काठमाडौं । पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता विश्वबन्धु थापाको निधन भएको छ । थापाको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ९८ वर्षको उमेरमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार करिब एक महिनाअघि उहाँलाई स्ट्रोक भएको थियो । उपचारपछि केही सुधार भएकाले घर फर्कनुभयो । पुनः स्वास्थ्यमा समस्या देखिएकाले अस्पताल भर्ना गरिएको उहाँको उपचारकै क्रममा निधन भएको हो ।
उहाँ तत्कालीन राजा महेन्द्रले वि.सं २०१७ साल पुस १ मा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री हुनुभएको थियो । २००७ देखि पछिल्लो समयको राजनीतिक घटनाक्रमका साक्षी रहनुभएका थापा विसं. ०२० सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष हुनुभएको थियो ।
२०१५ सालको आमनिर्वाचनमा उहाँ कांग्रेसबाट सांसद निर्वाचित हुनुभएको थियो । उहाँ त्यसवेला संसदमा कांग्रेसका प्रमुख सचेतक हुनुहुन्थ्यो जतिवेला बिपी कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । थापाले कांग्रेसबाट राजनीतिक करिअर सुरु गर्नुभएको थियो ।
थापाको आइतबार पशुपति आर्यघाटनमा दाहसंस्कार गरिएको छ । यसअघि उहाँको पार्थिव शरीरलाई काठमाडौंको गैह्रीधारास्थित निजी निवासमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
थापाको निधनप्रति राजनीतिक दलका नेताहरू, शुभेच्छुक तथा समर्थकहरूले दुःख व्यक्त गरेका छन् । नेपाली राजनीतिमा उहाँको योगदान, वैचारिक अडान र स्पष्ट अभिव्यक्तिका कारण उहाँ विशिष्ट पहिचान बनाएका नेता मानिनुहुन्थ्यो । उहाँको निधनसँगै मुलुकले एक अनुभवी र स्पष्ट वक्ता राजनीतिज्ञ गुमाएको राजनीतिक वृत्तमा चर्चा गरिएको छ । उहाँका दुई छोरी र दुई छोरा हुनुहुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच