बारा । हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिको अवसरमा बाराको सदरमुकाम कलैया स्थित सिद्धेश्वरनाथ महादेव मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको भीड लागेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यस मन्दिरमा हरेक वर्ष झैँ यस वर्ष पनि विशेष मेला लागेको छ ।
बिहानै देखि नै जल अर्पण तथा पूजाअर्चनाका लागि श्रद्धालुहरु लामबद्ध लाग्नु भएको थियो । कतिपय भक्तजनहरु रातिदेखि नै लाइनमा बस्नु भएको थियो भने केहीले ब्रत बसेर भगवान शिवको अराधना गर्नु भएको छ । मन्दिर परिसर ‘बोल बम’ र ‘हर हर महादेव’ को नाराले गुन्जायमान बनेको थियो ।
भीड व्यवस्थापनका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा प्रबन्ध मिलाएको सिद्धेश्वरनाथ महादेव मन्दिरका पुजारी तथा सिद्धेश्वर संस्कृत विद्यालयका प्रधानाध्यापक छविरमण सुवेदीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाराले अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्नुका साथै सीसीटीभी निगरानी, स्वयंसेवक परिचालन तथा प्राथमिक उपचारको व्यवस्था गरिएको सुवेदीले जानकारी दिनुभयो । भीडलाई व्यवस्थित गर्न पालैपालो दर्शन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
मेला भर्न आएका भक्तजनका कारण स्थानीय व्यापार व्यवसायमा समेत चहलपहल बढेको छ सुवेदीले भन्नुभयाे,‘ पूजासामग्री, फूलमाला, प्रसाद, मिठाइ तथा खेलौनाका अस्थायी पसलहरु सञ्चालनमा आएका छन् । होटल तथा यातायात व्यवसायीहरु पनि लाभान्वित भएका छन् ।’
ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रको रुपमा परिचित सिद्धेश्वरनाथ महादेव मन्दिरमा वर्षभरि नै दर्शनार्थी आउने गर्छन् । विशेष गरी महाशिवरात्रि, श्रावण महिनाको सोमबार र तीज पर्वमा यहाँ ठूलो भीड लाग्ने गर्दछ । मन्दिरको संरक्षण र पूर्वाधार विकासका लागि स्थानीय तहले विभिन्न योजना अघि बढाएको सुवेदीले बताउनुभयो ।
महाशिवरात्रि पर्वले धार्मिक आस्था मात्र होइन, सामाजिक सद्भाव र आर्थिक गतिविधिलाई समेत टेवा पुर्याएको स्थानीय बासिन्दाहरुको भनाइ छ । श्रद्धा, भक्ति र उत्साहका बीच यस वर्षको महाशिवरात्रि कलैयामा भव्य रुपमा मनाइँदै छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच