काठमाडौं । क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी)ले महावीर एथ्लेटिक्स सेन्टरलाई १३८ रनले पराजित गर्दै काठमाडौं जिल्लास्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिइसीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । २३० रनको लक्ष्य पछ्याएको महावीर २१.३ ओभरमै सबै विकेट गुमाउँदै ९१ रनमा समेटियो ।
सिइसीको जितमा वीरेन्द्र धनदीले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले टोलीको स्कोर उकास्न महत्वपूर्ण योगदान दिनुभयो । बुद्धिमान विष्टले ५९ बलमा ४४ रन जोड्दै मध्यमक्रम सम्हाल्नुभएको थियो । महावीरका लागि सोनु देवकोटाले चार विकेट लिनुभयो भने रिजन थापाले दुई विकेट हात पार्नुभयो ।
जवाफी ब्याटिङमा महावीरका प्रतिश जिसीले ४० बलमा सर्वाधिक ४७ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा टोली ठूलो अन्तरले पराजित भयो । उत्तम थापामगरले ११ रन जोड्नुभएको थियो ।
सिइसीका तर्फबाट दयानन्द मण्डल ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो । उहाँले चार विकेट लिएर महावीरको ब्याटिङ धराशायी पार्नुभयो । मोनसान सिंहले तीन विकेट लिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिइसीका कप्तान रीत गौतम घोषित हुनुभयो । उहाँले प्रतियोगिताभर तीन शतकसहित ४०७ रन बनाउनुभएको थियो । उपविजेता महावीरका सन्दीप पराजुली १४ विकेटसहित उत्कृष्ट बलर घोषित हुनुभयो भने सिइसीकै धिरज देउवा उदयीमान खेलाडी चुनिनुभयो । माघ १९ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा काठमाडौं जिल्लाका १८ टोलीको सहभागिता रहेको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर