नेपाली चलचित्र क्षेत्रमा आफ्नै पहिचान स्थापित गर्न लागिपर्नुभएका कलाकार सन्तोष बानियाँ यतिबेला नयाँ चलचित्र ‘कस्तुरी’को छायांकनमा हुनुहुन्छ । उहाँको अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ले राम्रौ चर्चा पाउन सफल भयो । म्युजिक भिडियो, टेलिसिरियल, नाटक हुँदै ठूलो पर्दासम्मको यात्रामा रहनुभएका बानियाँले छोटो समयमै दर्शकको मन जित्न सफल हुनुभएको छ । बुबा तीर्थबहादुर बानियाँ र आमा दुर्गा बानियाँको कोखबाट झापाको गौरादहमा जन्मिनुभएका सन्तोष काठमाडौंलाई कर्मथलो बनाएर कला क्षेत्रमा अघि बढिरहनुभएको छ । उदीयमान कलाकार बानियाँको आत्मविश्वास, लगन र निरन्तर सिक्ने चाहनाले उहाँ भविष्यमा नेपाली चलचित्र क्षेत्रमा अझ स्थापित हुने संकेत देखिन्छ । थिएटरदेखि ठूलो पर्दासम्मको उहाँको यात्रा संघर्ष र सम्भावनाले भरिएको छ । फरक-फरक शैलीका भूमिकामा देखिने चाहना रहेको बताउनुहुने सन्तोष बानियाँसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
यतिबेला म नयाँ चलचित्र ‘कस्तुरी’को अभिनयमा व्यस्त छु । यही प्रोजेक्टका कारण निकै उत्साहित छु । कलाकारका रूपमा हरेक नयाँ काम विशेष हुन्छ, तर ‘कस्तुरी’ मेरा लागि झन् विशेष छ । सानो छँदा निखिल दाइका चलचित्र हेरेर हुर्किएको हुँ । आज उहाँसँगै एउटै चलचित्रमा काम गर्ने अवसर पाउँदा आफूलाई निकै भाग्यमानी ठानिरहेको छु । यो मेरो करियरकै महत्वपूर्ण अनुभव बनेको छ ।
‘मलाई लभर ब्वाइ र ट्र्याजेडी दुवै खालका भूमिका गर्न मन पर्छ । प्रेमकथामा भावनात्मक पक्ष देखाउन पाइन्छ भने ट्र्याजेडीमा कलाकारको अभिनय क्षमता झल्किन्छ । चुनौतीपूर्ण पात्रहरूले कलाकारलाई अझ निखार्छ भन्ने लाग्छ । भविष्यमा फरक–फरक शैलीका भूमिकामा देखिन चाहन्छु ।’
‘कस्तुरी’लाई लिएर कत्तिको अपेक्षा राख्नुभएको छ ?
अपेक्षा त स्वाभाविक रूपमा धेरै छन् । चलचित्रको कथा राम्रो छ, टिम निकै मिहिनेती छ । म आफ्नो भूमिकामा न्याय गर्न सकूँ भन्ने नै पहिलो प्राथमिकता हो । दर्शकले पनि फरक स्वादको चलचित्र खोजिरहनुभएको छ । ‘कस्तुरी’ले त्यो अपेक्षा पूरा गर्छ भन्ने विश्वास छ ।
अभिनेता निखिल उप्रेती र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्रको गत मंगलबार बंगलामुखी मन्दिर, ललितपुरमा शुभमुहूर्त गरी छायांकनको आरम्भ गरिएको हो । ऋत बोहोराले निर्देशन गर्ने यो चलचित्रको कथा पनि उहाँले नै लेख्नुभएको हो । यस चलचित्रबाट निखिल र वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्दै हुनुहुन्छ । चलचित्रमा निखिल-वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, शवि थापा, प्रशान्त केसी, सुवास बम्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमलगायतका कलाकारको अभिनय रहनेछ । साथै गौरव पहारी र हेना नगरकोटीले विशेष भूमिका निर्वाह गर्नुहुने पनि जनाइएको छ । टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्मातामा धिरजकुमार अग्रवाल रहनुभएको छ भने सहनिर्मातामा अञ्जली चौधरी हुनुहुन्छ । यो चलचित्रलाई लिएर म निकै उत्साहित छु ।
यहाँको अभिनय यात्राको सुरुवात कसरी भयो ?
मेरो यात्रा लघु चलचित्रबाट सुरु भएको हो । सानैदेखि अभिनयप्रति रुचि थियो । स्कुल–कलेजमा हुने कार्यक्रमहरूमा भाग लिने गर्थें । पछि यही रुचिलाई पेशागत रूपमा अघि बढाउने सोच आयो । सुरुमा साना–साना लघु चलचित्रमा काम गरें । त्यसपछि म्युजिक भिडियो र सिरियलतर्फ लागें । नाटकहरूमा अभिनय गरें । विस्तारै अवसरहरू बढ्दै गए ।
कति समय भयो यो क्षेत्रमा लागेको ?
चलचित्र क्षेत्रमा लागेको करिब दुई वर्ष भयो । तर, म्युजिक भिडियो, नाटक र टेलिसिरियलमा भने सात–आठ वर्षदेखि काम गरिरहेको छु । यही अनुभवले नै मलाई ठूलो पर्दासम्म ल्याइपुर्याएको हो ।
म्युजिक भिडियोको अनुभव कस्तो रह्यो ?
म्युजिक भिडियोबाट धेरै कुरा सिक्ने मौका मिल्यो । क्यामेरा फेसिङ, एक्सप्रेसन, टाइमिङ जस्ता आधारभूत कुरा त्यहीँ सिकें । ‘चानचुन पैसा’ म्युजिक भिडियोबाट मलाई दर्शकले चिन्न थाल्नुभयो । त्यो गीतले राम्रो चर्चा पायो । कलाकारका लागि चिनिने पहिलो काम सधैं विशेष हुन्छ ।
चलचित्र ‘गोबर गणेश’मा तपाईंको भूमिका निकै मन पराइयो नि ?
हो, ‘गोबर गणेश’मा मैले सानुभाइको भूमिका निभाएको थिएँ । त्यो भूमिका दर्शकले निकै मन पराउनुभयो । प्रभावकारी पात्र थियो । त्यसबाट पाएको माया र प्रतिक्रिया मेरा लागि ठूलो हौसला बन्यो । कलाकारलाई दर्शकको माया नै सबैभन्दा ठूलो पुरस्कार हो भन्ने महसुस त्यहीँबाट भयो ।
अभिनय सिकाइको पृष्ठभूमि कस्तो छ ?
माथि पनि भनें म म्युजिक भिडियो र थिएटरबाट आएको कलाकार हुँ । अभिनय सिक्नका लागि थिएटर निकै राम्रो पाठशाला हो । मञ्चमा अभिनय गर्दा दर्शकको प्रत्यक्ष प्रतिक्रिया पाइन्छ । संवाद बोल्ने तरिका, शरीरको भाषा, भाव-भंगीमा सबै कुरामा ध्यान दिनुपर्छ । मैले केही समय थिएटरमा प्रशिक्षण लिएको छु र नाटकहरूमा पनि अभिनय गरेको छु । त्यसले मेरो आत्मविश्वास बढाएको छ ।
‘होस्टेल ३’मा अभिनय गर्ने अवसर कसरी मिल्यो ?
‘होस्टेल ३’मा काम गर्ने मौका पाउनु मेरा लागि ठूलो अवसर थियो । त्यो चलचित्र युवापुस्तामाझ लोकप्रिय थियो । त्यहाँ काम गर्दा धेरै कुरा सिकें-डिसिप्लिन, सेटमा काम गर्ने तरिका, सहकलाकारसँगको समन्वय । अनुभवका हिसाबले निकै फलदायी भयो । चलचित्रले सफलता पनि प्राप्त गर्यो ।
तपाईंलाई कस्ता भूमिका गर्न मन पर्छ ?
मलाई लभर ब्वाइ र ट्र्याजेडी दुवै खालका भूमिका गर्न मन पर्छ । प्रेमकथामा भावनात्मक पक्ष देखाउन पाइन्छ भने ट्र्याजेडीमा कलाकारको अभिनय क्षमता झल्किन्छ । चुनौतीपूर्ण पात्रहरूले कलाकारलाई अझ निखार्छ भन्ने लाग्छ । भविष्यमा फरक-फरक शैलीका भूमिकामा देखिन चाहन्छु ।
परिवारले अभिनय यात्रामा कत्तिको साथ दिनुभयो ?
सुरुमा अलि चिन्ता थियो, किनकि कला क्षेत्रमा संघर्ष धेरै हुन्छ । तर, मेरो रुचि र लगन देखेर परिवारले साथ दिनुभयो । आज म जुन ठाउँमा छु, त्यो उहाँहरूको आशीर्वादकै कारण सम्भव भएको हो ।
नयाँ कलाकारका रूपमा चुनौती कस्ता छन् ?
नयाँ कलाकारका लागि अवसर पाउनु नै सबैभन्दा ठूलो चुनौती हो । आफूलाई प्रमाणित गर्न दोब्बर मिहिनेत गर्नुपर्छ । प्रतिस्पर्धा धेरै छ । तर, म निरन्तर सिक्दै अघि बढिरहेको छु । मिहिनेत गरेपछि परिणाम अवश्य आउँछ भन्ने विश्वास छ ।
आफूलाई कसरी परिभाषित गर्नुहुन्छ ?
म सिक्दै गरेको कलाकार हुँ । अझै धेरै सिक्न बाँकी छ । आफूलाई कहिल्यै पूर्ण ठान्दिनँ । प्रत्येक कामबाट केही न केही नयाँ कुरा सिक्ने प्रयास गर्छु ।
दर्शकका लागि के भन्न चाहनुहुन्छ ?
दर्शकले दिएको माया र साथले नै कलाकारको यात्रा अघि बढ्छ । अहिलेसम्म जुन माया दिनुभएको छ, त्यसका लागि आभारी छु । आगामी दिनमा पनि यही साथ र हौसला पाउने अपेक्षा राख्छु । म फरक-फरक भूमिकामा देखिँदै जानेछु । कृपया मेरो कामलाई साथ दिइरहनुहोला ।
आगामी योजना के छन् ?
अहिले ‘कस्तुरी’मा केन्द्रित छु । त्यसपछि पनि राम्रो कथा र चुनौतीपूर्ण भूमिका आएको खण्डमा काम गर्ने योजना छ । केही चलचित्रमा कुरा पनि भइरहेको छ । चैत, वैशाखमा छायांकन हुने चलचित्रका लागि कुरा भइरहेको छ । आफूलाई एउटा बहुआयामिक कलाकारका रूपमा स्थापित गर्ने लक्ष्य छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच