काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाका रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर (एनसिसी) ले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरूको विकास तथा प्रवर्द्धन गर्नु सकारात्मक पक्ष भएको बताउनुभएको छ।
एनसिसी युथ एक्सचेन्ज प्रोग्रामअन्तर्गत सहभागी क्याडेटहरूका लागि राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
“यस कार्यक्रमले विभिन्न देशका युवाहरूलाई एकत्रित गर्दै उनीहरूलाई बफादार, अनुशासित, जिम्मेवार, भविष्यका प्रभावशाली नेतृत्वकर्ता र असल नागरिकका रूपमा रूपान्तरण गर्ने काम गर्दै आएको छ,” उहाँले भन्नुभयो। युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुण विकास हुनु खुसीको विषय भएको उहाँको भनाइ थियो।
राष्ट्रपति पौडेलले यस्ता युवा आदानप्रदान कार्यक्रममार्फत नेपाली सेनाले मित्र राष्ट्रका सेनासँग आपसी सम्बन्ध बलियो बनाउनुका साथै क्याडेटहरूबीच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको उल्लेख गर्नुभयो।
नेपालका क्याडेटहरूले हालै भारत, भुटान, पाकिस्तान र माल्दिभ्समा आयोजित युवा आदानप्रदान कार्यक्रममा सहभागिता जनाई आफूलाई थप विकसित गर्ने अवसर पाएको र यस्ता कार्यक्रमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक यथार्थबारे बुझ्न सहयोग पुगेको उहाँले बताउनुभयो।
“यस प्रकारका युवा आदानप्रदान कार्यक्रमले आपसी सम्बन्धलाई अझ सुमधुर बनाउँदै विश्व नै एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्नेछ,” राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच