नवलपरासी । बर्दघाट-४, हरियालीनगरमा जारी प्रथम बर्दघाट एक्सपो २०८२ अन्तर्गत किसान लक्षित माटो परीक्षण शिविर तथा बाली उपचार शिविर सञ्चालन गरिएको छ । उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा तथा माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा, बाँके र कृषि ज्ञान केन्द्र, नवलपरासी (बसुप) को प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।
‘स्थानीय उद्योग र व्यापार, दिगो विकासको आधार’ भन्ने मूल नारासहित सञ्चालित एक्स्पोमा बर्दघाट नगरपालिकाभित्रका किसानलाई लक्षित गर्दै बाली रोग पहिचान, उपचार तथा माटो परीक्षणसम्बन्धी सेवा प्रदान गरिएको छ । किसान देविदत्त सापकोटाले किसान लक्षित यस्ता कार्यक्रम सह्रानीय भए पनि स्थानीय सरकारले निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “कृषि प्रधान देशमा किसानका पीडा सुन्ने, देख्ने र समाधान गर्ने दायित्व स्थानीय सरकारको हो तर सरकार वितरणमुखी कार्यक्रममा मात्र सीमित भएको देखिन्छ।” सापकोटाका अनुसार बालीसम्बन्धी समस्या बुझ्न प्राविधिकसहितको टोली नियमित रूपमा खेतबारीसम्म पुग्न आवश्यक छ।
कृषि ज्ञान केन्द्र, नवलपरासी (बसुप) का वरिष्ठ बाली संरक्षण अधिकृत उमा शंकर पौडेल ले मानिसमा जस्तै पशु र बालीमा पनि रोग लाग्ने बताउँदै रोगको समयमै पहिचान नगर्दा उत्पादनमा गम्भीर असर पर्ने जानकारी दिनुभयो । उहाँकाअनुसार बालीमा रोग लागेपछि उत्पादन नहुँदा किसानको लागत बढ्ने र उत्पादकत्व घट्ने समस्या देखिन्छ। यस्ता शिविरले किसानलाई बाली रोग, रासायनिक मल तथा विषादीको प्रयोग र त्यसले मानव स्वास्थ्यमा पार्ने असरबारे सचेत गराउने उहाँको भनाइ छ । पौडेलले अत्यधिक विषादी प्रयोग र न्यूनतम सुरक्षात्मक मापदण्ड नअपनाउँदा किसान स्वयं र परिवार क्यान्सरजस्ता घातक रोगको जोखिममा परिरहेको उल्लेख गर्नुभयो ।
माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा बाँकेका माटो विज्ञ खिमबहादुर के.सी. ले माटोमा रहेका १६ वटा आवश्यक तत्वको अवस्था थाहा पाउन नियमित माटो परीक्षण आवश्यक रहेको बताउनुभयो। उहाँकाअनुसार खाद्यतत्वको कमी-बढी, रासायनिक मलको अन्दाजी प्रयोग तथा माटोको भौतिक-रासायनिक अवस्था बिग्रँदा उत्पादनमा नकारात्मक असर पर्छ । उत्पादन वृद्धि गर्ने नाममा अत्यधिक रासायनिक पदार्थ प्रयोग गर्दा माटो अम्लीय बन्दै गइरहेकाले माटोलाई स्वस्थ राख्न परीक्षण अनिवार्य भएको के.सी.को भनाइ छ । उहाँले एक्स्पोमा गरिएको परीक्षणबाट यस क्षेत्रको अधिकांश माटो स्वस्थ रहेको र थोरै मात्र अस्वस्थ माटो भेटिएको जानकारी दिनुभयो ।
प्रदेशस्तरीय प्रयोगशाला बर्दघाट क्षेत्रमा पहिलोपटक एक्स्पोमार्फत ल्याउन सफल भएको दाबी गर्दै एक्स्पोका कृषि उपसमिति संयोजक खुमाकान्त न्यौपानेले बिरामी माटोबाट उत्पादनमा ह्रास आउने हुँदा किसान दुःखी हुने अवस्था सिर्जना भएको बताउनुभयो । लामो समयदेखि किसानसँगको अनुभव र उनीहरूको समस्या बुझेर नै उत्पादन वृद्धि र गुनासा सम्बोधनका लागि यो शिविर आयोजना गरिएको उहाँको भनाइ छ ।
उद्योग व्यापार संघ बर्दघाटले एक्स्पोमा कृषि, स्वास्थ्य, उद्योग, व्यापार तथा प्रविधिसँग सम्बन्धित विविध कार्यक्रमहरू समावेश गरिएका छन् । एक्स्पोको संरक्षक बर्दघाट नगरपालिका, नवलपरासी रहेको छ । आयोजककाअनुसार यस्ता शिविरले किसानको उत्पादन क्षमता अभिवृद्धि गर्नुका साथै कृषि र स्वास्थ्यप्रति सचेतना बढाउने अपेक्षा गरिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच