काठमाडौं । देशभर आसन्न प्रतिनिधिसभा चुनाव लक्षित माहोल तीव्र बनको छ । चुनावको मिति नजिकिएसँगै तोकिएकै समयमा निर्वाचन हुने/नहुने आशंका पनि छायामा परेको छ । राजनीतिक दल र उम्मेदवारहरू मतदातालाई रिझाउन व्यस्त छन् । तर, चुनाव आउन एक महिनाभन्दा कम समय बाँकी रहेको बेला विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले भने सरकार आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सार्ने बहाना बनाइरहेको आरोप लगाएको छ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले सरकार निर्वाचन सार्ने उद्देश्यले बहाना खोजिरहेको आरोप लगाउनुभएको हो ।
बुधबार राजधानीमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले प्रधानमन्त्री स्वयंले हिमाली जिल्लामा हिमपातको सम्भावनालाई कारण देखाउँदै निर्वाचन सार्न सकिने वा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने अभिव्यक्ति दिएको उल्लेख गर्नुभएको हो । उपाध्यक्ष थापाले वर्तमान सरकार अवैध र प्रायोजित ढंगबाट गठन भएको आरोप लगाउँदै भन्नुभयो, ‘सरकार निर्वाचन सार्ने बहाना खोज्दै छ । प्रधानमन्त्रीले नै हिमाली जिल्लामा हिमपात भयो भने निर्वाचन सर्नसक्छ अथवा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्ने कुरा गर्नुभएको छ । यसले के देखाउँछ भन्दा अहिलेको सरकार चुनाव नगराउने दिशामा अघि बढिरहेको देखिन्छ । चुनाव सार्न बहाना खोज्दै छ । यो अवैध र प्रायोजित ढंगबाट गठन गरिएको सरकार हो ।’
सरकारले पाएको दुईटा मिसन तत्काल पूरा हुने नदेखिएपछि प्रतिकूल मौसम वा हिमपातलाई कारण बनाएर निर्वाचन सार्न खोजिएको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘जेन-जीको आवरणमा गरिएको क्रान्ति थिएन । प्रतिगमन थियो । त्यो ठूलो असंवैधानिक कदम थियो । त्यसैको बलमा बनेको असंवैधानिक सरकार दिनप्रतिदिन नांगिँदै गएको छ । सरकारलाई दुईटा मिसन दिइएको थियो । एउटा यहाँका देशभक्त, लोकतान्त्रिक र मुख्य दललाई सखाप पार्ने र अर्को देश जलाउनेलाई स्थापित गर्ने । यो मिसन पूरा हुन सकेन । पुराना दलहरूलाई सिध्याउन सकेन । त्यसकारण सरकार चुनाव सार्ने बहाना खोजिरहेको छ ।’
सरकारले चीनविरोधी गतिविधिलाई संरक्षण गरिरहेको छ : उपाध्यक्ष थापा
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले चीन विरोधीहरूलाई संरक्षण र सम्मान गरिरहेको आरोप लगाउनुभएको छ । दलाई लामाका प्रतिनिधि नेपाल आउँदा विमानस्थलदेखि नै राजकीय सम्मानसहित स्वागत गरिएको उहाँको टिप्पणी छ । चीनले नेपाल सरकारलाई चीनविरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई नेपालबाट निष्कासन गर्न चेतावनी दिएको दाबी गर्दै उपाध्यक्ष थापाले भन्नुभयो, ‘दलाई लामाको प्रतिनिधि नेपाल आएका थिए । उनलाई विमानस्थलदेखि नै राजकीय सम्मानसहित नेपाल ल्याइएको थियो । यो सरकारले चीन विरोधीहरुलाई संरक्षण दिइरहेको छ । यसले गर्दा चीनले सरकारलाई दुईवटा विकल्प दिएको छ । या त चीनको विरोधीलाई नेपालबाट निकाला गर्नुपर्यो नभए यसबाट उत्पन्न हुने परिणाम भोग्नको लागि तयार हुनुपर्यो भनेको छ ।’
संसद् पुनःस्थापना नहुनुमा षड्यन्त्र देखिएको जिकिर
उपाध्यक्ष थापाले विघटित संसद् (प्रतिनिधिसभा) पुनःस्थापना नहुनुमा षड्यन्त्र देखिएको जिकिर गर्नुभएको छ । संसद् पुनःस्थापना गर्न नदिन सर्वोच्च अदालतमा चर्को दबाब परेको देखिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतका प्रधानन्यायाधीश केही दिन अगाडि हामीलाई विभिन्न स्थानबाट धम्की आउँदै छ भनेर भन्दै हुनुहुन्थ्यो । संसद् पुनःस्थापनाको निर्णय नगर भनेर सर्वोच्चमा चर्को दबाब परेको देखिन्छ । सर्वोच्चले पनि संसद् पुनःस्थापनाको रिटमाथि सुनुवाइ पछाडि सार्दै छ । निर्वाचन भयो भने फागुन २१ पछि गर्ने, त्योभन्दा अगाडि नगर्ने देखिन्छ । यतातिर एउटा षड्यन्त्र देखिन्छ ।’ संसद् पुनःस्थापना नगर्नका लागि सर्वोच्च अदालतले पनि बहाना गरिरहेको उहाँको जिकिर छ । यता, नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनःस्थापनाको रिटमा सर्वोच्च अदालत जिम्मेवारीबाट पन्छिन नपाउने स्पष्ट पार्नुभएको छ । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले आफ्नो फैसला तत्काल दिनुपर्ने जिकिर गर्दै सचिव बस्नेतले भन्नुभयो, ‘प्रधानन्यायाधीशलाई लाग्दै नलागेको रोग लागेर गायव हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ । यसले हामी निकै ठूलो वैदेशिक आक्रमणमा भएको पुष्टि हुन्छ । हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै नभई न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ ।’ अदालत डराएर न्यायिक प्रक्रियामा ढिलाइ भइरहेको सचिव बस्नेतको टिप्पणी छ ।
एमालेलाई सिध्याउने प्रयास हुँदै छ : नेता पोखरेल
नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमालेलाई सिध्याउन अनेकन षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ । बुधबार काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँग संवाद कार्यक्रममा नेता पोखरेलले एमालेविरुद्ध देशभित्र र बाहिरबाट पनि षड्यन्त्र भइरहेको दाबी गर्दै भन्नुभयो, ‘बाहिरी षड्यन्त्र चिर्नको लागि भित्र मजबुत हुनुपर्छ । भित्री रूपमा कमजोर भइयो भने बाह्य षड्यन्त्र हावी हुन्छ । त्यो पक्षमा छैनौँ । हामी आन्तरिक रूपमा सुदृढ हुन चाहन्छौँ ।’ एमालेले यसपटक फरक ढंगले घोषणापत्र ल्याउने तयारी गरिरहेको समेत उहाँले जानकारी दिनुभएको छ । सुशासनसँग जोडिएका कुराहरू, भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा, रोजगारलगायत विषय घोषणापत्रमा समेटिने उहाँले जानकारी दिनुभएको छ ।
चुनावी तालमेलको लागि छलफल भइरहेको उल्लेख
उपाध्यक्ष थापाले चुनावी सहकार्यबारे विभिन्न दलसँग छलफल भइरहेको जानकारी दिनुभएको छ । देश जलाउनेहरूका विरुद्ध सहकार्य गर्ने पार्टीको नीति रहेको स्पष्ट पार्दै उपाध्यक्ष थापाले भन्नुभयो, ‘देश जलाउनेहरूविरुद्ध जान तयार हुने राजनीतिक दलहरूसित सहकार्य गर्न सकिन्छ भन्ने पार्टीको नीति छ । जहाँ–जहाँ देश जलाउनेविरुद्ध जान तयार हुनेहरू छन् । दुवै पक्षको हित हेरेर सहाकार्य हुनसक्छ । फागुन २१ गते अघिसम्म सहकार्यका निम्ति सबै पक्षबाट प्रयत्न जारी रहन्छ । अन्तिम समयमा सहकार्यको सहमति हुनसक्छ ।’
काठमाडौं उपत्यकामा कम्तीमा १० सिट जित्ने दाबी
नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट जित्ने दाबी गर्नुभएको छ । अघिल्लो निर्वाचनमा पाँचदलीय गठबन्धन र स्वतन्त्रप्रतिको क्रेजको कारण दुई सिटमा खुम्चिनुपरेको उल्लेख गर्दै सचिव बस्नेतले भन्नुभयो, ‘यहाँ कतिपय घुमन्ते साथीहरू आएर भोट किनबेच हुन्छ भन्ने आरोप लगाउने गरेका छन् । त्योचाहिँ हामी उपत्यकावासीहरूलाई गिज्याइरहेको कुरा हो । सबैभन्दा धेरै बौद्धिक वर्ग र शिक्षित वर्ग यहाँ छन् । त्यसकारण उनीहरूको भोट परिवर्तित छ । अघिल्लो पटक स्वतन्त्र पार्टीले सिट ल्याएको थियो । त्यो भोगाइबाट यसपालि चाहिँ एमाले नै ठीक हो भन्ने ठाउँमा उपत्यकावासी पुगेका छन् । यसपालि उपत्यकाका १५ सिट एमालेको सुनिश्चित भन्ने नारा त दिएका छौँ तर कम से कम १० सिट हामी जित्छौँ ।’
कलाकारलाई प्रयोग गरेर सामाजिक सञ्जाल दुरुपयोग बढेको प्रति चिन्ता
नेकपा एमालेले आगामी फागुन २१ गते हुन लागेको निर्वाचन प्रचार-प्रसारमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता जनाएको छ । कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व, नीति र निर्वाचन चिह्नबारे भ्रम फैलाउने प्रयास भइरहेको पनि एमालेले जनाएको छ । यस्ता गतिविधि गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याउन पनि एमालेले माग गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लक्षित गालीगलौज, अमर्यादित र असभ्य अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै एमालेले त्यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ ।
शान्ति-सुरक्षाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै एमालेले भयरहित र निर्भिक रूपमा मतदान गर्नसक्ने वातावरण अझै तयार नभएको दाबी गरेको छ । फरार कैदीबन्दी, अवैध हातहतियार, राजधानीमा बढ्दो लुटपाटका घटनाले सुरक्षा अवस्थामाथि प्रश्न उठाएको पार्टीको भनाइ छ । निर्वाचन आचारसंहिताको निरन्तर उल्लंघन भइरहेको उल्लेख गर्दै एमालेले राष्ट्रिय अखण्डता, सार्वभौमिकता र शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिमाथि निगरानी बढाउन सम्बन्धित निकायलाई भनेको छ । अन्यथा उत्पन्न हुनसक्ने अराजकता, हिंसा र कानुन उल्लंघनको जिम्मेवारी सरकार र सम्बन्धित पक्षले लिनुपर्ने पनि एमालेले चेतावनी दिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच