काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारकै भएको स्पष्ट गर्नुभएको छ । आयोगको ३५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रणलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । प्रमुख आयुक्त राईले सुशासन कायम गर्न संघीय, प्रदेश तथा स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको चुस्त र दुरुस्त कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार आयोग भ्रष्टाचार नियन्त्रणको अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संवैधानिक निकाय मात्र हो, तर सुशासन कायम गर्ने जिम्मेवारी भने सरकारकै अग्र भूमिकामा पर्छ ।
उहाँले भन्नुभयो, ‘सुशासन कायम गर्ने काम अख्तियार एक्लैले सम्भव हुँदैन । सरकार, नागरिक समाज, सञ्चारजगत् र आमनागरिक सबैको सहकार्य आवश्यक छ ।’ सुशासनप्रति सामूहिक जिम्मेवारीबोध अभाव रहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ सचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । प्रमुख आयुक्त राईका अनुसार आयोगले ऐन, नियम र कानुनअनुसार भ्रष्टाचार नियन्त्रणमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
प्रविधिले भ्रष्टाचारलाई जटिल बनायो
पछिल्ला वर्षहरूमा आयोगले जनशक्ति वृद्धि, कार्यशैलीमा सुधार तथा प्रविधिको प्रयोग विस्तार गरेको जानकारी दिँदै उहाँले प्रविधिको विकाससँगै भ्रष्टाचारका प्रवृत्तिहरू पनि जटिल बन्दै गएको उल्लेख गर्नुभयो । ‘हामीले जनशक्ति थपेका छौँ, काम गर्ने तरिका परिवर्तन गरेका छौँ, प्रविधिको प्रयोग बढाएका छौँ । तर, प्रविधि विकाससँगै भ्रष्टाचारका स्वरूप पनि जटिल र कठिन बन्दै गएका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले अब अझ सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था आएको छ ।’
आयोगप्रति जनविश्वास बढ्दो
२०७७ साल माघ २१ गते पदभार ग्रहण गर्दा र हालको अवस्थाबीच उल्लेखनीय परिवर्तन आएको दाबी गर्दै प्रमुख आयुक्त राईले आयोगप्रतिको दृष्टिकोण सकारात्मक बन्दै गएको बताउनुभयो । विगतमा आयोगप्रति तीव्र आलोचना हुने गरेको स्मरण गर्दै उहाँले अहिले आलोचनाको दर उल्लेख्य रूपमा घटेको दाबी गर्नुभयो । ‘पहिले आयोगमाथि १०० प्रतिशतसम्म आलोचना हुने गरेको थियो, अहिले त्यो घटेर करिब २० प्रतिशतमा सीमित भएको छ’, उहाँले भन्नुभयो, ‘पाँच वर्षे कार्यकालमा हामीले आयोगको स्तर वृद्धि गरेका छौँ र हालको कार्यशैलीले समाजमा सुशासनप्रति आशा जगाएको छ ।’
उहाँले भ्रष्टाचार नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकार सबै तह जिम्मेवार र जवाफदेही हुनुपर्ने पुनः दोहोर्याउनुभयो । ‘सरकारले नै ऐन, नियम र कानुनको कडाइका साथ कार्यान्वयन गराउनुपर्छ । अख्तियार अन्तिम अस्त्रका रूपमा प्रयोग हुन्छ’, उहाँको भनाइ थियो । ३५औँ स्थापना दिवसका अवसरमा आयोगले नेपाल प्रहरी, आयोगका कर्मचारी तथा सञ्चारकर्मीहरूलाई सम्मान गरेको छ । उत्कृष्ट अख्तियार सेवा पुरस्कार तथा उत्कृष्ट अनुसन्धान अख्तियार पुरस्कार भने माघ २८ गते आयोजना हुने स्थापना दिवसको मूल समारोहमा वितरण गरिने प्रमुख आयुक्त राईले जानकारी दिनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच