काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व क्रिकेटकै सबैभन्दा प्रतिक्षित र रोमाञ्चक प्रतिस्पर्धा मानिने भारत-पाकिस्तान खेल आज (आइतबार) हुँदैछ । समूह चरणअन्तर्गत हुने यो बहुचर्चित भिडन्त श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ सबा ७ बजे सुरु हुनेछ । भारतीय सञ्चार माध्यमहरूले यस खेललाई ब्लकबस्टर क्लासिकका रूपमा चित्रित गरेका छन् ।
विश्वभरका समर्थकको नजर यही खेलमा केन्द्रित रहेकाले रंगशालासहित प्रसारण बजारमा समेत उच्च उत्साह देखिएको जनाइएको छ । टिकटहरू अग्रिम रूपमा नै बिक्री भइसकेका छन् भने रंगशालामा विद्युत्मय वातावरण रहने अपेक्षा गरिएको छ ।
समूह चरणमा दुवै टोली राम्रो लयमा छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार, भारत र पाकिस्तान दुवैले सुरुवाती खेलहरू जित्दै आत्मविश्वासका साथ मैदान उत्रँदैछन् । भारत अंकतालिकाको शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो स्थानमा रहेको छ । भारतका लागि यो खेल समूह बर्चस्व कायम राख्ने अवसर हो भने पाकिस्तानका लागि शीर्ष स्थान खोस्ने मौका पनि हो । त्यसैले दुवै टोली आक्रामक रणनीतिसहित मैदान उत्रिने अपेक्षा गरिएको छ ।
खेलअघि दुवै टोलीले छुट्टाछुट्टै अभ्यास सत्र सञ्चालन गरेका छन् । पाकिस्तानले दिउँसो र भारतले साँझ रंगशालामै अभ्यास गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को तालिकालाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । खेलअघि दुवै टोलीले पत्रकार सम्मेलनमार्फत् पनि तयारीबारे धारणा सार्वजनिक गरेका थिए ।
यद्यपि खेलअघि मौसमले केही चिन्ता थपेको छ । भारतीय समाचार रिपोर्टहरूका अनुसार, कोलम्बोमा वर्षाको सम्भावना देखिएकाले खेल प्रभावित हुन सक्ने आँकलन गरिएको छ । विशेषगरी साँझतिर वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक भएपछि आयोजक र समर्थक दुवै पक्ष मौसमतर्फ चनाखो बनेका छन् ।
पिच रिपोर्टअनुसार, कोलम्बोको विकेट बलरमैत्री हुन सक्ने बताइएको छ । सुरुवाती ओभरमा तीव्र गतिका बलर र स्पिनर दुवैले फाइदा लिन सक्ने विश्लेषण भारतीय क्रिकेट विज्ञहरूले गरेका छन् । त्यसैले ठूलो स्कोरभन्दा प्रतिस्पर्धात्मक मध्यम योगफल खेलको निर्णायक आधार बन्न सक्ने अनुमान छ । भारत-पाकिस्तान भिडन्तलाई केवल खेलमात्र नभई भावनात्मक, राजनीतिक र ऐतिहासिक प्रतिद्वन्द्वितासँग जोडेर हेरिन्छ ।
यही कारण यो खेल विश्वकपकै सबैभन्दा धेरै हेरिने र चर्चित खेलमध्ये पर्छ । समर्थक, पूर्वखेलाडी र विश्लेषकहरूका लागि पनि यो खेल फाइनल सरह महत्व बोकेको मानिन्छ । समूह चरणकै भए पनि आजको खेलले दुवै टोलीको सेमिफाइनल यात्रामा मनोवैज्ञानिक प्रभाव पार्ने निश्चित छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच