काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ । शुक्रबार इभन-पार ६८ खेल्नुभएका उहाँले समग्रमा ६-अण्डर २६६ सहित उपाधि जित्नुभएको हो । उहाँले दिनेश प्रजापती र सञ्जय लामालाई चार स्ट्रोकले हराउँदै लगातार दोस्रोपटक उपाधि जित्नुभएको हो । उपाधिसँगै उहाँले एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । भुवनको यो करियरको १३औँ उपाधि हो ।
समग्रमा २-अण्डर २७० को स्कोरमा सञ्जय र दिनेशले संयुक्त रूपमा दोस्रो स्थान हात पार्नुभयो । सञ्जयले १-ओभर ६९ र दिनेशले ३-ओभर ७१ मा आजको खेल सक्नुभएको थियो । उहाँहरूले समान ९५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
समग्रमा १-अण्डर २७१ स्कोर जोड्नुभएका नेपाल नम्बर एक गल्फर निरज तामाङ, रवि खड्का र रामे मगरले संयुक्त रूपमा चौथो स्थान बाँड्नुभयो । निरजले १-ओभर ६९, रविले २-ओभर ७० र रामेले ३-ओभर ७१ को स्कोर कार्ड बनाउनुभयो । उहाँहरूलाई नगद ६३ हजार पुरस्कार वितरण गरिएको थियो ।
शुक्रबार ३-अण्डर ६५ को स्कोर निकाल्दै समग्रमा २-ओभर २७४ का साथ तोरणविक्रम शाहीले सातौँ स्थान हात पार्नुभयो । उहाँले ४७ हजार प्राप्त गर्नुभयो । इभन-पार ६८ खेल्नुभएका जयरामले समग्रमा ३-ओभर २७५ सहित आठौँ स्थानमा प्रतियोगिता सक्नुभयो । उहाँले ४१ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
यस्तै, पाँच-ओभर २७७ सहित भुवनकुमार रोक्का र टंकबहादुर कार्कीले नवौँ स्थान बाँड्नुभयो । भुवनले २-अण्डर ६६ र टंकले २-ओभर ७० मा अन्तिम दिनको खेल पूरा गर्नुभएको थियो । उहाँहरूले ३३ हजार ५०० नगद पुरस्कार प्राप्त गर्नुभयो ।
एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्माले स्वप्निल भट्टराईलाई आठ स्ट्रोकले हराउँदै उपाधि जित्नुभयो । शुक्रबार तीन-अण्डर ६५ खेल्नुभएका राहुलले समग्रमा इभन-पार २७२ स्कोर गर्नुभएको थियो । यस्तै, तीन-ओभर ७१ खेल्नुभएका स्वप्निलले समग्रमा आठ-ओभर २८० स्कोर जोड्नुभयो । समग्रमा ११-ओभर २८२ बनाउनुभएका महेन्द्र फगामी तेस्रो हुनुभयो । शुक्रबार उहाँले चार-ओभर ७२ को स्कोर दर्ज गर्नुभयो ।
अन्तिम १८ होलको खेलको सुरूवात गर्दा भुवन दिनेशभन्दा मात्र एक स्ट्रोकले अगाडि हुनुहुन्थ्यो । तर, अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा भुवनको जित सहज बन्यो । भुवनले फ्रन्ट र ब्याक नाइन इभन-पार ३४ मा सक्नुभयो । उहाँले पहिलो, चौथो र १७औँ होलमा बर्डी प्रहार गर्नुभएको थियो । छैटौँ, आठौँ र १८औँ होलमा एक-एक सट खेर फाल्नुभयो ।
सञ्जयले सातौँ होलमा बोगी प्रहार गर्दा बाँकी होलमा पार जोगाउँदै फ्रन्ट नाइन १-ओभर ३५ मा फ्रन्ट नाइन सक्नुभयो । यसपछि १३औँ होलको बर्डीका विरुद्ध १८औँ होलको बोगीले ब्याक नाइन इभन-पार ३४ खेल्नुभयो ।
दिनेशले पहिलो र छैटौँ होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३६ मा सक्नुभयो । यसपछि १०औँ, १३औँ र १५औँ होलमा एक-एक सट बचाउनुभयो । तर, यसपछि ११औँ, १२औँ, १४औँ र १६औँ होलमा बोगी खेप्नुभयो ।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान, नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपिजिए)का अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा ३४ जना व्यावसायिक तथा २१ जना एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका थिए । खेलाडीहरूले कुल आठ लाख ७५ हजार रुपैयाँका लागि प्रतिस्पर्धा गरेका थिए । शीर्ष १८ स्थानसम्म रहने खेलाडी नगद पुरस्कारको हकदार बनेका हुन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच