काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डसँग चार रनले पराजित हुँदै इतिहास रच्ने मौकाबाट चुकेकाे छ ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा शनिबार सम्पन्न खेलमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। झिनो अन्तरको यो हारसँगै नेपाली क्रिकेटले ऐतिहासिक जित हासिल गर्ने अवसर गुमायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। उनले २९ बलमा छ चौका र एक छक्का प्रहार गरे। कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९–३९ रनको योगदान दिए भने कुशल भुर्तेलले २९ रन जोडे। आरिफ शेखले १० रन बनाए। आसिफ शेख सात रनमा र गुल्सन झा एक रनमा आउट भए।
इङ्ल्यान्डका लागि बलिङमा लियाम डसनले दुई विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा सात विकेट गुमाउँदै १८४ रन बनाएको थियो। इङ्ल्यान्डका लागि ज्याकब बेथेल र कप्तान ह्यारी ब्रूकले अर्धशतक बनाए। बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित ५५ रन बनाए भने ब्रूकले ३२ बलमा चार चौका र तीन छक्कासहित ५३ रन जोडे। विल ज्याक्सले अविजित ३९ रन बनाए भने जस बटलरले २६ रन जोडे।
नेपालका लागि बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान दुई–दुई विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट झारे।
शनिबारदेखि सुरु भएको विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ। यस समूहमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन्। नेपालले आफ्नो दोस्रो खेल माघ २९ गते इटालीसँग खेल्नेछ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच