नेपालमा कहिले मध्यावधि निर्वाचन हुन्छ त कहिले प्रधानमन्त्रीहरूको सनकमा संसद् विघटन गर्ने काम हुन्छ । राजनीतिक अस्थिरतामा नाम कमाएको मुलुक नेपाल चुनावी खर्चले ढाड सेकेको मुलुक हो भन्दा पनि हुन्छ । आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य आवश्यकता हो तर बेला न कुबेला हुने निर्वाचनहरूले मुलुकको समग्र अर्थतन्त्रमै नकारात्मक असर पारिरहेको हुन्छ । नेपालका सबै निर्वाचन क्षेत्रहरूले कहिले सामयिक त कहिले असामयिक निर्वाचन बेहोर्दै आएका छन् तर त्यसमाथि पनि विविध कारणहरूले धेरै निर्वाचन भएको क्षेत्र काठमाडौं क्षेत्र नं. २ हो । जेन-जीहरूको आवरणमा भएको उत्तेजनात्मक आन्दोलनका कारण वि.सं. २०८४ मा हुनुपर्ने आमनिर्वाचन यही फागुन २१ गते हुन लागेको छ र यो चुनाव यो क्षेत्रमा पनि हुँदै छ ।
नेपालका दुई पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईहरूले बनाएका घरहरू यही क्षेत्रमा छन् । त्यति मात्रै नभई बारम्बार सत्तामा गएको र सत्ताको नेतृत्व गरेको नेकपा एमालेका महासचिव जमेर बसेको क्षेत्र पनि यही नै हो ।
नेपालमा सम्पन्न प्रतिनिधिसभाका लागि भएका निर्वाचनहरू मध्येमा सबैभन्दा बढीपटक निर्वाचन भएको निर्वाचन क्षेत्र सम्भवतः काठमाडौं निर्वाचन क्षेत्र नं. २ हो । कहिले जितेका उम्मेदवारले राजीनामा दिने त कहिले दुर्भाग्यवश निर्वाचित प्रतिनिधिको दुःखद निधन हुने जस्ता कारणहरूले यो क्षेत्रले असमयमै निर्वाचन व्यहोर्नुपरेको छ । पहिले पहिले शक्तिशाली उम्मेदवारले दुई वा तीनवटा निर्वाचन क्षेत्रमा चुनाव लड्न पाउने व्यवस्था थियो र त्यस्ता उम्मेदवारले चयन गर्ने क्षेत्रमा यो क्षेत्र एउटा पर्ने गर्दथ्यो । केही गरी दुवै निर्वाचन क्षेत्रमा विजय हासिल गरे भने त्यस्ता उम्मेदवारले छाड्ने क्षेत्र पनि यही नै हो । वि.सं. २०४८ देखिका निर्वाचन हेर्दा यो क्षेत्रको वासिन्दा नभए तापनि यहाँबाट चुनाव लड्न रहर गर्नेहरूको संख्या पनि अन्य क्षेत्रहरूको भन्दा अधिक छ ।
नेपाली नागरिकको नेपालभरिका जुनसुकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने अधिकार छ त्यसैले बाहिरका आए भनिहाल्न मिल्दैन । नेपालको अनुभवले बरु प्रधानमन्त्री हुने मान्छे भने आफ्नो घर भएका ठाउँमा लड्नै नपाउने कानुन नै बनाउनुपर्ने जस्तो देखिएको छ । प्रधानमन्त्री हुने मानिस जुनसुकै क्षेत्रबाट चुनाव लड्नु स्वाभाविक नै हुन्छ किनकि उसले आफ्नो क्षेत्रलाई मात्रै पूरै देश देख्न मिल्दैन तर सांसद मात्रै हुने या मन्त्रीसम्म भएमा ठूलै ठान्ने हैसियत भएकाहरू भने अन्य क्षेत्रका लागि त्यति उपयुक्त नहुने काठमाडौं क्षेत्र नं. २ को इतिहासले बताएको छ । क्षेत्रको बासिन्दाका हिसाबले भने आफ्नै गाउँटोलका प्रतिनिधि भए भने सहज हुन्छ भन्ने अनुभवले बताएको छ । यसपटक यो निर्वाचन क्षेत्रका मतदाताले गल्ती दोहोर्याउँछन् कि सही ठाउँमा मतदान गर्छन् हेर्न बाँकी नै छ ।
काठमाडौँ उपत्यकाको केन्द्र भागमा पर्ने यो क्षेत्र हो । पूर्वी नेपालका नेपालीहरू राजधानी आउँदाको प्रवेश विन्दु पनि यही क्षेत्र हो । चाहे झापादेखिका बीपी राजमार्ग हुँदै काठमाडौं भित्रिनेहरू हुन् या सिन्धुपाल्चोकतिरका नाङ्लेभारे हुँदै काठमाडौं आउनेहरू हुन्, यही क्षेत्र भएर नै आउनुपर्दछ । राजधानीबाट बाहिरिने क्रममा पनि पूर्वतिरका मात्रै नभई पूर्वपश्चिम राजमार्ग हुँदै बाहिरिनेहरू पनि यही क्षेत्रमा टेकेर नै बाहिरिने गर्दछन् । पूर्वका मात्रै नभई आजभोलि त वीरगञ्ज वा मधेश क्षेत्रका अन्य कतिपय सवारीसाधनहरू समेत काठमाडौं क्षेत्र नं. २ को एउटा बस्ती अर्थात् कोटेश्वरतिरैबाट जाने गरेका छन् । त्यसैले पनि यो क्षेत्रलाई सहरको केन्द्र नै मान्नुपर्दछ ।
त्यति मात्रै नभई हिन्दू धर्मावलम्बीहरूको पवित्र स्थल शालीनदी यही क्षेत्रमा पर्दछ । कोटेश्वर महादेव आदि पूज्य धार्मिक स्थलहरू यही क्षेत्रमा पर्दछन् । नेपालका दुई पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईहरूले बनाएका घरहरू यही क्षेत्रमा छन् । त्यति मात्रै नभई बारम्बार सत्तामा गएको र सत्ताको नेतृत्व गरेको नेकपा एमालेका महासचिव जमेर बसेको क्षेत्र पनि यही नै हो । यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य भएकी मान्छे राष्ट्रपति भएको इतिहास पनि यही क्षेत्रसँग छ । नेपालको इतिहासमा सबैभन्दा धेरै सर्वसाधारण मारिने गरी आन्दोलन गर्न समर्थ राजनीतिक दल नेकपा माओवादी हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय भएको क्षेत्र पनि यही नै हो । समग्रमा भन्नुपर्दा काठमाडौं क्षेत्र नं. २ गौरवै गौरवले भरिएको क्षेत्र हो ।
विडम्बना, काठमाडौं क्षेत्र नं. २ ले गौरव गर्नुपर्ने ठाउँ भने आजसम्म पाएको छैन । १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौं जिल्लामा सबैभन्दा पिछडिएको निर्वाचन क्षेत्रको परिचय यसैले पाएको छ । राजधानीका सबै निर्वाचन क्षेत्रहरू मध्येमा अधिक पिछडिएको क्षेत्र यही नै हुन पुगेको छ । ग्राबेल सडकको त कुरै छाडौँ, डोजर मात्रै लगाएका बाटाहरू भएको क्षेत्र काठमाडौं क्षेत्र नं. २ नै हो । खानेपानीको पाइप लाइन नपुगेका घरहरू भएको क्षेत्र पनि यही नै हो । मानवका लागि अत्यावश्यक सुविधा नपुगेका गाउँहरू यहीँ नै भेटिन्छन् । काठमाडौं क्षेत्र नं. २ लाई राजधानीको कर्णाली भनेर भन्दा अतिशयोक्ति हुँदैन ।
हुन त काठमाडौं क्षेत्र नं. २ को दुर्गतिका लागि अरू कोही जिम्मेवार छैनन्, यस क्षेत्रका मतदाता स्वयं नै कारक हुन् । क्षेत्रप्रति जिम्मेवार नेता को छ, गाउँको विकास गर्न प्रतिबद्ध उम्मेदवार को हो, आफ्ना क्षेत्रका मतदातालाई निकटतम सदस्य मान्नसक्ने व्यक्ति कुन होला जस्ता कुरामा वास्तै नगरी मतदान गर्नेहरू नै यो क्षेत्रको पिछडापनका जिम्मेवार हुन् भन्नु अतिशयोक्ति हुँदैन । विकास र प्रगति चाहने हो भने मतदाताले आफ्ना सुखलाई सुख र दुःखलाई आफ्नै दुःख सम्झने प्रतिनिधि चयन गर्न सक्नै पर्दछ अन्यथा क्षेत्रको मुहार फेरिने सम्भावना कमै रहन्छ । प्रतिनिधिसभा सदस्यले वास्तवमा जनहितका कानुन बनाउने जिम्मेवारी भए तापनि क्षेत्रको समृद्धिका लागि सरकारलाई घचघच्याउने काम उसैको भएकाले सही व्यक्तिको चयन हुन अति जरुरी हुन्छ नै ।
फेरि पनि निर्वाचन नजिकिएको छ । काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमा कुल २५७ जनाले उम्मेदवारी दिएका छन् भने काठमाडौं क्षेत्र नं. २ मा यो क्षेत्रका प्रतिनिधित्व गर्ने चाहना राख्दै विभिन्न १६ दलका र १२ स्वतन्त्र गरी २८ जनाले उम्मेदवारी दिएका छन् । लगभग ८९ हजार मतदाता रहेको यो क्षेत्र मतदाता र भूगोलका आधारमा काठमाडौंका अन्य क्षेत्रभन्दा निकै ठूलो क्षेत्रमा पर्दछ । यसर्थ यो क्षेत्रमा विजय हासिल गर्न अन्य निर्वाचन क्षेत्रहरूका तुलनामा निकै मेहनत गर्नुपर्ने हुन्छ । उम्मेदवारले त सकेको प्रयत्न गर्छन् नै साथसाथै मतदाताहरूले पनि अधिकतम विवेक प्रयोग गरी विगतको समेत अध्ययन गर्दै मतदान गर्दा उपयुक्त हुन्छ तर सबै मतदाता एकै ठाउँमा जम्मा भएर साझा धारणा बनाउने अवस्था नरहने हुँदा परिणामका लागि प्रतीक्षा गर्नुपर्ने छ ।
वि.सं. २०४८ पछिका निर्वाचनहरूको अध्ययन गर्ने हो भने यो क्षेत्रले यही क्षेत्रका बासिन्दालाई उपेक्षा गर्दै धेरैपटक क्षेत्र बाहिरकालाई विजयी बनायो । मतदाताले कुन लहडमा मत हाले त्यो हाल्नेहरूले नै जान्ने कुरा हो तर त्यसको नकारात्मक प्रभाव परेको काठमाडौं २ का मतदाताले कहिल्यै अनुभव गरेको जस्तो देखिएको छैन । सबैभन्दा पहिला ४८ सालमा मदन भण्डारीलाई आफ्नो प्रतिनिधि चुने उनी यहाँका थिएनन् । उनको मृत्युपछि भोजपुरमा राजनीति गरेर हुर्किएकी उनैकी पत्नी विद्या भण्डारीलाई जिताए । प्रदीप नेपाल, झक्कु सुवेदीहरू सबै अन्तैका भए पनि यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य हुने सौभाग्य प्राप्त गरे । माधव नेपालको एउटा घर यहीँ भए पनि उनको राजनीतिक लिगेसी रौतहटतिरै रहेको प्रत्यक्ष नै छ ।
यो क्षेत्रका यही इतिहासलाई हेर्दै क्षेत्र बाहिरका सोविता गौतम आइन्, जितिन् । यस्तै कुराहरूलाई हेरेरै कृष्णगोपाल श्रेष्ठ, ओनसरी घर्तीहरू पनि आएका थिए तर उनीहरूले पराजय बेहोरे । यही क्षेत्रका बासिन्दा भएर चुनाव जितेका भनेका नारायण ढकाल र दीपकप्रसाद कुइँकेल मात्रै हुन् । तुलनात्मक अध्ययन गर्ने हो भने अन्यका तुलनामा यी दुईका कार्यकालमा काठमाडौं क्षेत्र नं. २ ले केही राहत पाएको देखिन्छ । ढकाल राजनीतिभन्दा पनि साहित्यमै जम्न रुचाउने भएका कारण केही कम भए पनि त्यसको क्षतिपूर्ति कुइँकेलका पालामा भएको थियो । कुइँकेल पनि मध्यावधि निर्वाचनबाट आएका र संविधानसभा सदस्य भएका कारण त्यतिबेलाको परिस्थितिले चाहे जति काम भने उनले पनि गर्न सकेनन् । आन्दोलन लगत्तैको सरकार, बिग्रिएको बेलाको अर्थतन्त्रका कारण सीमित बजेट आदि कुराहरूले क्षेत्रप्रति संवेदनशील भए पनि बाध्यता रहेको देखियो ।
मतदाताले नेताबाट मर्दा पर्दामा सहयोगको अपेक्षा गरेका हुन्छन् । पर्दाका जन्ती र मर्दाका मलामी हुनसक्ने प्रतिनिधि जनताको आवश्यकता हो । यस्ता कुरामा कुइँकेल अब्बल देखिएका थिए भने यहीँका स्थानीय भएका कारण ढकाल पनि कमवेश ठिकै थिए । रौतहटलाई आधार माने पनि माधव नेपालको भूमिकालाई पनि कम आँक्न मिल्दैन । यस्तै कुराहरूमा सहभागी हुँदै आएका उम्मेदवारहरू अहिले हौसिएका छन् । यो क्षेत्रका मतदाताले अब सही व्यक्ति चयन गर्ने उनीहरूमा विश्वास पलाएको छ भने मतदाता पनि विगतका गल्ती सच्याउन तयार भए जस्ता देखिन्छन् ।
मतदान परिणामको घोषणा हुनु अघिसम्म सबै सक्षम र सबल मान्नैपर्दछ तर आफ्नो सुखदुःखको साथी, मर्दापर्दाको सहयोगी र क्षेत्रप्रति जवाफदेही उम्मेदवारलाई जिताउने भने मतदाताकै जिम्मेवारी हो । सही मान्छे छान्ने कि पुनः आफ्नै खुट्टामा आँफै बञ्चरो हान्ने भन्ने निर्णय मतदाताले नै गर्ने हो ।
सोवितालाई मतदाताले मन पराए तर उनले अर्कोपटक यही क्षेत्र रोज्न उपयुक्त मानिनन् । चितवनतिर दौडिइन् । विद्या भण्डारी मन्त्री हुँदै राष्ट्रपतिसम्म भइन् तर उनीबाट यो क्षेत्रका मतदाताले माया ममता पाएको अनुभव गर्न सकेनन् । प्रदीप ज्ञवालीलाई जिताउँदा उस्तै भयो । हुन त हारेका कृष्णप्रसाद भट्टराईलाई त के भन्नु छ र तर पनि पछि पर्साबाट प्रतिनिधिसभा सदस्य भएका बेला मलाई भोट हाल्नेहरू पनि काठमाडौं क्षेत्र नं. २ मा छन् भन्ने उनलाई हेक्का रह्यो कि रहेन थाहा भएन । यो कुरा अब यहाँका मतदाताले राम्रैसँग बुझेकै हुनुपर्दछ र आफ्ना सुखदुःखका साथीलाई चुन्ने मनस्थिति बनाएका होलान् भन्ने सबैले ठानेका छन् ।
दीपक कुइँकेलले छोटै समयमा देखाएका उत्तरदायी भूमिकाका कारण उनैको विरासत थाम्ने लक्ष्य बनाएका नेपाली कांग्रेसका कबिर शर्मा अहिले बढी नै हौसिएका छन् । जेञ्जीले सोचे जस्तै युवा, भर्खरै जेन-जी उमेर समूह नाघेका, अध्ययनशील र कर्मठ भएको एवं राजनीतिमार्फत समाजसेवामा लाग्ने अठोटका साथ यो क्षेत्रका बासिन्दासँग मर्दा र पर्दा दुबै अवस्थामा घुलमिल हुँदै आएको सबैभन्दा उच्च रेकर्डका कारण उनले अवसर खोज्नु स्वाभाविक नै हो । उनका पक्षमा देखिएको लहर हेर्दा यो क्षेत्रले परिवर्तन खोजेको छ भन्न सकिन्छ ।
हुन त रास्वपाका सुनील केसी पनि युवा हुन् र उनी पनि सक्रिय छन् तर उनले भने केही प्रश्नको सहज उत्तर दिन सक्नुपर्दछ । काठमाडौं क्षेत्र नं. २ प्रदेश १ का मतदाताले प्रदेशसभा सदस्य सुनीललाई बनाएकै थिए । प्रदेश सांसद्को कार्यकाल डेढ वर्षभन्दा बढी छँदै छ र पनि राजीनामा दिएर अहिल्यै किन चुनाव लड्न परेको ? अब प्रदेश सभाको सो क्षेत्रमा पुनः सुनीलकै कारण अनावश्यक चुनाव गराउनु परेको छ, त्यो चुनाव खर्च कसले बेहोर्छ ? सुनीलको महत्वाकांक्षाहरू पूरा गर्न जनताले तिरेको कर राज्यले किन खर्च गर्ने र अतिरिक्त चुनावको बोझ जनताले किन बेहोर्ने ? पहिला राप्रपाबाट चुनाव जितेका उनी अहिले रास्वपाबाट लड्दै छन्, यो मतदाता र राप्रपा दुबैलाई धोका हो कि होइन ? यस्ता प्रश्नहरूको चित्तबुझ्दो उत्तर दिनसक्ने हो भने उनी पनि कमजोर होइनन् ।
सबै उम्मेदवारहरूका आ-आफ्नै लक्ष्य र उद्देश्य छन् । पूर्व प्रधानमन्त्री माधव नेपालको लामो संगत गरेका कारण नेकपाबाट नितेश पनि कस्सिएका छन् । एमालेका यो क्षेत्र बाहिरका कुनै ठूला नेताले रहर नगरे चुनाव लड्ने गरेका फुँयाल पनि मैदानमै छन् । कोही बढी शक्तिशाली छन् र कोही कमजोर छन् भनी चुनाव अगाडि आँकलन गर्ने कुरा पनि होइन । मतदान परिणामको घोषणा हुनु अघिसम्म सबै सक्षम र सबल मान्नैपर्दछ तर आफ्नो सुखदुःखको साथी, मर्दापर्दाको सहयोगी र क्षेत्रप्रति जवाफदेही उम्मेदवारलाई जिताउने भने मतदाताकै जिम्मेवारी हो । सही मान्छे छान्ने कि पुनः आफ्नै खुट्टामा आफैँ बञ्चरो हान्ने भन्ने निर्णय मतदाताले नै गर्ने हो । आशा गरौँ, काठमाडौं क्षेत्र नं. २ लाई समृद्धिको मार्गमा अघि बढाउने प्रतिनिधि चयन हुनेछ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर