काठमाडौं । क्लिकमाण्डुले ‘जेन-जी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । खासगरी, २०८२ भदौ २३ र २४ को जेन-जी विद्रोहका क्रममा मुलुकको सरकारी तथा निजी क्षेत्रको महत्वपूर्ण संरचना र सम्पत्तिमा आगजनी तथा तोडफोड भएका थिए । प्रदर्शनकारीको निशानामा पर्दा मुलुकको अर्थतन्त्रको महत्वपूर्ण धरोहरका रूपमा रहेको निजी क्षेत्रले भौतिकसँगै मनोवैज्ञानिक क्षति पनि बेहोर्नुपर्यो ।
सोही विषयमा केन्द्रित रहेर गरिएको अध्ययनमा नेपालको उद्योग, वित्तीय क्षेत्र, पर्यटन तथा सेवा, ऊर्जा, शिक्षा, स्वास्थ्य, निर्माणलगायत क्षेत्रमा लगानी गर्ने एक २१ जना अर्बपतिलाई उत्तरदाताका रूपमा सहभागी गराइएको थियो । उत्तरदाताका रूपमा सहभागी एक सय २१ जनालाई प्रश्नावली फारम डिजिटल माध्यमबाट भराइएको थियो । जसमध्ये कुल लगानी पाँच अर्ब रुपैयाँभन्दा धेरै हुने लगानीकर्ता ५० प्रतिशतभन्दा बढी रहेका थिए । सहभागीमध्ये ४६ प्रतिशतको उद्योगमा र ३७ प्रतिशतको वित्तीय क्षेत्रमा लगानी छ । अध्ययनमा सहभागीमध्ये ९८ प्रतिशत व्यवसायीले जेन-जी विद्रोहका कारण आफ्नो मनोबल कमजोर बनेको र ९७ प्रतिशतले आफूले लगानीको वातावरण कमजोर बनेको महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
जेन-जी विद्रोहले पुर्याएको भौतिक तथा आर्थिक क्षति विश्लेषण गर्दा सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशत व्यवसायीले प्रत्यक्ष क्षति बेहोरेको पाइएको छ । सहभागीहरूको कुल भौतिक क्षति करिब २५ अर्ब र प्रतिव्यवसायी औसत क्षति ४४ करोड रुपैयाँ देखिएको छ । सर्वेक्षणमा सहभागी २१ प्रतिशत व्यवसायीको व्यावसायिक गतिविधिमा मात्र नभई व्यक्तिगत घर र गाडीमा समेत आक्रमण भएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनका क्रममा सर्वेक्षणमा सहभागीमध्ये कुल ६७ प्रतिशत व्यवसायीमा मनोवैज्ञानिक क्षति पुगेको पाइएको छ भने ५४ प्रतिशतबाट बजार प्रभावित भएको जवाफ प्राप्त भएको छ ।
जेन-जी प्रदर्शनले लगानीकर्ताको मनोबलमा पारेको प्रभाव विश्लेषण गर्दा ९८ प्रतिशत व्यवसायीले आफ्नो मनोबलमा सामान्य, ठूलो वा अत्यधिक असर परेको जवाफ दिएका छन् भने दुई प्रतिशत व्यवसायीले मात्र मनोबलमा फरक नपरेको जवाफ दिएका छन् । तथापि लगानी थप गर्न वा व्यवसाय विस्तार गर्न लगानीकर्तामा धेरै अनिच्छा भने देखिएको छैन । आठ प्रतिशतले कुनै पनि हालतमा लगानी नबढाउने बताएका, पर्ख र हेरको अवस्थामा ७० प्रतिशत र थप लगानी गर्न २१ प्रतिशत व्यवसायी इच्छुक देखिएका छन् ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा उद्योगमन्त्री अनिलकुमार सिन्हा, गृहमन्त्री ओमप्रकाश अर्याल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठको उपस्थिति थियो भने नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । त्यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । यस्तै, नियामकीय निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल बीमा प्राधिकरणलगायतका प्रतिनिधिको पनि उपस्थिति थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर