विराटनगर । उद्योग संगठन मोरङले इण्डष्ट्रिज एक्स्पिरियन्स जोन सञ्चालनमा ल्याएको छ । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेत, विभागकी निर्देशक विष्णुमाया भट्टराईलगायतको प्रतिनिधिमण्डलले इण्डष्ट्रिज एक्स्पिरियन्स जोन, बिजनेस इनक्युवेसन सेन्टर र भर्चुअल प्लेटफर्म विराटबजार डटकमको अवलोकन गरेको छ । संगठनका तीनवटै प्लेटफर्मले उद्योग प्रवर्द्धन, नवप्रवर्तन प्रदर्शन तथा बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । अवलोकनपछि विभागका महानिर्देशक जितेन्द्र बस्नेतले उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएका तीनवटा प्लेटफर्मले व्यावसायिक विकासको ईको सिस्टम दर्शाएको उल्लेख गर्दै सबैले एकपटक अवलोकन गरी सोबाट फाइदा लिनुपर्ने बताउनुभयो । भर्चुअल प्लेटफर्म विराटबजार डटकमलाई प्रतिनिधित्व गर्नेगरी भौतिक रूपमा उद्योगको वस्तुस्थितिलाई अवलोकन गर्न एक्स्पिरियन्स जोनले थप सहयोग पुर्याएको भन्दै उहाँले उद्योग प्रवर्द्धनका लागि नेपालमै पहिलो नवीन र प्रभावकारी पहल भएको बताउनुभयो ।
महानिर्देशक बस्नेतले संगठनले प्रारम्भ गरेको प्लेटफर्मले स्वदेशी उत्पादनको दृश्यता बढाउन, उद्यमी र लगानीकर्ताबीच सहकार्य विस्तार गर्न, औद्योगिक विकासलाई गति दिन तथा व्यवसाय-व्यवसायबीचको साझेदारीलाई बढावा दिन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । विभागका निर्देशक विष्णुमाया भट्टराईले समग्र प्लेटफर्मले उद्योग क्षेत्रका उपलब्धि र सम्भावनालाई प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै उद्योग क्षेत्रलाई नजिकबाट बुझ्न, सिक्न र सहकार्यको आधार तयार गर्न महत्वपूर्ण मञ्च भएको बताउनुभयो । संगठनको पहलले नेपाली उत्पादनको बजार पहुँच सुदृढ बनाउँदै औद्योगिक विकास, नवप्रवर्तन र उद्यमशीलता थप सशक्त बनाउन सहयोग पुर्याउने उहाँको भनाइ थियो ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संगठनले स्थापना दिवसका अवसरमा सञ्चालनमा ल्याएको इण्डष्ट्रिज एक्स्पिरियन्स जोन, भर्चुअल प्लेटफर्म विराटबजार डटकम र बिजनेस इनक्युवेसन सेन्टर आफैंमा एक ईको सिस्टम भएको बताउनुभयो । बिटुबी प्रवर्द्धन, बजार सञ्जाल विस्तार, सिकाइ तथा साझेदारी निर्माणका लागि स्थायी मञ्चका रूपमा सबै प्लेटफर्म विकास गरेको भन्दै उहाँले अवलोकनकर्ताले उत्पादन, कम्पनी प्रोफाइल, कार्यस्थलसम्बन्धी जानकारी, सम्भावित साझेदार, पेशा तथा सीपमार्फत् स्थानीय उद्योगहरू देख्न, छुन र अनुभव गर्न सक्ने स्पष्ट पार्नुभयो । अध्यक्ष राठीले एक्स्पिरियन्स जोनमा उपलब्ध भिआरमार्फत् उद्योगहरूको भर्चुअल अवलोकन गर्न सक्ने भएकाले आधुनिक प्रविधिको प्रयोगमार्फत् उद्योगहरूको प्रस्तुति अझ प्रभावकारी बनाएको बताउनुभयो ।
उद्योग संगठन मोरङले सञ्चालन गरेको भर्चुअल प्लेटफर्म तथा एक्स्पिरियन्स जोनले उद्योग प्रतिष्ठानहरूको उत्पादन, नवप्रवर्तक स्टार्टअप, महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुलाई राखिनुका साथै उद्योगका उत्पादन एकै स्थानमा समेटी स्थायी प्रदर्शनी स्थलका रूपमा विकास गरी उत्पादनदेखि प्रविधि, सीपदेखि साझेदारीसम्म अवलोकनकर्ताले अनुभव प्राप्त गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच