आधुनिक जीवनशैलीले सुविधा, गति र सौन्दर्य त दिएको छ । तर, यही आधुनिकताको आवरणभित्र लुकेको अदृश्य विषले नेपाली समाजको जनस्वास्थ्यलाई गम्भीर जोखिमतर्फ धकेलिरहेको छ । खानपानमा आएको परिवर्तनले स्वास्थ्य जोखिम बढाइरहेकै बेला, सौन्दर्यका नाममा दैनिक प्रयोग हुने सौन्दर्य प्रशाधन र उपभोग्य सामग्रीले झन् चिन्ताजनक अवस्था सिर्जना गरेको छ । विशेषतः महिलाहरूले सुन्दर देखिन प्रयोग गर्ने सिन्दूर, गाजल, टुथपेष्टजस्ता सामग्रीमै सिसा (लिड) जस्तो घातक रसायन भेटिनु आधुनिक समाजको ठूलो विडम्बना हो । बजारमा थरिथरिका सौन्दर्य सामाग्री पाइन्छन् तर त्यस्ता सामाग्रीहरूको नियमन, अनुगमन भने प्रायः शून्य रहेको छ ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको पछिल्लो अध्ययनले यो जोखिम अनुमान होइन, प्रमाणित तथ्य भएको स्पष्ट पारेको छ । काठमाडौं, पोखरा, विराटनगर र जनकपुरका खुद्रा पसलबाट संकलित नमुनामध्ये ३१ प्रतिशतमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिनु आफैंमा भयावह हो । अझ गम्भीर त दैनिक प्रयोग हुने टुथपेष्टका ४५ प्रतिशत नमुनामा र बालबालिकाका लागि उपलब्ध केही सामग्रीमा समेत सिसा पाइनु हो । ‘हर्बल’ र ‘प्राकृतिक’ भनेर प्रचार गरिएका उत्पादनसमेत सिसामुक्त नरहनु उपभोक्तामाथि भएको खुला ठगी हो ।
देशका बजारमा खुलेआम बिक्री भइरहेका दैनिक उपभोग्य वस्तु स्वयं नागरिकको स्वास्थ्यका लागि गम्भीर खतरा बनेका छन् । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सिन्दूर, टुथपेष्ट र गाजलजस्ता सामान्य प्रयोगका सामग्रीमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा (लिड) भेटिएका हुन् । अध्ययनका क्रममा संकलित कुल नमुनामध्ये ३१ प्रतिशतमा स्वीकृत सीमाभन्दा बढी सिसा भेटिनुले बजार नियमन र सरकारी निगरानी कति कमजोर छ भन्ने स्पष्ट देखाउँछ ।
प्रतिवेदन अनुसार विशेषगरी टुथपेष्टका ४५ प्रतिशत नमुना र बालबालिकाका लागि प्रयोग हुने केही सामग्रीमा सिसाको मात्रा जोखिमपूर्ण अवस्थामा पुगेको छ । ‘लिड एक्सपोजर एलिमिनेसन प्रोजेक्ट अमेरिका’को सहयोगमा काठमाडौं, पोखरा, विराटनगर र जनकपुरका खुद्रा पसलबाट संकलन गरिएका एक सय नमुनाको परीक्षण गर्दा युरोपियन युनियन, अमेरिका र क्यानडाले तोकेको मापदण्डमात्र होइन, नेपालमै स्वेच्छिक रूपमा तोकिएको १० पिपिएमको सीमासमेत आधाभन्दा बढी नमुनाले उल्लंघन गरेको तथ्य सार्वजनिक भएको छ ।
सबैभन्दा गम्भीर अवस्था विवाहित महिलाले नियमित प्रयोग गर्ने सिन्दूरमा देखिएको छ ।
सिन्दूरका ४० प्रतिशत नमुनामा सिसा भेटिनु र केही नमुनामा १२४ पिपिएमसम्म सिसा पाइनुले यसको जोखिम भयावह भएको संकेत गर्छ । गाजलमा सिसाको मात्रा तुलनात्मक रूपमा कम देखिए पनि आँखामा प्रत्यक्ष प्रयोग हुनेभएकाले त्यसले निम्त्याउन सक्ने स्वास्थ्य समस्या झनै संवेदनशील छ । अझ चिन्ताजनक कुरा, ‘हर्बल’ वा ‘प्राकृतिक’ भनेर प्रचार गरिएका उत्पादनसमेत सिसामुक्त नहुनु हो ।
भौगोलिक रूपमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी नमुनामा सिसा भेटिनुले शहरी बजार पनि सुरक्षित छैन भन्ने यथार्थ उजागर भएको छ । विश्व स्वास्थ्य संगठनले मानव शरीरका लागि सिसाको कुनै पनि मात्रा सुरक्षित नहुने स्पष्ट गरिसकेको छ । सिसाको असर विशेषगरी बालबालिकामा गम्भीर हुन्छ । बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यावहारिक समस्या, दृष्टि, श्रवण र स्नायु प्रणालीमा दीर्घकालीन क्षति–यी सबै वैज्ञानिक रूपमा प्रमाणित तथ्य हुन् । विवाहित महिलाले नियमित प्रयोग गर्ने सिन्दूरमा १२४ पिपिएमसम्म सिसा भेटिनु केवल स्वास्थ्य समस्यामात्र होइन, सामाजिक र सांस्कृतिक अभ्याससँग जोडिएको गम्भीर संकट पनि हो ।
समस्या सिसामा मात्र सीमित छैन । सुनचाँदीका गरगहनामा क्याडमियमको मिसावट, खाद्यान्न र अन्य उपभोग्य सामग्रीमा विभिन्न हानिकारक ‘केमिकल्स’को प्रयोगले नेपाललाई गुणस्तरहीन वस्तुहरूको डम्पिङ साइट बनाइरहेको छ । नियमनकारी निकाय औषधि व्यवस्था विभागदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्मले जोखिम औंल्याए पनि प्रभावकारी अनुगमन र कडा कारबाहीको अभावले अवस्था झन् बिग्रँदै गएको छ ।
यसको मूल कारण स्पष्ट छ, कमजोर नियमन, नाममात्रको अनुगमन र राजनीतिक तथा प्रशासनिक इच्छाशक्तिको अभाव । ठूला व्यापारीलाई अनुगमन गर्न डराउने, अनुगमन भए पनि कारबाही गर्न हिच्किचाउने प्रवृत्तिले बजारमा ‘जसरी पनि कमाउने’ सोचलाई मलजल गरेको छ । भन्सार नाकामै कडाइ नगर्दासम्म गुणस्तरहीन र विषालु सामग्रीको आयात रोकिने सम्भावना न्यून छ ।
अब पनि गम्भीर नहुने हो भने यसको मूल्य आगामी पुस्ताले चुकाउनुपर्नेछ । सरकारको दायित्व केवल अध्ययन प्रतिवेदन सार्वजनिक गरेर सकिँदैन । स्पष्ट मापदण्ड, अनिवार्य परीक्षण, नियमित अनुगमन र कडा दण्ड–जरिवाना लागू गर्नैपर्छ । उपभोक्ता सचेतना पनि उत्तिकै आवश्यक छ । सस्तो र आकर्षक प्रचारको लोभमा आफ्नै स्वास्थ्यसँग सम्झौता नगर्ने संस्कार विकास गर्नुपर्छ ।
आधुनिकता सुन्दर देखिनुमात्र होइन, सुरक्षित र स्वस्थ हुनु पनि हो । यदि सौन्दर्यकै नाममा विषालु सामग्री प्रयोग भइरहने हो भने त्यो आधुनिकता होइन, आत्मघाती प्रवृत्ति हो । अब राज्य, बजार र उपभोक्ता-तीनै पक्ष जिम्मेवार नबनेसम्म आधुनिकताको आवरणभित्र लुकेको यो विषले नेपाली समाजलाई बिस्तारै तर निश्चित रूपमा कमजोर बनाइरहनेछ । यस अध्ययनले देखाएको यथार्थले अब ढिलासुस्तीको कुनै गुन्जाइस छाडेको छैन । आधुनिकताको नाममा बजारमा खुलेआम बिक्री भइरहेका विषालु उपभोग्य वस्तुहरू केवल उपभोक्ताको व्यक्तिगत समस्या होइनन्, राज्यको नियमन क्षमता र जिम्मेवारीमाथिको गम्भीर प्रश्न हुन् ।
जनस्वास्थ्य जोगाउने दायित्वबाट सरकार पन्छिन सक्दैन । स्पष्ट मापदण्डको कडाइका साथ कार्यान्वयन, आयातदेखि खुद्रा बिक्रीसम्म अनिवार्य परीक्षण, नियमित अनुगमन र उल्लंघनकर्तामाथि कठोर कारबाही अपरिहार्य भइसकेको छ । साथै, उपभोक्ताले पनि आकर्षक प्रचार र सस्तो मूल्यको लोभमा स्वास्थ्यसँग सम्झौता नगर्ने सचेत संस्कार विकास गर्नुपर्छ । आधुनिकता सुरक्षित जीवनशैलीसँग जोडिनुपर्छ, विषालु सौन्दर्यसँग होइन । अब राज्य, बजार र नागरिक- तीनै पक्षले जिम्मेवारी नलिने हो भने आधुनिकताको आवरणभित्र लुकेको यो विषले नेपाली समाजलाई क्रमशः कमजोर बनाउँदै लैजानेछ, जसको मूल्य आज होइन, भोलिका पुस्ताले तिर्नुपर्नेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच