काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्याडेट कोर (एनसिसी) अन्तर्राष्ट्रिय युवा आदान-प्रदान कार्यक्रम युवामा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । शुक्रबार राष्ट्रपति शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले भने, ‘यसले विभिन्न देशका युवालाई एकत्रित गरेर उनीहरूलाई वफादार, अनुशासित, जिम्मेवार, भविष्यका प्रभावशाली नेतृत्वकर्ता र असल नागरिकको रूपमा रूपान्तरण गर्ने काम गर्दै आएको छ । यसले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास गर्न सहयोग पुर्याउनु खुशीको विषय हो ।’
राष्ट्रपति पौडेलले यस्ता युवा आदान–प्रदान कार्यक्रमले नेपाली सेनासँग मित्र राष्ट्रका सेनाबीच सम्बन्धलाई बलियो बनाउनेमात्र नभई क्याडेटहरूबीच सीप, संस्कृति र परम्पराहरूको आदान-प्रदान गर्ने सुनौलो अवसर पनि प्रदान गर्ने उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, ‘नेपालका क्याडेटहरूले हालै भारत, भुटान, पाकिस्तान र माल्दिभ्समा आयोजित कार्यक्रममा भाग लिई आफूलाई थप विकास गर्ने अवसर पाएका छन् । यस्ता कार्यक्रममार्फत सहभागीले एकआपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थबारे राम्ररी बुझ्न सक्छन् ।’ राष्ट्रपतिले विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘यस युवा आदान-प्रदान कार्यक्रमले हामीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउँदै विश्व नै एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्नेछ ।’






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच