काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा महिला अधिकारकी प्रखर अभियन्ता डा. मीना आचार्यको निधन भएको छ । उहाँको बिहीबार साँझ ८८ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । लामो समयदेखि शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा सक्रिय रहनुभएकी आचार्यको निधनले मुलुकले एक अनुभवी बौद्धिक व्यक्तित्व गुमाएको छ । उहाँ टंकप्रसाद आचार्य प्रतिष्ठानका संस्थापक तथा पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यकी छोरी पनि हुनुहुन्छ ।
डा. आचार्य नेपालको आर्थिक विकास, लैङ्गिक समानता र महिला सशक्तिकरणका विषयमा महत्वपूर्ण योगदान पुर्याउने अर्थशास्त्रीका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले नेपालमा महिलाको अवस्था, श्रम, आय–वितरण र विकास प्रक्रियामा महिलाको भूमिकामाथि गहिरो अध्ययन गर्नुभएको थियो । विशेषगरी ‘स्टाटस अफ वुमन इन नेपाल’ शीर्षकको अनुसन्धान तथा पुस्तकमार्फत उहाँले नेपाली महिलाको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थालाई तथ्यगत रूपमा उजागर गर्नुभएको थियो, जसले नीति निर्माण तहमा समेत गहिरो प्रभाव पारेको थियो ।
महिला अधिकारकर्मीका रूपमासमेत सक्रिय रहनुभएकी आचार्यले लैङ्गिक समानता, महिलाको आर्थिक पहुँच र निर्णय प्रक्रियामा सहभागिता बढाउन निरन्तर आवाज उठाउँदै आउनुभएको थियो । उहाँका अध्ययन र सुझावहरू विभिन्न सरकारी तथा गैरसरकारी निकायका नीति तथा कार्यक्रम निर्माणमा मार्गदर्शकका रूपमा प्रयोग हुँदै आएका थिए ।
डा. आचार्यले राष्ट्रको उच्च तहमा रहेर पनि सेवा गर्नुभएको थियो । उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारको रूपमा काम गर्दै आर्थिक तथा सामाजिक नीतिका विषयमा सुझाव दिनुभएको थियो । यस क्रममा उहाँले समावेशी विकास र महिलामैत्री नीति आवश्यकतामा विशेष जोड दिनुभएको थियो ।
शैक्षिक जीवनमा पनि डा. आचार्यको योगदान उल्लेखनीय रह्यो । उहाँले विश्वविद्यालय तथा अनुसन्धान संस्थामार्फत धेरै विद्यार्थी र युवा अनुसन्धानकर्तालाई मार्गदर्शन गर्नुभएको थियो । अर्थशास्त्र र लैङ्गिक अध्ययनका क्षेत्रमा उहाँका लेख, अनुसन्धान प्रतिवेदन र विचारहरू आज पनि सान्दर्भिक मानिन्छन् ।
स्वर्गीय डा. मीना आचार्यको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको निधनप्रति अर्थशास्त्री, महिला अधिकारकर्मी, राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
डा. आचार्यको निधनले नेपाली समाजले एक प्राज्ञिक, संवेदनशील र परिवर्तनमुखी चिन्तक गुमाएको छ । उहाँले छाडेर जानुभएको बौद्धिक विरासत र योगदानले भावी पुस्तालाई प्रेरणा दिइरहने विश्वास व्यक्त गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि