काठमाडौं । लगातार दुई हारपछि दबाबमा रहेको नेपाल आज (आइतबार) तेस्रो खेलमा दुईपटकको विश्व च्याम्पियन वेष्ट इण्डिजसँग भिड्दै छ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको यो महत्वपूर्ण खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सबा ११ बजे सुरु हुनेछ । यही मैदान नेपालका लागि स्मरणीय र पीडादायी दुवै बनेको छ । उत्कृष्ट प्रदर्शनका बाबजुद पहिलो खेल गुमाएको र दोस्रो खेलमा निराशाजनक हार बेहोरेको स्थल यही हो ।
नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ । सुरुवाती खेलमा इंग्ल्याण्डविरुद्ध साहसिक प्रदर्शन गरे पनि अन्तिम ओभरमा फिनिसिङमा चुक्दा ४ रनले हार बेहोर्नुपरेको थियो । इंग्ल्याण्डविरुद्ध जित नजिक पुगेर पनि खेल गुमाएको नेपालले दोस्रो खेलमा भने निराशाजनक प्रदर्शन गर्यो । तुलनात्मक रूपमा कमजोर मानिएको इटालीसँग १० विकेटको फराकिलो हार बेहोरेपछि नेपालको सुपर-८ सम्भावना जटिलमात्र होइन, गणितीय हिसाबमा सीमित बनेको छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा कमजोर देखिएको नेपालले १२३ रनको सामान्य लक्ष्य दिएको थियो, जुन इटालीले बिनाविकेट गुमाई सहजै पूरा गर्यो ।
आजको खेल नेपालका लागि ‘गर या मर’ सरह छ । यदि नेपाल पराजित भयो भने सुपर-८ पुग्ने ढोका औपचारिक रूपमा बन्द हुनेछ । त्यसैले आजको खेल केवल अंकका लागिमात्र होइन प्रतिष्ठा, मनोबल र प्रतियोगितामा जीवन्तता कायम राख्ने अवसर पनि हो । समूह ‘सी’ मा वेष्ट इण्डिज लगातार दुई जितसहित शीर्ष स्थानमा छ र सुपर-८ नजिक पुगिसकेको छ । आज जित निकालेमा उसको स्थान लगभग सुनिश्चित हुनेछ । त्यसैले वेष्ट इण्डिज पनि तेस्रो जित निकाल्ने दाउमा आक्रामक रणनीतिसहित मैदान उत्रिने अपेक्षा छ ।
यद्यपि कागजी रूपमा वेष्ट इण्डिज बलियो देखिए पनि नेपालसँग सकारात्मक सम्झना पनि छ । यसअघि युएईमा भएको द्विपक्षीय टी-२० सिरिजमा नेपालले वेष्ट इण्डिजविरुद्ध ऐतिहासिक सिरिज जित निकालेको थियो । उक्त सिरिजले नेपाली टोलीलाई ठूला टिम पनि हराउन सकिन्छ भन्ने विश्वास दिएको थियो । त्यो सफलता आजको खेलअघि मनोवैज्ञानिक रूपमा महत्वपूर्ण हुन सक्छ ।
नेपालको सबैभन्दा ठूलो समस्या फिनिसिङ र स्थिरता देखिएको छ । इंग्ल्याण्डविरुद्ध अन्तिम ओभरमा १० रन बनाउन नसक्नु र इटालीविरुद्ध मध्यक्रम ध्वस्त हुनु महँगो साबित भयो । बलिङमा पनि सानो लक्ष्य जोगाउन नसक्ने कमजोरी देखिएको छ । हाल नेपालको नेट रनरेट समूहकै सबैभन्दा कमजोर भएकाले केवल जित पर्याप्त हुनेछैन, ठूलो अन्तरको जित आवश्यक पर्नेछ । यदि पहिले ब्याटिङ गरेमा प्रतिस्पर्धीलाई न्यून स्कोरमा रोक्नुपर्नेछ र लक्ष्य पछ्याउँदा छिटो पूरा गर्नुपर्ने दबाब रहनेछ ।
मुम्बईमा नेपाली समर्थकको उपस्थितिले हरेक खेल घरेलु वातावरणजस्तै बनेको छ । इंग्ल्याण्डविरुद्ध रंगशाला नै नेपाल-नेपालले गुञ्जिएको दृश्यले विश्व क्रिकेटको ध्यान तानेको थियो । त्यसैले समर्थकको अपेक्षा केवल जितमात्र होइन, प्रतिस्पर्धात्मक, गर्व गर्नलायक प्रदर्शन पनि हो ।
समीकरण जटिल भए पनि अवसर पूर्ण रूपमा समाप्त भएको छैन । यदि नेपालले आज वेष्ट इण्डिजलाई हरायो भने प्रतियोगिताको रोमाञ्चकता फेरि जीवित हुनेछ । त्यसपछि स्कटल्याण्डविरुद्धको अन्तिम खेल निर्णायक बन्नेछ ।
नेपाललाई हल्का रूपमा लिँदैनौं : अकिल होसेन
वेष्ट इण्डिजका स्पिन बलर अकिल होसेनले आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाललाई हल्का रूपमा नलिने बताउनुभएको छ । समूह ‘सी’ अन्तर्गत वेष्ट इण्डिज र नेपालबीच हुने खेलअघि शनिबार भएको प्रि-म्याच प्रेस कन्फरेन्समा होसेनले नेपाली टिमको क्षमताबारे जानकार रहेको र यो खेललाई विश्वकपको अर्को एक खेलका रूपमा नै लिने बताउनुभयो । ‘नेपालको क्षमता के हो र नेपालले के गर्न सक्छ भन्नेबारे हामी राम्रोसँग जानकार छौं,’ गत सेप्टेम्बरमा शारजाहमा भएको टी-२० अन्तर्राष्ट्रिय सिरिज र अहिले टी-२० विश्वकप खेलिरहेको नेपाली टिमबीचको फरकबारे सोधिएको प्रश्नमा होसेनले भन्नुभयो । उहाँले नेपालले गुमाउनुपर्ने केही नरहेको पनि बताउनुभयो ।
गत सेप्टेम्बरमा युएईको शारजहामा भएको युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले वेष्ट इण्डिजमाथि दुई-एकको जित हात पारेको थियो । सुरुवाती दुवै खेल जितेको नेपालले एक खेलअगावै सिरिज आफ्नो पक्षमा पारेको थियो भने तेस्रो खेलमा वेष्ट इण्डिज १० विकेटले विजयी भएको थियो ।
‘नेपाली टोली एकसाथ धेरै खेलहरू खेलेको एउटा राम्रो टोलीका रूपमा छन् । हो, उनीहरूले हामीलाई शारजाहमा हराएका थिए, तर त्यतिबेला हाम्रा धेरै सिनियर खेलाडीहरू त्यहाँ थिएनन् ।’ होसेनले भन्नुभयो ।
त्यसबेला होसेनले नै वेष्ट इण्डिजको कप्तानी गर्नुभएको थियो । टिमका सिनियर खेलाडीहरू अन्य सिरिजमा व्यस्त रहेकाले होसेनले टिमको कप्तानी गर्नुभएको थियो । त्यसबेला वेष्ट इण्डिजबाट खेल्नुभएका होसेन र जेसन होल्डरमात्र अहिले विश्वकप खेलिरहेको वेष्ट इण्डिज टिममा हुनुहुन्छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच