काठमाडौं । ख्यातिप्राप्त हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनपछि होश भएका र जोश भएका शक्तिहरू मिलेर देश अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । बालबालिकाको डान्स रियालिटी शो ‘नेशन्स् गट ट्यालेन्ट : राष्ट्रको प्रतिभा’ सिजन-२ का अतिथि निर्णायकका रूपमा उपस्थित श्रेष्ठले शोका क्रममा प्रस्तुत एक मार्मिक नृत्य हेरेपछि उक्त धारणा व्यक्त गर्नुभएको हो । भक्तपुरकी जलाधी खड्काले जेन-जी आन्दोलन, त्यस क्रममा प्रहरीमाथि भएको आक्रमण, धनजनको क्षति तथा बढ्दो आपराधिक गतिविधिको विषयलाई समेटेर प्रस्तुत गरेको अभिनयात्मक नृत्यपछि उहाँ भावुक बन्नुभएको थियो ।
प्रतिक्रिया दिँदै श्रेष्ठले प्रहरीबिना समाज र देशअघि बढ्न नसक्ने बताउनुभयो । ‘पुलिस हाम्रो साथी, अभिभावक, शिक्षक र मर्यादापालक हो । पुलिसबिनाको समाज कल्पनै गर्न सकिँदैन’, उहाँले भन्नुभयो । श्रेष्ठले जेन-जी आन्दोलनले नेपाललाई नयाँ मोडमा ल्याएको उल्लेख गर्दै जनताले सधैं एउटै नेतृत्व हेर्न नचाहने धारणा व्यक्त गर्नुभयो । ‘अब चुनावबाट आउनेहरूमा जोश होला, तर होश नहुन सक्छ । होश भएकामा जोश नहुन सक्छ । दुवै मिलेर अघि बढे देशका लागि राम्रो हुन्छ’,उहाँले भन्नुभयो ।
कार्यक्रममा वरिष्ठ निर्णायक तथा अभिनेत्री मिथिला शर्माले मदनकृष्णको भनाइलाई मानवीय स्वभावसँग जोड्दै सन्तुलनको आवश्यकता औंल्याउनुभयो । ‘हामीलाई दिनमात्र चाहिँदैन, रातमात्र पनि चाहिँदैन । मिर्मिरे बिहानी र गोधुली साँझ दुवै चाहिन्छ’, उहाँले भन्नुभयो ।
जलाधीको नृत्य प्रस्तुतिमा अतिथि निर्णायक मदनकृष्ण श्रेष्ठसहित नियमित निर्णायकहरू मिथिला शर्मा, नीता ढुंगाना र छमछमी नृत्य प्रतियोगिताका विजेता सरोज प्रजाले स्ट्यान्डिङ ओभेसन दिनुभएको थियो ।
अभिनेत्री नीता ढुंगानाले जलाधीको प्रस्तुति अत्यन्त प्रभावकारी रहेको बताउँदै भन्नुभयो, ‘यो प्रोटेष्टमा प्रहरीको महत्व साँच्चिकै बुझेको व्यक्ति म पनि हुँ । जस नपाउने तर सधैं खटिने भनेकै प्रहरी हो ।’ कार्यक्रममा मिथिलाको आग्रहमा मदनकृष्णले ‘सुन न तिमी राम्री लाग्यौ’ र ‘फुलबुट्टे सारी’ गीतका केही अंश गाएर सुनाउनुभएको थियो ।
नृत्य नसिकेकोमा मदनकृष्णलाई पछुतो
यसै शोका अर्का चरणमा मदनकृष्ण श्रेष्ठले आफूले नृत्य सिक्न नसिकेकोमा पछुतो लागेको बताउनुभयो । उत्कृष्ट नौ चरणमा सिरहाकी एनी चौधरीको प्रस्तुति हेरेपछि उहाँले भन्नुभयो, ‘डान्स हेर्दै गर्दा लाग्यो, मैले मिथिलाजीसँग संगत हुँदाहुँदै किन डान्स सिकिनँ ? नृत्य जानेको भए शरीर अझै फुर्तिलो हुन्थ्यो ।’
काठमाडौंका सात वर्षे एरोन रिजाल र सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पाको नृत्यपछि प्रतिक्रिया दिँदै मदनकृष्णले बालबालिकाहरूको प्रतिभाको खुलेर प्रशंसा गर्नुभयो । उहाँले नेपाली नृत्य कलाकारमध्ये मिथिला शर्माको नृत्य शैली सबैभन्दा मनपर्ने बताउनुभयो । उत्कृष्ट नौ चरणमै डोटीकी उदिप्ती राउतले हरर थिममा प्रस्तुत गरेको नृत्यले निर्णायक नीता ढुंगानालाई तर्साएको थियो । अप्रत्याशित प्रस्तुतिपछि निर्णायकबीच हासो र रमाइलो वातावरण बनेको थियो ।
‘नेशन्स् गट ट्यालेन्ट : राष्ट्रको प्रतिभा’ सिजन-२ एएनपी मिडियाको ब्यानरमा लवबहादुर कार्कीको निर्माण तथा निर्देशनमा तयार भइरहेको छ । शो प्रत्येक आइतबार साँझ ६ बजे स्पेस फोर के टेलिभिजन र ७ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ । कार्यक्रम हाल उत्कृष्ट पाँच चरणमा प्रवेश गरेको छ ।







सङ्घीय संसद्का दुवै सदनको बैठक
कति छ आज विदेशी मुद्राको
बाजुराका आमाको व्यथा : बाटामै
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
देशभर मनसुनी वायुको प्रभाव, अधिकांश
भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण