काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले संस्थालाई प्रविधिमैत्री, सरल, सक्षम र भविष्य उन्मुख बनाउने दीर्घकालीन रणनीतिअनुसार ‘एनइए एई साथी’ प्रणाली (एप) प्रयोगमा ल्याउने भएको हो । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका रूपमा मात्र नभई संस्थागत साथीका रूपमा आत्मसात गर्ने नवीन अवधारणासहित ‘एनइए एई साथी’ प्रणाली (एप) प्रयोगमा ल्याउन लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले एआई प्रवर्द्धनको उद्देश्यसाथ ‘ह्याकाथन इभेन्ट-२०८२’ समेत आयोजना गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भन्नुभयो, ‘एआईलाई जटिल र टाढाको प्रविधि होइन, आवश्यक परेका बेला सम्झिने र सहयोग लिने साथी बनाउनुपर्छ भन्ने सोचसाथ यो कार्यक्रम अघि बढाएका हौं, ‘एई साथी’ नाम आफैंमा एक आकर्षक र जनमैत्री अवधारणा हो । यसले प्रविधिलाई जटिल नभई आत्मीय, सहज र प्रयोगमैत्री रूपमा प्रस्तुत गर्ने लक्ष्य हामीले राखेका छौँ ।’
सेवाग्राहीले ‘एई साथी’ भनी बोलाउने र ग्राहकलाई आवश्यक पर्ने विभिन्न जानकारी तथा सहयोगका लागि प्रयोग गर्ने संस्कार क्रमशः विकास हुँदै जाने विश्वास प्राधिकरणले लिएको पनि उहाँले बताउनुभयो । एआईलाई संस्थागत रूपमा आत्मसात गर्ने उद्देश्यले सुरु गरिएको ‘ह्याकाथन’ मा संस्थाभित्रकै कर्मचारीबाट २७ वटा प्रस्तावका विषयमा प्रस्तुत भएको र ती प्रस्ताव ग्राहक सेवा सुधार, प्रशासनिक कार्यप्रवाह सरलीकरण, डेटा विश्लेषण, नीतिगत तथा कानुनी सहजीकरणलगायतका विषयमा केन्द्रित रहेको प्राधिकरणले जनाएको छ ।
‘ह्याकाथन’ मार्फत् प्राप्त प्रस्ताव प्रस्तुतीकरणपछि विस्तृत मूल्यांकन गरिने र मूल्यांकन प्रक्रियाबाट उत्कृष्ट तथा व्यावहारिक अवधारणा छनोट गरी क्रमशः कार्यान्वयनमा लगिने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले दीर्घकालीन रणनीतिसाथ ‘एई साथी’ को अवधारणा विकास गरिएको भन्दै उक्त पहललाई संस्थागत नवप्रवर्तन, डिजिटल रूपान्तरण तथा सेवा सुधारतर्फको महत्वपूर्ण सुरुवातका रूपमा अघि बढाएको जनाएको छ । प्राधिकरणका अनुसार, ‘एई साथी’ प्रणालीलाई प्राधिकरणले प्रारम्भिक चरणमा ग्राहक सेवा र सूचना प्रवाहमा केन्द्रित गर्ने र विस्तारै प्राविधिक विश्लेषण, लोड व्यवस्थापन, पूर्वानुमान र डेटा–आधारित निर्णय प्रक्रियासम्म विस्तार गर्ने योजना बनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर