हेटौंडा । हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मकवानपुरका सबै १०२ वडामा एकसाथ मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बदर मतको संख्या घटाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।
निर्वाचन कार्यालयले प्रत्येक पालिकाबाट एक-एक जना अनुगमनकर्तालाई तालिम प्रदान गरेको छ । ती अनुगमनकर्तामार्फत प्रत्येक वडामा एक-एक जना स्वयंसेवक परिचालन गरी घरदैलोमै पुगेर मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका र निर्वाचनको महत्वबारे जानकारी दिइँदैछ।
कार्यक्रम अन्तर्गत बालविकास सहजकर्ता तथा महिला स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवकका रूपमा खटाइएको छ। उनीहरूले नमूना मतपत्र प्रयोग गरेर सही तरिकाले मतदान गर्ने विधिबारे व्यवहारिक अभ्यास गराउनेछन् । कार्यक्रमको अनुगमन तालिमप्राप्त अनुगमनकर्ताले गर्ने जनाइएको छ ।
निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान प्रक्रियालाई सरल र सहज बनाउँदै बदर मतको अनुपात घटाउने लक्ष्यसहित १७ गतेसम्म अभियान सञ्चालन हुनेछ । मतदाता शिक्षाबाट मतदाताको सहभागिता दर वृद्धि हुनुका साथै सचेत मतदान संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ ।
गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ४.४६ प्रतिशत मत बदर भएको थियो । जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ मतदाता र क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । कुल ३ लाख १५ हजार ३३४ मतदातामध्ये १ लाख ५३ हजार ३७६ महिला तथा ५ जना अन्य लिङ्गका मतदाता रहेका छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच