सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना इन्जिनियरको हत्या भएको छ। मलंगवा नगरपालिका–१० देबिटोलमा डेरा गरी बस्दै आएका ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवमाथि शुक्रबार राति करिब ८ बजेतिर गोली प्रहार गरिएको हो ।
पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा घर भएका यादवलाई अज्ञात व्यक्तिले फोन गरेर डेरा बाहिर बोलाएको र त्यसपछि नजिकैबाट छातीमा गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया का अनुसार घटनापछि मलंगवा क्षेत्रको चारैतर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । साथै नेपाल–भारत सीमा क्षेत्रमा पनि उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सर्लाही प्रहरीका सूचना अधिकारी एवं डीएसपी सरोज राईका अनुसार हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ । घटनापछि सदरमुकाम मलंगवा क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ ।
मृतक यादवको शव हाल प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ भने घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच