काठमाडौं । आइसिसी टी-२० विश्वकपको पहिलो दिन तीन खेल भए । तीनै खेलमा एसोसिएट राष्ट्रले टेष्ट राष्ट्रलाई चुनौती दिए । यद्यपि, नतिजा भने एसोसिएटको पक्षमा आएन । सहआयोजक भारतसहित वेष्ट इण्डिज र पाकिस्तानले पहिलो विश्वकपमा विजयी सुरुवात गरे । तीनै टेष्ट राष्ट्रलाई चुनौती दिएका एसोसिएट राष्ट्रहरू नेदरल्याण्ड्स, स्कटल्याण्ड र अमेरिका पराजित भए ।
श्रीलंकाको कोलोम्बोमा भएको पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ३ विकेटले हराउँदा भारतमा भएका दुई खेलमा वेष्ट इण्डिज र भारतले जित हात पारे । वेष्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले तथा भारतले अमेरिकालाई २९ रनले पराजित गर्यो । भारतीय कप्तान सूर्यकुमार यादवले मुम्बईको वानखेडे स्टेडियममा सुझबुझपूर्ण ब्याटिङ गर्दा नाटकीय रूपमा पतन भएको ब्याटिङलाई टेवा पुर्याउनुभयो ।
त्यही इनिङ्स नै भारतको जितमा महत्वपूर्ण क्षण बन्यो । उहाँले ४९ बलमा अविजित ८४ रनको महत्वपूर्ण पारी खेल्दै भारतको स्कोर १६१-९ पुर्याउनुभयो । १६२ रनको लक्ष्य पछ्याउँदा अमेरिकाले पनि टप अर्डरको विकेट चाँडै गुमाउँदा सम्हालिन पाएन र २९ रनले पराजित भयो । अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो ।
अर्को पूर्वविजेता टिम वेष्ट इण्डिजले पनि ब्याटिङमा सामान्य सुरुवात गरेको थियो । तर, शिम्रोन हेटमायरले २२ बलमै अर्धशतक बनाउँदै आक्रामक ब्याटिङ गर्दा वेष्ट इण्डिजले १८२–५ रन बनायो । जवाफमा स्कटल्याण्डले राम्रो सुरुवात गरेको भए पनि जित भने निकाल्न सकेन । १३ ओभर सकिँदा ११४–३ को अवस्थामा रहेको स्कटल्याण्डलाई ४२ बलमा ६९ रन आवश्यक थियो । त्यहाँबाट नियमित अन्तरालमा विकेट गुमाउँदा स्कटल्याण्ड ७ बल खेल्नुअगावै १४७ रनमा अलआउट भयो ।
श्रीलंकामा भएको पहिलो खेलमा नेदरल्याण्ड्सले आफ्नै कारणले पाकिस्तानलाई हराउने अवसर गुमायो । पाकिस्तानलाई अन्तिम दुई ओभरमा जितका लागि २९ रन आवश्यक थियो र नेदरल्याण्ड्सले जित्ने सम्भावना बढी थियो । तर, १९औँ ओभरमा पाकिस्तानले २४ रन जोड्दै खेल परिवर्तन गर्यो । नेदरल्याण्ड्सले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले ३ बलअगावै ७ विकेट गुमाएर पूरा गरेको थियो । १९औँ ओभरको दोस्रो बलमा नेदरल्याण्ड्सका म्याक्स ओ डाउडले पाकिस्तानका फहिम असरफको क्याच ड्रप गर्नुभएको थियो । जुन डचलाई महँगो पर्यो ।
त्यही ओभरमा फहिमले ३ छक्का र २ चौकासहित २४ रन जोड्नुभयो र पाकिस्तानलाई जित नजिक पुर्याउनुभयो । आठौँ नम्बरमा ब्याटिङ गर्नुभएका फहिमले ११ बलमा अविजित २९ रन जोड्दै पाकिस्तानका लागि नायक बन्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच