काठमाडौं । ललितपुर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य तुलशीलाल अमात्यको गृहजिल्ला हो, जसले २०१५ सालको आम निर्वाचनमा ललितपुरबाट सांसद जित्नुभएको थियो । त्यो निर्वाचनमा नेकपाले जम्मा चार सिट जितेको थियो र काठमाडौं उपत्यकाका जित्ने अमात्य एक्लो वामपन्थी नेता हुनुहुन्थ्यो । त्यसकारण ललितपुर कम्युनिष्टहरूका लागि विशेष मानिन्छ । ललितपुरका निर्वाचन क्षेत्रमा लामो समय कम्युनिष्टहरूको प्रभाव रह्यो । २०४८ देखिको आम निर्वाचनमा नेकपा (एमाले)ले ललितपुर-२ मा आफ्नो प्रभाव कायम राख्दै आएको छ । एमालेलाई उछिनेर बीचमा एकपटक तत्कालीन नेकपा (माओवादी)ले जितेको थियो । २०४८ पछि ललितपुर-२ मा एकपटक मात्रै गैरकम्युनिष्ट (कांग्रेस)ले जितेको छ ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जित हात पारेको थियो भने दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले जितेको थियो । ०६४ सालमा ललितपुर-२ बाट राजकाजी महर्जनसहित जिल्लाका तीनै क्षेत्रमा माओवादीका उम्मेदवार विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ललितपुरका तीनवटै क्षेत्रमा कांग्रेसले क्लिनस्विप गरेको थियो । त्यसपछि कांग्रेसले उक्त क्षेत्रमा नतिजा दोहोर्याउन सकेको छैन । निर्वाचनमा भने ललितपुर–२ मा एमालेकै आफ्नो विरासत फर्काएको थियो । गत निर्वाचनमा एमालेका प्रेम महर्जन १५ हजार २५ मतका साथ विजयी हुनुभएको थियो ।
सात स्वतन्त्रसहित २३ उम्मेदवार मैदानमा
यसपालि ललितपुर-२ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन छ । एमाले आफ्नो विरासत दोहोर्याउने दाउमा लाग्दा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यसलाई उल्ट्याउने प्रयत्नमा छन् । कांग्रेसले प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा ललितपुर-२ (२) बाट उम्मेदवार हुनुभएको थियो तर, पराजित हुनुभयो । ललितपुर महानगरपालिकाका वडाभित्र नेपाली कांग्रेसको सुदृढ संगठन र महानगर प्रमुख चिरीबाबु महर्जनको सकारात्मक छाप भएकाले पनि आफ्नो जित हुने उहाँको दाबी छ ।
एमालेले प्रेमबहादुर महर्जनलाई उम्मेदवार बनाएको छ । लामो समय कम्युनिष्टको गढ रहेको ललितपुर-२ मा एमालेले आफ्नो विरासत जोगाउने उहाँको दाबी छ । रास्वपाले पूर्वसञ्चारमन्त्री जगदीश खरेललाई उम्मेदवार बनाएको छ । खरेल सञ्चारकर्ममा चर्चित अनुहार हो । ‘जेन–जी’ आन्दोलनपछि चुनावी सरकारको मन्त्री हुनुभएको थियो । चुनाव गराउने म्याण्डेटसहित मन्त्री हुनुभएका खरेल हठात् राजनीतिमा प्रवेश गरेपछि उहाँको आलोचना पनि भइरहेको छ । यद्यपि, देशभर रास्वपाको राम्रो माहोल रहेकाले आफूले चुनाव जित्ने उहाँको दाबी छ । उहाँलाई हाम्रो नेपाली पार्टी (हानेपा)का उम्मेदवार सुदीन शाक्यले पनि समर्थन गर्नुभएको छ । उहाँले यसअघि आठ हजार ८८६ मत ल्यानउनुभएको थियो ।
नेपाली कम्युनिष्ट पार्टीले ललितपुर-२ मा राजेन्द्र अमात्यलाई उम्मेदवार बनाएको छ । अमात्य पनि नयाँ अनुहार हो । यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले आठ हजार २६४ मत ल्याउनुभएको थियो । त्यतिबेला नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । यसपटक एक्लाएक्लै मैदानमा उत्रिए पनि माओवादीसहित मिलेर नेकपा बनेकाले नतिजा आफ्नो पक्षमा आउने उहाँको दाबी छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले रघुवरराज थापालाई उम्मेदवार बनाएको छ । थापा अघिल्लोपटक पनि त्यस क्षेत्रबाट उम्मेदवार बन्नुभएको थियो । अघिल्लो निर्वाचनमा थापाले ६ हजार ६४२ मत ल्याउनुभएको थियो । उज्यालो नेपाल पार्टीबाट राजाराम तण्डुकार उम्मेदवार हुनुहुन्छ । ललितपुर–२ मा २३ जना उम्मेदवार चुनावी मैदानमा छन्, यसमध्ये सातजना उम्मेदवार स्वतन्त्र हुन् ।
गत निर्वाचनको परिणामले के भन्छ ?
ललितपुर-२ मा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका नौवटा वडा समेटिएका छन् । ललितपुर-२ उपत्यकाको ठूलै मताधार भएको निर्वाचन क्षेत्र हो । जहाँ ८९ हजार ८२ मतदाता रहेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर-२ को समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको थियो । रास्वपाले ११ हजार ८९५ मत ल्याएको थियो । दोस्रो भएको एमालेले ११,८५, नेपाली कांग्रेसले नौ हजार २५२, राप्रपाले सात हजार ६९५ र हाम्रो नेपाली पार्टीले चार हजार ४३ मत पाएका थिए । माओवादी केन्द्रले एक हजार ८७८, नेपाल मजदुर किसान पार्टीले एक हजार ८३६ र एकीकृत समाजवादीले एक हजार ५७८ मत पाएको थियो ।
प्रदेशसभा निर्वाचनतर्फ एमाले पहिलो बनेको थियो । एमालेले १२ हजार ६०५ मत पाउँदा दोस्रो भएको राप्रपाको १० हजार ७०७, कांग्रेसको एक हजार १८४, हाम्रो नेपाली पार्टीले सात हजार ३२७, माओवादी केन्द्रले दुई हजार ५४३, एकीकृत समाजवादीले दुई हजार ५०२ मत प्राप्त गरेका थिए ।
गत स्थानीय चुनावमा महालक्ष्मी नगरपालिकामा प्रमुख (हरिगोविन्द श्रेष्ठ) एमालेले जितेको थियो भने उपप्रमुख (लक्ष्मी महर्जन) कांग्रेसले जितेको थियो । १० वटा वडामध्ये वडा नम्बर १, २, ३, ४, ८, १० एमालेले जितेको छ । ५, ७, १० नेपाली कांग्रेस र वडा नम्बर ६ माओवादी केन्द्रले जितेको थियो । ललितपुर महानगरपालिकाका वडा नम्बर ६, ७, ८, ९, ११, १६ नेपाली कांग्रेसले जितेको छ । वडा नम्बर १२, १७ र १९ एमालेले जितेको छ । प्रदेशसभातर्फ ललितपुर २ (१) एमालेले जितेको छ । २०७४ सालमा महालक्ष्मी नगरपालिकाका मेयरसमेत रहेका रामेश्वर श्रेष्ठ ८ हजार २९८ मत ल्याएर प्रदेशसभा सदस्य जित्नुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच