चितवन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकताबद्ध भएर निर्वाचनमा होमिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
कांग्रेस चितवनले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति शर्माले आफ्ना एजेन्डा र विचार प्रष्ट रूपमा जनतामाझ राख्न आग्रह गर्दै अरूलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न निर्देशन दिनुभयो।
“हामीले कसैलाई गाली नगरौँ, आफ्ना कुरा जनतालाई बुझाऔँ,” उहाँले भन्नुभयो, “निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ। हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावी मैदानमा उत्रिनुपर्छ।”
उहाँले पार्टीभित्र सम्पन्न विशेष महाधिवेशनले विगतका असमझदारीहरू हटाएको उल्लेख गर्दै अब गुटरहित मानसिकतासहित देश बदल्ने सङ्कल्प लिएर चुनावमा होमिएको सन्देश दिन आवश्यक रहेको बताउनुभयो।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले २१ दिने विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै उपसभापति शर्माले अभियान अवधिभर नेता–कार्यकर्ताहरू आफ्नै वडामा सक्रिय भएर खटिन स्पष्ट निर्देशन दिनुभयो।
“जिल्ला, प्रदेश र केन्द्रबाट खटाइएका नेताबाहेक अरू सबैले आफ्नै वडामा २१ दिन सक्रिय भएर काम गर्नुपर्छ,” उहाँले भन्नुभयो, “आफ्नो वडा छाडेर अर्काको वडामा जानु आवश्यक छैन। कांग्रेसले लिएको नीति र देश बदल्ने दृष्टिकोण घरघरमा पु¥याऔँ।”
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले पार्टीले यसपटक देशभर करिब ७५ प्रतिशत युवा तथा नयाँ उम्मेदवारलाई चुनावी मैदानमा उतारेको उल्लेख गर्दै सबैलाई जित सुनिश्चित गर्ने गरी खटिन आग्रह गर्नुभयो।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बुर्लाकोटी, क्षेत्र नम्बर २ की उम्मेदवार मीनाकुमारी खरेल र क्षेत्र नम्बर ३ का उम्मेदवार टेकप्रसाद गुरुङले कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
उहाँहरूले कांग्रेसले गरेका कामबारे जनतालाई जानकारी गराउँदै मतदाता जोड्ने अभियानलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच