलबार एक सय ३२ बुलेट(एक लाख ६७ हजार तीन सय सिलिण्डर) रहेको छ । ग्याँस अभाव भएको नभई मिडियाहरूमा ग्याँस अभाव हुने समाचार आउन थालेपछि उपभोक्ताहरू त्रसित भई आवश्यकभन्दा बढी ग्याँस स्कट गर्न खोज्दा बजारमा चाप परेको निगमको दाबी छ । ग्याँस आपूर्ति सहज बनाउन अर्को महिनाका लागि थप दुर्ई हजार मेट्रिक टन कोटा बढाएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको छ । उहाँका अनुसार सामान्यतया मासिक ४९ हजारदेखि ४९ सय पाँच सय मेट्रिक टनसम्म ग्याँसको कोटा निर्धारण गरिने भए पनि वास्तविक खपत त्योभन्दा कम हुने गरेको छ ।
इण्डियन आयल कर्पोरेसनबाट सन् २०२६ जनवरीमा ४७ लाख तीन सय चार मेट्रिक टन ग्याँस सम्बन्धित उद्योगले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार दुई सय ६४ र डिसेम्बरमा ४८ हजार पाँच सय ३१ मेट्रिक टन ग्याँस आयात भएको थियो । हाल उद्योगहरूले ल्याएको ग्याँसको परिमाण जाडोयामको माग धान्न पुग्ने निगमको भनाइ छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि बजारमा ग्याँस अभाव नरहेको भन्दै अनावश्यक हल्लाको पछि नलाग्न उपभोक्तालाई सचेत गराएको छ । अनुगमनका क्रममा ग्याँस पर्याप्तमात्रामा रहेको पाइएको जनाएको विभागले बालाजुस्थित नेपाल ग्याँस उद्योग, कलंकीस्थित साइबाबा ग्याँस उद्योग, भक्तपुरको महाकाली ग्याँस स्टोर्स र ग्याँस एण्ड अक्सिजन ट्रेडर्समा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा उल्लेखित उद्योगहरूलाई विभागले निर्देशनसमेत दिइएको जनाएको छ । मंगलबार पनि एभरेस्ट ग्याँसलगायतका ग्याँस उद्योगको अनुगमनका लागि विभागको टोली खटिएको र अनुगमनका क्रममा पर्याप्तमात्रामा ग्याँस रहेको विभागको भनाइ छ । नेपाल एलपी ग्याँस उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले पनि जाडो मौसममा १० देखि १५ प्रतिशत ग्याँस खपत बढ्ने भएकाले मागअनुसार आयात नहुँदा सामान्य अभाव देखिए पनि निगमले आयात बढाउने निर्णय गरिसकेकाले अब अभाव नहुने बताउनुभएको छ । उहाँका अनुसार, नेपालमा ग्याँस ढुवानी गर्दै आएका इण्डियन नम्बरका ग्याँस बुलेटले नेपालमा भाडा कम भएको भन्दै नेपाल छोडेर भारतमा ग्याँस बोक्न थालेकाले पनि बजारमा अभाव देखिएको हो । सात सय बुलेटले नेपालमा ग्याँस ढुवानी गर्दै आएकोमा हाल २५ प्रतिशतले बोक्न छाडेको उहाँको दाबी थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच