काठमाडौं । प्याब्सन काठमाडौंको आयोजनामा हुने यू-१५ प्याब्सन क्रिकेट लिग (पिसिएल) को ट्रफी आइतबार सार्वजनिक गरिएको छ । धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजित कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले ट्रफी सार्वजनिक गर्दै प्रतियोगिताका सहभागी टोलीको नाम, लोगो, प्रायोजक, जर्सी र ‘एन्थम’ पनि सार्वजनिक गर्नुभयो ।
माघ २८ गतेदेखि तल्लो मूलपानी क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा आयोजक प्याब्सन काठमाडौंसहित सात प्याब्सन प्रदेश टोली गरी कुल आठ छात्र टोली सहभागी रहनेछन् । टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ । सहभागी टोलीमा प्याब्सन काठमाडौं क्यापिटल्स, प्याब्सन सुदूरपश्चिम राइजिङ, प्याब्सन बागमती च्यालेन्जर्स, प्याब्सन गण्डकी इगल्स, प्याब्सन कर्णाली हाइल्याण्डर्स, प्याब्सन कोशी स्ट्राइकर्स, प्याब्सन लुम्बिनी मोङ्स र प्याब्सन मधेस रोयल्स रहेका छन् ।
प्रतियोगिताका टोली प्रायोजकमा मधेसको ट्रिटन मावि/कलेज, बागमतीको साउथ वेस्टर्न स्टेट कलेज, कोशीको फेका, कर्णालीको विनायक सिद्ध कलेज, गण्डकीको प्याब्सन काठमाडौं मेट्रो, सुदूरपश्चिमको तलेजु प्रकाशन, लुम्बिनीको प्याब्सन चन्द्रागिरि नगर कमिटी र काठमाडौं क्यापिटल्सको अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) रहेको प्रतियोगिता निर्देशक खिमबहादुर थापाले जानकारी दिनुभयो ।
केन्द्रीय अध्यक्ष अधिकारीले प्रतियोगिताले नयाँ प्रतिभावान् खेलाडीको पहिचानमा सहयोग पुग्ने र क्रिकेटको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगिताका लागि केन्द्रीय प्याब्सनबाट पाँच लाख र भ्याली पब्लिक स्कुलबाट एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
आयोजक प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले शिक्षासँगै प्याब्सनले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गर्ने योजना रहेको बताउनुभयो ।
प्रतियोगिता संयोजकसमेत रहनुभएका उपाध्यक्ष धनबहादुर पुनले सबै टोलीको छनोट सकिएको र प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्याब्सन बागमतीका अध्यक्ष मुरारीप्रकाश सञ्जेलले पाँच लाख, केन्द्रीय प्याब्सनका सह-अध्यक्ष गोपालप्रसाद आचार्य, सर्वनाम शिक्षालय र पारामाउण्ट एकेडेमीका मुकुन्द पाण्डेले समान ५०–५० हजार सहयोग उपलब्ध गराउने घोषणा गर्नुभयो ।
प्रतियोगिता एन्जल्स स्पोर्ट्स एकेडेमी, मनमैजुको व्यवस्थापनमा हुनेछ । विजेताले एक लाख ५० हजार, उपविजेताले ७५ हजार नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी १० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलर समान पाँच-पाँच हजार र ‘प्लेयर अफ द म्याच’ ले दुई हजार नगद पुरस्कार पाउनेछन् । टी-२० फर्मेटमा हुने प्रतियोगिताको फाइनल फागुन ६ गते हुनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच