गत २६ गते चार पेजको अंकबाट क्रमशः
हामीभन्दा पहिलेदेखि झुण्ड्याइएका तर अझै सास बाँकी रहेकाहरूलाई भोलिपल्ट बिहान तल झारियो र प्रश्नहरू सोधियो । त्यसपछि गार्डहरूले तिनीहरूका टाउकामा प्लाष्टिकका थैलाहरू बाँधे । यसरी थैला बाँधेका बन्दीहरू बडो नराम्रोसँग उफ्रन थाले । यी कुराहरूलाई मैले झुण्डेर नै देखिरहेको थिएँ, तर म सोच्नसक्ने अवस्थामा थिइन । अब मसँग दुई अनिवार्य चीजहरूमात्र बाँकी थिए- मुटमा धड्कन र मनमा प्रार्थना ।
लगातार चार दिन चार रातसम्म बिना खाना बिना पानी झुण्ड्याएर राखेपछि पाँचौं दिन तिनीहरूले मेरा बन्धन खोले र मलाई तल झारे । मेरा हात र खुट्टामा रक्त सञ्चार हुँदा मलाई यति पीडा भयो कि त्यति बढी पीडा त हातगोडा चेतनाशून्य भएको बेला र आगोले पोलेको बेला पनि भएको थिएन । म डङरङ्ग उतानो पल्टें-हलचल गर्नसक्ने क्षमतासमेत ममा थिएन । ‘तँ डाक्टर होस्, क्याप्टेन ।’ छेउबाट एउटा आवाज आयो । म केही बोल्न खोजें तर ओठ चल्न सकेनन् । अन्त्यमा सासलेमात्र भनेंछु, ‘होइन, मलाई गोली हान । म मर्न खुशी छु । मलाई गोली हान ।’
प्लाष्टिकको झोलाले टाउको छोप्ने काम तिनीहरूले ममाथि पनि गरे । मैले सास फेर्न खोजें तर त्यहाँभित्र हावा नै थिएन । कुनै पनि चीज देखिने त कुरै छोडौं । म क्रमशः बेहोस् हुँदै गएँ र फड्फडाउन थालें । केही क्षणपछि तिनीहरूले झोला खोलिदिए र मैले फोक्सोभरि हावा तानें ।
हलचल हुन दिँदैन । अक्सिजन छैन । भन्छन्– ‘एई यो त अझै मरेको रहेनछ ।’ यातनै यातना । यातनाका विभिन्न रंग र ढंग । यही क्रममा कोही बाँचि पनि हाल्थ्यो । लाखौंमा दश । अनि कहिलेकाँही खाना पनि दिइन्थ्यो-तर आंकाको पछाडि लाग्नु पर्दथ्यो ।
यातना ! घनले हान्न लगाई मार्ने ! गोली ठोकेर मार्ने ! आँखा, कान, नाक, कलेजो, टाउको, गुप्तांग नभएका लाश यत्रतत्र फाल्ने, पुर्ने, जलाउने । विरोधीका टाउका मिँडिने ! निश्रृंश/क्रूर हत्या गरिने । क्रूरताको पनि पराकाष्ठा ! निश्रृंशताको चरम चुली ! कहिले तड्पाई तड्पाई मार्ने, हत्या गर्ने, गाडीले किच्ने, नाक र कानमा तार घुसाउने, पेटमा किला ठोक्ने, आँखाको गेडी झिक्ने, स्तनको मुण्टो काट्ने ।
आंका क्रूरताको प्रतीक । दुष्टताको प्रतीक । अमानवीयताको प्रतीक । यस्ता बाँचेका व्यक्तिमा पनि बुबा, दकाइ कता, प्रेमिका हुई कता ! को जिउँदो छ, को अर्धमृत छ, को बहुलाई सक्यो, को अभीशप्त छ ! कसैले भन्न सक्तैन । चुपो लागेर बस्नुपर्ने ।
भनिरहनु पर्दैन, खमेररुज अशिक्षित हुन्छन् । उद्दण्ड हुन्छन् । हठी हुन्छन् । एकोहोरा हुन्छन् । क्रूर हुन्छन् । निरंकुश हुन्छन् । राक्षसी प्रबृत्तिका हुन्छन् । महामूर्ख हुन्छन् । स्वतन्त्रताका निम्ति उनीहरू काल सावित हुन्छन् । त्यसैले रूखमा टाँग्ने, गोली हान्ने कार्य उनीहरूलाई सामान्य हुन्छ । ‘सामान्य गल्तीमात्र गर्ने मान्छेलाई पनि रूखमा टाँगेर गोली हान्नु सामान्य ठान्थ्यो ।’
के बालक, के वृद्ध, के गर्भिणी, के सुत्केरी, के बिमारी र अशक्त, सबैलाई आंकाले फेला पायो कि हुमर्तमात्र लिँदैनथ्यो कि अर्धमृत्यु वा मृत्युमा धकेलिहाल्थ्यो । उनीहरूको आत्माको शान्तिका लागि मैनबत्ती बाल्ने वा प्रार्थना गर्नसम्म पनि पाइँदैनथ्यो । हत्यालाई सामान्य मानिन्तचथ्यो । आंकाले फेलापरेका व्यक्तिहरू भगवानको आशामा रहनुबाहेक अरू कुनै उपाय हुँदैनथ्यो ।
एकातिर अनुशासनका नाममा यस्तो अमानवीय प्रवृत्ति थियो भने अर्कोतर्फ तथाकथित सामूहिक गस्तीको नाममा अत्याचार, दूराचार, व्यभिचार र चोरीहरू बढिरहेका हुन्थे । र, कम्बोडियालाई नरकै ठान्ने अवस्था आइपर्थ्यो । जहाँका जनताले साम्यवादलाई एउटा आदर्श र स्वर्गीय रामराज्यको रूपमा कल्पना गरेका हुन्थे, उनीहरू आफैंले साम्राज्यवादी ठानेको अमेरिकालाई नै स्वर्ग मान्नुपर्ने अवस्थासम्म आइपुग्यो ।
अमेरिका स्वर्ग हो होइन भन्ने कुरा आफ्नै ठाउँमा होला । त्यहाँ पनि त्यत्ति नै अमानवीय पक्ष होलान् । तर अभिव्यक्ति स्वतन्त्रता त्यहाँ छ र त्यसको आफ्नै महŒव छ । यसको अर्थ भने जब व्यक्ति अत्याचारमा पर्छ, तब उसले अर्को निकास त खोज्छ नै । खोज्ने नै भयो । हो, प्रस्तुत कृतिको संस्मरणकार पात्र पहिले शिक्षक थियो । ऊ चाहन्थ्यो आफ्नो ‘नयाँ घर’ आफ्नै जस्तो होस् । श्रम, सीप र बाहुवलको बारी होस्, आफ्नै उब्जनी होस् । स्वस्थ पुनर्जन्म सम्मको चाहना थियो उसको । प्रेम भनेपछि ऊ हुरुक्कै हुन्थ्यो र आफ्नी प्यारी हुईको लागि मरिमेट्थ्यो । हो पनि ‘मध्याह्न ढल्केपछि हामीपछाडिको ढोकामा बस्थ्यौं र टाढाटाढाका दृश्यहरू हेर्ने गर्थ्यो । धान खेतभन्दा पर पाहाड थियो । त्यसको टुप्पोमा धर्मको यादगार एउटा मन्दिर थियो । महिना दिनभित्रमै खैरो रंगको खेत हरियो रंगमा बदलियो । मलाई एउटा खुशीको खबर थाहा भयो–हुई गर्भवती रहिछन् ।’
प्रतीकको भाषा
- ‘हामीमा छाएको नयाँ खुशी र शारीरिक स्वास्थ्यले गर्दा नै सन् १९७७ मा हुईले गर्भधारण गरिन् । तेस्रो महिनाको सुरुदेखि हुईको पेट देखिन थाल्यो र आइमाई गर्भवती हुँदा जुन प्रकारको खुशीले पुलकित हुने गर्छन्, त्यस्तै प्रफुल्लता हुईमा पनि देखा पर्नथाल्यो ।’ कति सुन्दर शैली !
- ‘अन्नपातको अभाव, सुख्खा र तातो मौसम, कुपोषण, गर्भावस्था, कठै हुई !’
- ‘प्रत्येक विरुवा उखेलिदै थिए र धर्तीबाट हरियो हराउँदै थियो । चामलसँग साट्न भनेर मैले मेरो कमरपेटीमा भएको सुन पनि निकालें । तर कतै पनि, कुनै पनि मूल्यमा, चामल बेच्ने मान्छे कोही पनि थिएन । म केही पाउने आशाले जंगलतिर पनि दगुरें- तर त्यो पनि उजाड थियो- कतै केही हात लागेन ।’ यथार्थलाई जस्ताको तस्तै बोक्न सक्ने शिल्प छ प्रतीकका शब्दमा ।
- ‘गर्भ, शरीर बाँउडियो...कति कारुणिक अवस्था पीडाको ।
- आँखाभरि आँसु पारेर बाटुला बाटुला आँखाहरूले उनले मलाई हेरिन्मात्र । हेरिरहिन् मात्र, केही भनिनन् । अनि भित्तातिर मुख फर्काएर साउती गरिन्, ‘मलाई सहायता गर्नुहोस् मेरी आमा । मलाई बचाउनुहोस् ।’
- निरुपाय थिएँ म ...’
- ‘मेरो संसार भास्सिँदै थियो ।’ लुकेर हिँड्नुपर्ने । सुत्केरीका लागि अस्पतालसम्म पनि जान नपाइने कस्तो
अवस्था ? - ‘प्रिय, मलाई बचाऊ, मैले हरेस खाइसकेकी छु । मलाई मर्न नदेऊ, मलाई बचाऊ ।’ यति भन्दै उनले मलाई सम्हाल्नका लागि संकेत गरिन् । मैले उनलाई काखमा लेटाएँ र सुम्सुम्याउन थालें । उनले मलाई आफ्ना कमजोर हातहरूले बेरिन् र आँखाभरि पीडा बोकेर मलाई एकटक हेरिरहिन् । उनका आँखामा तैरिरहेको मायाको सागर देखेर म आत्तिएँ । उनी मलाई छोड्न चाहन्न थिइन् । पटक्कै छोड्न चाहन्न थिइन् कुनै हालतमा पनि ।
- ‘आफ्नो ख्याल राख्नु प्रिये ।’ उनले बिस्तारै भनिन् र आँखा चिम्लिन् ।
पत्नीको मृत्युपछि पनि काममा जानै पर्ने । मन दुःखी, शक्ति छैन । हरेक दिन हरेक रात चिहानमा जानुपर्ने यस्तैयस्तै खेमररुज चाँहि उफ्रेर भनिरहन्थ्यो ‘विस्तावादी अमेरिकालाई हराई सक्यौं । अब हाम्रा सामु शत्रुहरू नगण्य छन् ।’ अनि ऊ ‘क्रान्तिकारी शक्ति अमर रहोस्’ भन्दै छातीमा मुड्की हान्दै कुर्लन्थ्यो । तर स्थितिविपरीत थियो । किनभने अमेरिकाले भलै हारोस् वा जितोस्, अब हामी केवल शान्ति र मानवताका पक्षमा थियौं । क्रूर दमन र यातनाका विपक्षमा थियौं । हो, मानिसहरू बाँधिने र मृत्युमा लगिने क्रम यथावत् थियो, तर हुईको आत्माले ती अराजकतावादीलाई सरापिरहेको थियो । कम्बोडियाली महान जनताको आत्माले उनीहरूलाई धिक्कारी रहेको थियो ।
तनाव, त्रास, सैनिक सनक मृत्यु दण्ड, लास, नरहत्या, वीभत्सताको शब्दिक दृश्यको निरन्तर श्रृंखला ।
यसैले जनता शान्तिको पक्षमा थिए र आत्माको अभिष्टी पूरा गर्नका लागि परमेश्वसँग प्रार्थना गरिरहेका थिए ‘यो संत्रासबाट र मुक्ति पाउँ ।’ सन्त्रास कस्तो थियो ? प्रतीकको अनुवादबाटै हेरौं, ‘सन् १९७९ जनवरीको सुरुमा न्होम पेन्हतर्फबाट एउटा मालवाहक रेल आयो जसमा सामानको रूपमा व्याण्डेज र हातमा वैशाखी लिएका प्रशस्तै खमेररुज सिपाहीहरू थिए । केही दिनपछि त दक्षिणतर्फबाट जनताको लामो ताँती नै आउन थाल्यो । तिनीहरू सबै असाध्यै डराएका देखिन्थे । प्रत्येक दिन ठूलो संख्यामा मानिसहरू बाँधिन्थे र कहिल्यै नफर्किने गरी बन्दुकको मुखतर्फ लगिन्थे ।
जताततै तनाव र त्रासको वातावरण व्याप्त थियो । सैनिकहरू पूरै सन्की थिए, त्यसैले एउटा सानो गल्ती गर्दा पनि प्रत्येक दिन गाउँको कुनै न कुनै परिवारले मृत्युदण्डको भागीदार बन्नु पर्दथ्यो । यो समय ज्यादै सतर्क हुनुपर्ने किसिमको थियो । ती बाटाहरू, जहाँ म धेरैपटक घुम्न पुगेको थिएँ, क्रमशः लाशहरूको थुप्रोले गर्दा साना साना पहाड झैं देखिन थालेका थिए । केही दिनपछि फेरि मैले अर्को सामूहिक नरसंहारको एउटा बीभत्स दृश्यलाई आफ्नै आँखाले देख्नु पर्यो । मैले देखेका गाउँमा सयौंका संख्यामा लाशहरू खाडलमा चाङ लगाएर राखिएका थिए ।’
मार्क्स मानवमुक्तिका लागि संघर्षमा बाँचे । महान् क्रान्तिकारी थिए । भूत-भूतसरह बनेर विश्व थकाउने मान्छे । श्रद्धेय मृत्यु ! हो, असंख्य शत्रु थिए उनका सिद्धान्तका कारण । तर व्यक्तिगत रूपमा कोही शत्रु थिएन । मार्क्सले देश निकाला हुन पन्यो । पटक-पटक पक्राउ खाए । गरिबीको पीडा भोगे । पारिवारिक दुःख प्रशस्त पाए असहनीय रूपमा । तर उनी एक्लै जनताका संस्था थिए । सर्वहाराका गुरु ।
यसैले त हाइङ् नेगर थाई सिमानातर्फ लाग्छन् र उनी शत्रुहरूको हमलाबाट जोगिँदै, ‘अकस्मातै जताततै स्वचालित राइफल र मेशिनगनको गड्गडाहट सुरु भयो । शत्रुले चारैतिरबाट हमला गरिसकेका थिए । हामी सबै दौडिरहेका थियौं । आहालबाट उठेका त्रसित भैँसीहरूसमेत आँखा ठूलाठूला पार्दै जताततै दौडिरहेका थिए । धुलो उडेर सारा वायुमण्डल ढाकिएको थियो । र, एउटा भाग्यकै कुरा भनौं, जुनबेला हामी रेलवेतर्फ बढ्दै थियौं भ्रमवश खमेररुज सैनिकहरू भने हामीलाई लखेट्न भनेर जंगलतर्फ दौडिँदै थिए ।’
लामो अर्थात् चार वर्षको अन्तरालपछि ’स्वतन्त्रता’ तर्फ भाग्न सफल भए ।
पोलपोट !
नाम जे दिउँ, केही फरक पर्दैन । देशभक्तिको नाम वा राष्ट्रिय स्वाधीनताको नाम । आखिर हुन् त कम्बोडियाली कम्युनिष्ट पार्टी खमेररुजका कलंक । २० लाख खप्पर । भियनताम र रुसको विरोध नै तथाकथित देशभक्ति । मानवताको अभिशाप । कुख्यात तानाशाह । निरंकुशताको चरम चुली ।
हो, स्टालिनलाई पनि कुख्यात भनिन्छ । उनले पनि ३० वर्षे शासनमा धेरै हत्या गरे । तर त्यो हत्या फरक छ । स्टालिन भन्थे, ‘हामी कम्युनिष्टहरू विशेष धातुबाट बनेका मानिस हौं ।’ विपक्षीको दमन गर्नु, देश निकाला गर्नु, विरोधीलाई कष्ट दिनु, दण्ड दिनु, तरवारको धारमा राख्नु-स्टालिनको आफ्नै शैली थियो । लेनिन भन्थे ‘खाना पीरो पकाउने, चाहे कसैले खान सकोस् वा नसकोस्, कसैलाई पाच्य होस् वा नहोस् ।’ लेनिनले ठीकै भनेको थिए ‘स्टालिनलाई सत्ता दिनु उपयुक्त हुँदैन ।’ कठै, ट्राटस्की !
हो, मार्क्स मानवमुक्तिका लागि संघर्षमा बाँचे । महान् क्रान्तिकारी थिए । भूत-भूतसरह बनेर विश्व थकाउने मान्छे । श्रद्धेय मृत्यु ! हो, असंख्य शत्रु थिए उनका सिद्धान्तका कारण । तर व्यक्तिगत रूपमा कोही शत्रु थिएन । मार्क्सले देश निकाला हुन पन्यो । पटक-पटक पक्राउ खाए । गरिबीको पीडा भोगे । पारिवारिक दुःख प्रशस्त पाए असहनीय रूपमा । तर उनी एक्लै जनताका संस्था थिए । सर्वहाराका गुरु । विश्वका एकमात्र महान आत्मा । दोस्रो सहस्राब्दीका महानायक । महामानव । युगान्तकारी । महान चिन्तक । विश्वकै महान नेता । यस्ता महात्मा मार्क्स । अनि, तिनै मार्क्सका अनुयायी भनिने पोलपोट । छिः छिः छिः !
यातना ! घनले हान्न लगाई मार्ने ! गोली ठोकेर मार्ने ! आँखा, कान, नाक, कलेजो, टाउको, गुप्तांग नभएका लाश यत्रतत्र फाल्ने, पुर्ने, जलाउने । विरोधीका टाउका मिँडिने ! निश्रृंश/क्रूर हत्या गरिने । क्रूरताको पनि पराकाष्ठा ! निश्रृंशताको चरम चुली ! कहिले तड्पाई तड्पाई मार्ने, हत्या गर्ने, गाडीले किच्ने, नाक र कानमा तार घुसाउने, पेटमा किला ठोक्ने, आँखाको गेडी झिक्ने, स्तनको मुण्टो काट्ने । ओहो ! च्वःच्वःच्वः
टाउको र शरीरको छाला काढ्ने । ओठ, जिब्रो काट्ने । हात, खुट्टा र गर्धन छिनाल्ने, उमालेको पानीमा डुबाउने, पोखरीमा फाल्ने । ट्यांकले किचेर रगताम्मे पारी आन्द्रा समेत छताछुल्ला पारी हत्या गर्ने । किलै किलाको पिर्कामा थेचारेर दायाँ-बायाँ हात खुट्टा र गर्धन छिनाल्ने । अहो, कस्तो बर्बर थैली ! कस्तो वीभत्सता !
गरुड पुराणमा वर्णन गरिएको दण्डभन्दा पनि कठोर, क्रूरतम्, वीभत्स, दर्दनाक अमानवीयता । महान मार्क्सको मानवीय मूल्य, आदर्श र स्वतन्त्रताको मूल्यलाई गलहत्याउँदै आफ्नै कुत्सीत अभीप्सा पूर्ति गर्न ’साम्यवाद’ को रटना । असली साम्यवादी के यस्तै क्रूर हुनसक्छ ? के यस्तै तानाशाही कुकृत्य गर्नसक्छ असली साम्यवादीले ?
नेल्सन मण्डेलाको आदर्शका सहयात्रीहरू थुप्रै छन् विश्वमा । हाम्रै सन्दर्भको कुरा गरौं । मकैको खेतीका स्रष्टा सुब्बा कृष्णलाल अधिकारी, हाम्रा प्राणमा ’सुगन्ध’ भएर घुसेका शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दहरू, जिउँदा शहीद टंकप्रसाद र रामहरि शर्माहरू, आस्थाका अनवरत बन्दी मोहनचन्द्र अधिकारी र टेकनाथ रिजालहरू, निरंकुशताको विरुद्धमा प्राणोत्सर्ग गर्ने कप्तान यज्ञबहादुर थापा र दुर्गानन्द झाहरू, राम र लक्ष्मणहरू, लखन थापा र रम्तेलहरू, इच्छुकहरू, छिन्ताङ र पिस्कारका सपुत तथा दोरम्बाका सन्तानहरू, सबै सबैको तपस्या, त्याग, रगत र बलिदानले मुलुकको यो खाका निर्माण भएको छ । साम्यवादको नाममा पहिलेका शासकहरू कस्ता हुन्थे भन्ने मध्ये लेनिनकै कुरा पनि नगरौं–स्टालिन उत्तर पोलपोट र चीनको ग्यांग अफ फोरले प्रमाणित गरेकै छन् यसमा बोल्नै परेन ।
प्राध्यापक पुरुषोत्तम दाहालले त्यो बेला लेख्दा विश्व कम्युनिष्ट आन्दोलनका विकृतिहरू बारेमा लेखेका थिए । तर आजका सक्कली हुँ भन्ने नक्कली कम्युनिष्टहरूको बारेमा पनि कसैले अझ परिमार्जित कलम भएका पुरुषोत्तम जस्ता विद्वानहरूले लेखिदिए । हामी कति सुसूचित हुन सक्थ्यौं यस कामको प्रतीक्षामा म/हामीहरू छौं । समाप्त । (लेखक प्राडा.कोइराला समालोचक, साहित्यकार तथा साहित्यिक पत्रकारसमेत हुनुहुन्छ ।)







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच