काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरू एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएका छन् । एक्लाएक्लै उम्मेदवारी मनोनयन दर्ता पनि राजनीतिक दलहरूले पछिल्लो केही दिनमा यसपटक पनि चुनावी गठबन्धन गर्नेगरी अनौपचारिक छलफल गरेका थिए । तर, चुनावी तालमेलमा कुरा नमिलेपछि दलहरू आ-आफ्नै बलबुतामा चुनाव लड्ने लगभग निश्चित भएको हो । नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एमालेले गरेको तालमेलको प्रस्ताव अस्वीकार गरेका छन् । एक्लै निर्वाचन लड्ने घोषणासहित माघ ६ गते उम्मेदवारी दर्ता गरेका कांग्रेस, एमाले र नेकपाले मतदान मिति नजिकिँदै जाँदा निश्चित निर्वाचन क्षेत्रहरूमा चुनावी तालमेलको प्रयास भएको थियो । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रस्ताव गर्नुभएको थियो । कांग्रेसको विशेष महाधिवेशनपछि कांग्रेसको नेतृत्व गगन थापाले सम्हाल्दै आउनुभएको छ । तर, सभापति थापा पहिलेदेखि नै चुनावी तालमेलको विपक्षमा रहनुभएको छ । चुनावी तालमेलको चर्चा भइरहेका बेला कांग्रेसले निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने पत्रकार सम्मेलन गरेरै स्पष्ट पारेको छ ।
विशेषगरी केहीदिन यता एमाले र नेकपाबीच चुनावी तालमेलका विषयमा अनौपचारिक छलफल भइरहेको थियो । एमालेले खासखास निर्वाचन क्षेत्रमा तालमेल गरेर जित सुनिश्चित गर्ने प्रयास गरेको थियो । तर, एमालेको प्रस्तावमा संयोजक पुष्पकमल दाहाल सकारात्मक भए पनि दोस्रो तहका नेताहरू तयार नभएपछि सम्भव हुन सकेन । एमाले अध्यक्ष ओलीले नेकपासँग केही निर्वाचन क्षेत्रमा तालमेलको प्रस्ताव राख्नुभएको बताइएको छ । तर, नेकपा संयोजक प्रचण्डले सार्वजनिक रूपमै प्रष्टसँग एक्लै चुनावमा जाने बताइसक्नु भएको छ ।
बिहीबार पनि पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले एमालेसँगको तालमेलको सम्भावनालाई अस्वीकार गर्नुभएको छ । यसअघि ओली र प्रचण्डबीच सम्भावित चुनावी तालमेलबारे वार्तासमेत भएको थियो । देशभर एमाले र नेकपाबीच तालमेल प्रस्ताव नराखेको जानकारी गराउनुभएका प्रचण्डले आफूलाई फाइदा हुने स्थानमा मात्रै ओलीले तालमेलको प्रस्ताव राखेको जिकिर गर्नुभएको छ । विशेषतः झापा क्षेत्र नम्बर ५ र महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ २ मा सघाउन ओलीले आफूहरूलाई आग्रह गरेको प्रचण्डको दाबी छ । संयोजक प्रचण्डले पार्टीका सह-संयोजक माधवकुमार नेपाल र नेता भीम रावललगायत दोस्रो तहका नेता लगायतसँग एमालेको प्रस्तावबारे छलफल भएको थियो । केही दिनअघि बसेको निर्वाचन परिचालन कमिटीको बैठकपछि माधव–प्रचण्ड बसेर एमालेले निश्चित ठाउँमा राखेको तालमेल प्रस्तावबारे छलफल भएको थियो । छलफलका क्रममा सह-संयोजक नेपालले विगतमा ओलीका गल्ती र धोकालाई सम्झाउँदै यही अवस्थामा तालमेल गरेर जान नसक्ने बताउनुभएको थियो । एमालेसँग तालमेल गरेमा ओली शक्तिशाली बन्ने र नेकपालाई घाटा लाग्ने नेपालको तर्क थियो ।
गत आइतबार ओलीसँगको भेटवार्तापछि संयोजक प्रचण्डले माधव नेपाल, भीम रावल, झलनाथ खनाललगायत नेतासँग सुझाव लिनुभएको थियो । रावल र खनालले पनि एमालेसँग सहकार्य र तालमेल गरेर जाने अवस्था तत्काल नभएको तर्क गर्नुभएको थियो । चुनावी तालमेलको विषयमा नेकपा संयोजक प्रचण्डले युवा नेताहरूसँग समेत संवाद गरेको बताइएको छ । नेकपाका युवा नेताहरूले पनि ओलीसँग तालमेल गरेर अगाडि बढे पार्टीबाट धेरैले विद्रोह गर्ने चेतावनी दिएका थिए ।
अहिले पनि अध्यक्ष ओलीले चुनावी तालमेलको लागि नेकपासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगको संवादलाई जारी राख्नुभएको स्रोतको दाबी छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि एमालेलगायत अन्य दलहरूसँग चुनावी तालमेल नगर्ने पक्षमा रहनुभएको छ । अध्यक्ष लिङ्देनले झापा-५ मा पनि कुनै हालतमा तालमेल गरेर राप्रपा अगाडि बढ्ने पक्षमा नभएको एक सार्वजनिक कार्यक्रममै दाबी गर्नुभएको थियो ।
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा खासखास क्षेत्रमा चुनावी तालमेलका लागि गरेको प्रस्ताव अन्य पार्टीले अस्वीकार गरेपछि एमाले अप्ठेरोमा परेको छ । कांग्रेस र नेकपाले तालमेलको प्रस्ताव अस्वीकार गरेपछि खासखास क्षेत्रमा चुनावी तालमेल गर्ने एमाले अध्यक्ष केपी ओलीको चाहाना पूरा नहुने भएपछि एमालेलाई अप्ठेरो पर्ने देखिएको हो । बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले देश जलाउनेका विरुद्ध जाने राजनीतिक दलहरूसँग चुनावी सहकार्य गर्ने पार्टीको नीति रहेको खुलासा गर्नुभएको थियो । एमालले जनार्दन शर्मा र बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टी प्रगतिशील लोतान्त्रिक पार्टी (प्रलोपा)सँग भने सहकार्यका लागि सहमति गरिसकेको छ । अघिल्लो निर्वाचनमा ओलीले झापामा राप्रपासँग चुनावी तालमेल गर्नुभएको थियो ।
राष्ट्रियसभामा कांग्रेससँग मिलेर आउट गरेपछि कुरा मिलेन : प्रचण्ड
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाको चुनावअघि नै प्रतिनिधिसभामा पनि गठबन्धन गर्नेगरी एमालेबाट प्रस्ताव आएको बताउनुभएको छ । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा संयोजक प्रचण्डले राष्ट्रियसभा चुनावमा कांग्रेससँग मिलेर आफूहरूलाई आउट गरेपछि कुरा नमिलेको जानकारी दिँदै भन्नुभयो, ‘कांग्रेसका महाधिवेशन हुनुभन्दा अगाडि, राष्ट्रिय सभाका सदस्यको निर्वाचन हुनु अगाडि कुरा हो । यो प्रस्ताव हाम्रो थिएन फेरि, कांग्रेस र एमालेबाट केही शीर्ष नेताहरूको हकमा हामीले उनीहरूलाई चुनाव जिताउने ढंगले केही सिट एडजस्ट गर्नुपर्छ भन्ने उहाँहरूको थियो । त्यसमा सैद्धान्तिक रूपले अस्वीकार पनि हामीले गरेका थिएनौँ, स्वीकार गरेका पनि थिएनौँ ।’ राष्ट्रियसभामै प्रयास विफल भएपछि प्रतिनिधिसभाको हकमा अघि बढ्न नसकेको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘हामीले त्यसको सुरुआत राष्ट्रियसभाका सदस्यको निर्वाचनबाट हुन्छ भनेका थियौँ । तर, राष्ट्रियसभाको चुनावमा फेरि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएर यो देशलाई बर्बाद पार्ने बाटोमै उहाँहरू हिँडेर, नेपाली कम्युनिष्टलाई आउट गर्ने बाटो पक्रिनुभयो ।’
निर्वाचन क्षेत्र केन्द्रित चुनावी अभियानमा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापामा चुनावी अभियान थाल्नुभएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि झापा-५ बाट उम्मेदवारी दिनुभएका ओलीले शनिबारदेखि घरदैलो अभियान थाल्नुभएको हो । शुक्रबार काठमाडौंबाट गृहजिल्ला झापा पुग्नुभएका ओलीले शनिबार मतदातासँगको भेटघाटलाई तीव्र पार्नुभएको हो । उहाँले घरघरमा पुगेर मतदाता भेटिरहनु भएको छ । झापा-५ मा ओलीसँग यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह, नेकपाका युवा नेता रञ्जित तामाङलगायत प्रतिस्पर्धामा रहनुभएको छ । २०४६ पछिका निर्वाचनमा झापा-५ बाट २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावबाहेक हरेक निर्वाचनमा लगातार निर्वाचित हुँदै आउनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज (आइतबार) बिहान ८ः३० बजे जुममार्फत बैठक बस्नेगरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ । बैठकका लागि तीन वटा एजेण्डा तय गरिएको छ । जसअनुसार नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका-०८२ र केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषयमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल जानकारी दिनुभएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच