काठमाडौं । मुलुक प्रतिनिधिसभा निर्वाचनको संघारमा उभिएको बेला राजसंस्था पुनःस्थापनाको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो राजनीतिक स्वरलाई अझ तीव्र बनाएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पूर्वअध्यक्ष कमल थापाका पछिल्ला अभिव्यक्तिहरूले राजावादी धार पुनः संगठित र सक्रिय बन्दै गएको संकेत दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको सार्वजनिक सक्रियता र धार्मिक-सांस्कृतिक कार्यक्रममा देखिने उपस्थितिसँगै राजसंस्था समर्थक समूहहरू उत्साहित देखिन थालेका छन् । पछिल्ला महिनाहरूमा पूर्वराजा ज्ञानेन्द्र शाहको विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा देखिएको सक्रियताले राजावादी समूहहरूमा ऊर्जा थपेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।
धार्मिक अनुष्ठान, मन्दिर दर्शन र सार्वजनिक भेटघाटमा पूर्वराजाको उपस्थितिलाई सामाजिक सञ्जालमार्फत व्यापक प्रचार गरिएको छ । यसले राजसंस्था समर्थक धारलाई मनोवैज्ञानिक बल दिएको देखिन्छ । राजसंस्थाको बहस चुनावी एजेण्डाका रूपमा उठ्नु स्वाभाविक भए पनि त्यसको कार्यान्वयन भने सहज देखिँदैन ।
आइतबार काठमाडौंमा आयोजित पार्टीका उम्मेदवारहरूसँगको साक्षात्कार कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राष्ट्रिय संकटको समाधान केवल चुनावबाट सम्भव नभए पनि देशलाई थप संकटमा जानबाट जोगाउन आफूहरू चुनावी मैदानमा होमिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुरानै व्यवस्थाभित्र हुने चुनावले सबै समस्या समाधान गर्दैन । तर, देशलाई बचाउन, थप विघटन र अस्थिरताबाट जोगाउन हामी चुनावमा सहभागी भएका हौँ ।’ लिङ्देनले मुलुकको निर्णायक शक्ति नेपाली जनताकै हातमा रहनुपर्ने भन्दै राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नवीनतम राष्ट्रिय समझदारी अपरिहार्य भएको धारणा राख्नुभयो । उहाँका अनुसार हालको राजनीतिक संरचनाले राष्ट्रिय एकता र दीर्घकालीन स्थायित्व दिन नसकेको दाबी गर्दै उहाँले देश ‘पूर्वाधार विकासभन्दा पनि अस्तित्वकै संकटको अवस्थामा’ पुगेको टिप्पणी गर्नुभयो । ‘आज प्रश्न सडक, पुल वा भवनको मात्र होइन; देशै रहने कि नरहने भन्ने अवस्थामा पुगेको छ,’ उहाँले भन्नुभयो ।
राप्रपा एक प्रजातान्त्रिक पार्टी भएको उल्लेख गर्दै उहाँले विद्रोहको बाटोभन्दा निर्वाचनको माध्यमबाट परिवर्तन खोजेको स्पष्ट पार्नुभयो । ‘हामी लोकतान्त्रिक प्रक्रियाबाटै जनमत लिएर परिवर्तन गर्न चाहन्छौँ’, उहाँले जोड दिनुभयो ।
जनताले राजा र हिन्दूराष्ट्र खोजिरहेका छन् : थापा
राप्रपाका पूर्वअध्यक्ष तथा काठमाडौं-५ का उम्मेदवार कमल थापाले घरदैलो अभियानका क्रममा मतदाताबाट राजसंस्था र हिन्दूराष्ट्रको माग व्यापक रूपमा आएको दाबी गर्नुभएको छ । ‘जहाँ-जहाँ भोट माग्न गएका छौँ, अधिकांशले हिन्दूराष्ट्र चाहन्छौँ भन्छन् । धेरैले अब राजा नभई हुँदैन भन्छन्’, उहाँले भन्नुभयो । उहाँले यो चाहना केवल बुढापाकामा सीमित नभई युवापुस्तामा अझ बढी देखिएको दाबी गर्नुभयो । ‘राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा सबैभन्दा उत्साह युवामा देखिएको छ’, थापाको भनाइ थियो । उहाँले मतदातालाई भ्रष्टाचारमा मुछिएका दल र नेताहरूलाई भोट नहाल्न आग्रह गर्दै कम्तीमा यसपटक भ्रष्टाचारको महारोग भित्र्याउने शक्तिहरूलाई अस्वीकार गर्नुपर्ने सन्देश दिएको बताउनुभयो ।
राजसंस्थाको छहारी अति आवश्यक : मिश्र
राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं-१ का उम्मेदवार रवीन्द्र मिश्रले नेपालमा राजसंस्था अत्यावश्यक भइसकेको दाबी गर्नुभयो । उहाँका अनुसार सबै जाति, भाषा, धर्म, संस्कृति र राजनीतिक शक्तिहरूभन्दा माथि एउटा साझा संस्थाका रूपमा राजसंस्थाले देशलाई एकताबद्ध राख्नसक्छ । ‘देशमा विभिन्न जातजाति, भाषाभाषी, धर्म-संस्कृति, राजनीतिक पार्टी र गुटहरूभन्दा माथि एउटा राजसंस्थाको छहारी अति आवश्यक भयो’, उहाँले भन्नुभयो ।
मिश्रले राप्रपाले अघि सारेको नवीन समझदारीलाई राष्ट्रिय निकासको मार्गका रूपमा प्रस्तुत गर्दै मतदातालाई राप्रपाको चुनाव चिह्न ‘हलो’ मा मतदान गर्न आह्वान गर्नुभयो । ‘यदि फेरि पुरानै शैलीमा मतदान गरियो भने समस्या समाधान हुँदैन, चुनाव-चुनावमै उत्साह र निराशाको चक्र दोहोरिरहन्छ’, उहाँले चेतावनी दिनुभयो । उहाँले राजसंस्थाको आलोचना गर्ने नेताहरूमा समेत पछिल्लो समय मौनता देखिन थालेको दाबी गर्दै राजनीतिक वृत्तमै पुनर्विचारको वातावरण बन्दै गएको संकेत गर्नुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच