काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभर प्रदर्शन हुने नेपाली चलचित्र ‘शिवांश : च्याप्टर १’को ट्रेलर सार्वजनिक गरिएको छ । अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रले पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरेको छ ।
सार्वजनिक ट्रेलरमा शिवको भेषमा गरिने आपराधिक गतिविधि र जोगीको आवरणमा लुकेका जघन्य अपराधको कथा देखाइएको छ । बाह्य रूपमा सांसारिक मोह त्यागेको साधुजस्तो देखिने पात्रभित्रको क्रुर मानसिकता र हिंस्रक व्यवहार ट्रेलरमा प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।
ट्रेलरले पौराणिक ‘समुद्र मन्थन’को प्रसंग र त्यसबाट उत्पन्न विषको कथालाई आधुनिक कथासँग जोड्दै रहस्यमयी दिव्य शिलाको वरिपरि चलचित्रको मूल कथा घुमेको संकेत गरेको छ ।
चलचित्रमा अभिनेता प्रवीण खतिवडाको लुक्स र अभिनय ट्रेलरको प्रमुख आकर्षण बनेको छ । शरीरमा खरानी, हातमा त्रिशूल र आँखामा देखिएको उन्मादसहितको उनको पात्रले एक शक्तिशाली ‘एन्टी-हिरो’को संकेत गर्छ । आध्यात्मिक शक्ति प्राप्त गर्ने होड र त्यसबाट उत्पन्न संघर्ष नै चलचित्रको मुख्य कथावस्तु रहेको देखिन्छ ।
ट्रेलरमा गुफा, मन्त्रोच्चारण, तान्त्रिक विधिसँगै ल्यापटप, आधुनिक हतियार र प्रहरी अनुसन्धानका दृश्य पनि समावेश छन्, जसले चलचित्रलाई धार्मिकमात्र नभई आधुनिक थ्रिलरको रूप पनि दिएको छ । निर्देशक सन्तोषकुमार आत्रेयको निर्देशनमा बनेको चलचित्रमा तेज गिरी, विकास जोशी, रुशा न्यौपाने, विमला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा अञ्जान केसीले लेख्नुभएको हो भने स्क्रिनप्ले बारत लिम्बुको छ ।
चलचित्रको अर्को विशेष पक्ष भारतीय प्रख्यात गायक कैलाश खेरको स्वर र संगीत हो । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, सरद महतोको छायांकन, बनिश शाहको सम्पादन तथा मिलन श्रेष्ठको द्वन्द्व निर्देशनले चलचित्रलाई प्राविधिक रूपमा सबल बनाएको छ ।
पौराणिक विषयवस्तुमा आधारित ‘स्पिरिचुअल एक्शन ड्रामा’ नेपाली चलचित्र क्षेत्रमा कम बन्ने गरेको अवस्थामा ‘शिवांश : च्याप्टर १’ले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ । महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको यस चलचित्रलाई शिवभक्त तथा चलचित्रप्रेमी दर्शकका लागि विशेष उपहारका रूपमा हेरिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच