काठमाडौं । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले जंगली रातो बाँदर (म्याकाका मुलाटा) लाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्णय गरेको हो ।
राजपत्रको भाग ५ मा नेपाल राज्यभित्रका निजी खेत, खला तथा बारीमा आउने जंगली रातो बाँदरले बालीनाली तथा धनजनमा क्षति पुर्याउने अवस्था देखिएकाले यस्तो घोषणा गरिएको उल्लेख छ । उक्त सूचनामा प्रकाशित भएको मितिबाट एक वर्षसम्मका लागि किसानलाई निश्चित शर्तको अधिनमा रही बिनाअनुज्ञापत्र बाँदर धपाउन, लखेट्न वा पक्रन पाउने व्यवस्था गरिएको छ । जंगली रातो बाँदरले किसानको खेतबारीमा क्षति पुर्याएमा किसान एक्लैले वा सामूहिक रूपमा बाँदर धपाउन, लखेट्न वा पक्रन सक्नेछन् ।
पक्रिएको अवस्थामा भने सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालय वा मातहत नजिकको कार्यालयमा बुझाउनुपर्नेछ भने सोबारे सम्बन्धित स्थानीय तहको वडा कार्यालयलाई समेत जानकारी दिनुपर्नेछ । धपाउने, लखेट्ने वा पक्रने क्रममा बाँदरको मृत्यु भएमा सम्बन्धित वडाका एक जना प्रतिनिधिसहित कम्तीमा पाँच जना स्थानीयको रोहवरमा मुचुल्का खडा गरी गाड्नुपर्नेछ भने त्यसको जानकारी सम्बन्धित निकाय र वडा कार्यालयलाई दिनुपर्नेछ ।
मारिएका बाँदरको विवरण सम्बन्धित निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा डिभिजन वन कार्यालयले प्रत्येक दुई महिनामा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा सम्बन्धित प्रदेश सरकारको मन्त्रालय र प्रदेश वन निर्देशनालयमा पठाउनुपर्नेछ तर राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा भने जंगली रातो बाँदर धपाउन, लखेट्न वा पक्रन नपाइने राजपत्रमा उल्लेख छ । बाँदर नियन्त्रणमा समस्या हुँदा किसानहरू कृषिबाटै पलायन हुनेक्रम बढिरहेको भन्दै किसान संगठनहरूले बाँदर नियन्त्रणका लागि सरकारलाई दबाब दिँदै आएका थिए ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच