काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजसँग महत्त्वपूर्ण समूह चरणको खेल खेल्दैछ। खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित प्रतिष्ठित वनखेडे स्टेडियममा सुरु हुनेछ ।
समूह ‘सी’ मा रहेको नेपाल हालसम्म अंकविहीन छ। दुई खेल खेलेको नेपालले एक खेलमा झिनो हार र अर्को खेलमा कमजोर प्रदर्शन व्यहोरेको छ। पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले मात्र लक्ष्य चुक्यो। दोस्रो खेलमा भने इटालीसँग १० विकेटको पराजयले नेपाललाई झट्का दिएको थियो ।
आजको खेलमा नेपाल पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। सुधारिएको ब्याटिङ र बलिङ प्रदर्शन देखाएर अंक तालिकामा खाता खोल्ने नेपालका लागि यो खेल निर्णायक हुने अपेक्षा गरिएको छ । उता, चार अंकसहित समूहको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिज भने तेस्रो जित निकाल्दै सुपर आठमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा नेपालले समूह चरणका चार खेल भारतमै खेल्दैछ। नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको थियो भने दोस्रोपटक विश्वकप खेल्न १० वर्ष कुर्नुपरेको थियो। सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको उत्कृष्ट प्रदर्शनले नेपाललाई विश्व क्रिकेटको केन्द्रमा ल्याएको थियो ।
यसअघि खेलेका दुई विश्वकपमा नेपाल समूह चरणभन्दा माथि जान नसकेको इतिहास छ। रोहितकुमार पौडेलको कप्तानीमा नेपाल लगातार अर्को विश्वकपमा सहभागिता जनाइरहेको छ । समूह ‘सी’ मा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विश्व विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् ।
नेपालले फागुन ५ गते स्कटल्यान्डसँग समूह चरणको अन्तिम खेल खेल्नेछ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच