लाहोर । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले पाकिस्तानी क्रिकेट टोलीलाई फेब्रुअरी १५ मा भारतविरुद्धको टी-२० विश्वकप खेल खेल्न अनुमति दिनुभएको छ । मित्र राष्ट्रहरूको अनुरोधमा यो निर्णय गरिएको उहाँले बताउनुभयो । यसअघि, पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का अध्यक्ष मोहसिन नक्वीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रतिनिधिहरू र बंगलादेश क्रिकेट बोर्डबीचको उच्चस्तरीय बैठकमा भएको निर्णयबारे शाहबाज शरीफलाई औपचारिक रूपमा जानकारी गराउनुभएको थियो ।
पाकिस्तान सरकारले बंगलादेश क्रिकेट बोर्डले पिसिबीलाई गरेको औपचारिक अनुरोधका साथै श्रीलंका, संयुक्त अरब इमिरेट्स र अन्य सदस्य देशहरूबाट प्राप्त सन्देशहरूका आधारमा यो निर्णय गरेको सरकारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अनुसार, प्रधानमन्त्री शाहबाज शरीफले सोमबार साँझ श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँग फोनमा कुरा गर्नुभएको थियो । श्रीलंकाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई वर्तमान गतिरोधलाई सौहार्दपूर्ण रूपमा समाधान गर्न गम्भीरतापूर्वक विचार गर्न अनुरोध गर्नुभएको थियो । विज्ञप्तिमा भनिएको छ, ‘क्रिकेटको भावना कायम राख्न र सबै सहभागी देशहरूमा यस विश्वव्यापी खेलको निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले यो निर्णय गरिएको हो ।’
बंगलादेशले आफ्नो टोलीको सुरक्षा चिन्तालाई उद्धृत गर्दै आफ्ना खेलहरू भारतबाट बाहिर सार्न अनुरोध गरेपछि विवाद सुरु भएको थियो । यद्यपि, आइसिसीले उनीहरूको अनुरोधलाई अस्वीकार गरेको थियो । यसपछि, पाकिस्तानी सरकारले आफ्नो टोलीले फेब्रुअरी १५ मा भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको थियो । अब पाकिस्तानी टोलीले फेब्रुअरी १५, २०२६ मा आइसिसी पुरुष टी-२० विश्वकप खेल खेल्ने भएको छ । पाकिस्तानी मिडियाको दाबीअनुसार आइसिसीले पिसिबीका शर्तहरू स्वीकार गरेको छ, तर इण्डिया टुडेको रिपोर्टले आइसिसीले पाकिस्तानका तीनवटै मागहरू अस्वीकार गरेको दाबी गरेको छ ।
आइसिसीका सिइओ संजोग गुप्ता आइसिसीका तर्फबाट भर्चुअल रूपमा बैठकमा सामेल हुनुभएको थियो । भारतसँग खेल्ने मुद्दाका सन्दर्भमा, पाकिस्तानले तीन शर्त राखेको थियो । पहिलो, आइसिसीको कुल राजस्वमा पाकिस्तानको हिस्सा बढाउनुपर्ने । दोस्रो, भारत र पाकिस्तानबीचको द्विपक्षीय क्रिकेट शृंखला पुनः सुरु गर्नुपर्ने र तेस्रो, मैदानमा हात मिलाउने प्रोटोकल कडाइका साथ लागू गर्नुपर्ने शर्त राखेको थियो ।
पहलगाम आतंकवादी हमलापछि एसिया कपको समयमा भारतीय टोलीले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएको थिएन । हाल, पाकिस्तान आइसिसी राजस्व मोडेलमा चौथो ठूलो सेयरधारक हो, जसले कुल राजस्वको लगभग ५.७५ प्रतिशत प्राप्त गर्दछ । अष्ट्रेलिया, इंग्ल्याण्ड र भारतका बोर्डहरू यसभन्दा माथि छन् ।
बंगलादेशलाई आइसिसीले कारबाही नगर्ने
सन् २०२६ को टी-२० विश्वकपका खेलहरू भारतमा खेल्न अस्वीकार गरेपछि प्रतियोगिताबाटै बाहिरिएको बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले कुनै पनि प्रकारको कारबाही नगर्ने भएको छ । राजनीतिक तनावका कारण भारत भ्रमण नगर्ने बंगलादेशको निर्णयपछि उत्पन्न विवादलाई आइसिसीले सुल्झाउँदै कुनै वित्तीय वा प्रशासनिक दण्ड नदिने स्पष्ट पारेको हो । भारत र बंगलादेशबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण बंगलादेशी सरकारले आफ्नो टोलीलाई भारत पठाउन अनुमति दिएको थिएन ।
बंगलादेशले आफ्ना खेलहरू श्रीलंकामा सार्न गरेको प्रस्तावलाई आइसिसीले अस्वीकार गर्दै उसको ठाउँमा स्कटल्याण्डलाई सहभागी गराएको थियो । यो विवाद मुस्ताफिजुर रहमानलाई आइपिएलबाट हटाएपछि झनै चर्किएको थियो ।
आइसिसीले एक विज्ञप्ति जारी गर्दै बंगलादेशलाई दण्डित गर्नुको सट्टा भविष्यमा अर्को एक आइसिसी प्रतियोगिताको आयोजना अधिकार दिने सहमति भएको जनाएको छ । सन् २०३१ को एकदिवसीय विश्वकपको सह-आयोजकसमेत रहेको बंगलादेशले त्यसअघि नै अर्को ठूलो प्रतियोगिता आयोजना गर्ने अवसर पाउनेछ । आइसिसीले बंगलादेश क्रिकेटको विकासमा आफ्नो प्रतिबद्धता रहेको र यो निर्णयले खेलको अखण्डता र एकता कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । एजेन्सी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच