आजकाल गाउँतिर
चरीको चिरबिर उस्तै छ
झ्याउँकिरीको किरमिर उस्तै छ
हावाको सिरसिर उस्तै छ
बिहानीको मिरमिर त्यस्तै छ
प्रकृतिका छटा छरिइरहेकै छन्
सरिताका प्रवाह बगिरहेकै छन्
झरनाका कलकल गुञ्जिरहेकै छन्
हिमालआभा टलटल टल्किरहेकै छन्
जूनको शीतलता मस्तै छ
घामको राप ताप उस्तै छ
प्रकृतिको लय त्यस्तै छ
इन्द्रेणीको वय उस्तै छ
तर गाउँका घर रोगी भएका छन्
जीर्ण भएका छन्
अवहेलित भएका छन्
बिस्याहार भएका छन्
घरका बुइगलमा बाँदर नाचेका छन्
कोठेबारीमा चितुवा हाँसेका छन्
गग्रेटामा घैटोको चीसो पानी छैन
पूजाकोठामा शंख घण्टको कर्तल ध्वनि छैन ।
आजकाल हजुरबाको गीता पाठ गुञ्जिँदैन
आगो ताप्दै अगेनाका वरिपरि सभा बस्दैन
खेती किसानी गर्ने कर्मठ पाखुरी गाउँमा छैनन्
थकाइ मार्नलाई पाटीपौवा पनि बाँकी रहेनन्
शीतल ताप्नलाई वरपिपल चौतारीहरु छैनन्
किन भने
घरमा मान्छे छैनन्
केवल शुन्यता छ
गाउँमा गाउँ छैन
छन् त केवल पुर्वजहरुको कर्मठ पदचाप मात्र
छन् त केवल पुर्खाहरुका प्रिय इतिहास मात्र
जसलाई सम्बोधन गर्न सकेन राज्यको नीतिले
जसलाई संरक्षण गर्न चाहेन सन्ततिका प्रितीले
र जसलाई सम्मान गर्न मानेन विदेशिने रीतिले
जग्गा जमिन बाँझिँदै गएको छ
मिठोमसिनो आयात चुली चढेको छ
देश परनिर्भरताको सुली चढेको छ
पीर लाग्छ देशको रूप देख्दा
दुःख लाग्छ गाउँको स्वरूप देख्दा
म रनभुल्ल पर्छु र छुट्याउँन सक्दिन
साच्ची, यो हाम्रो देशको विकास हो कि
हाम्रो पहिचानको विनाश हो ?
सूर्यविनायक न.पा.५, भक्तपुर ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच