करिब असी वर्षयताको राजनीतिमा कुनै न कुनै रूपले योगदान दिनुभएका परिपक्व राजनीतिकर्मीहरू अब थोरै अवशिष्ट रहनुभएको छ । केही दिन पहिलेसम्म राजनीतिको धारबारे विमर्श गरिरहनु भएका विश्वबन्धु थापाको पार्थिव अवशान भयो । उहाँको पार्थिव अवशानलाई यो पुस्ताको उपान्त्य अवशानभन्दा उचित होला । करिब ९८ वर्षकै वयमा हुनुहुन्छ स्वतन्त्रता सेनानी, लोकतान्त्रिक योद्धा योगप्रसाद उपाध्याय । हामी उहाँको अझै स्वस्थ, प्रसन्न र दीर्घजीवनको कामना गर्दछौं ।
विश्वबन्धु थापा समकालीन राजनीतिमा उदाएको, समकालीन राजनीतिलाई राम्ररी बुझेको तर समकालीन राजनीतिक परिवर्तनलाई पूर्णतः स्वीकार गर्न असमर्थ व्यक्तित्वको नाम मानिनुहुन्छ । राणाशासनको अन्त्यका लागि नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र आन्दोलनको एक मुख्य योद्धा थापाले ०१७ बाट आफूलाई पृथक परिचयमा प्रस्तुत गर्नुभयो । नेपाली कांग्रेसको वैचारिक नायक बीपी कोइरालाको अत्यन्त निकट थापालाई राजा महेन्द्रले आफ्ना पक्षमा पारेको देख्दा बीपीमा कति पीडा भयो होला ? अनुमानमात्र गर्न सकिन्छ । राणाशासन अन्त्य गरी नवीन नेपालको निर्माणमा अनेक युवाहरूको श्रम, वय, योग्यता, अनुभव र कतिपयको त जीवन नै समर्पित भएको थियो । नवीन नेपालको अर्थ राज्य प्रणाली, शासकीय परिवर्तन र विकासका सन्दर्भमा बुझ्नुपर्ने हुन्छ । हुन त ००७ को परिवर्तनका योद्धाहरूको ठूलो पंक्तिले आफूलाई निरन्तर लोकतन्त्रका पक्षमा उपस्थित गराउन सकेन ।
समयको चाप अर्कै थियो होला । कतिपय व्यक्तिहरूले आफ्ना निजी समस्याका कारण, कतिपयले महत्वाकांक्षाका कारण, कतिपयले निरन्तर जेलनेल यातनाको पीडाका कारण, कतिपयले आर्थिक समस्याका कारण उनीहरू लोकतान्त्रिक आन्दोलनमा टिक्न सकेनन् होला । त्यसरी नटिक्नेमध्येमा विश्वबन्धु थापा पनि पर्नुहुन्छ । तर लोकतन्त्रमा विश्वास गर्ने कतिपय मानिसहरूभन्दा उहाँ अब्बल राजनीतिकर्मी, विचारशील र शुद्ध आचरणको व्यक्तित्व भएर जीवनभर रहनुभयो । गतवर्ष यस्तै राजनीतिकर्मी अच्युतराज रेग्मीको पार्थिव अवशान भएको थियो भने कमलराज रेग्मी पनि त्यही कोटिमा पर्नु भएको विगत छ । नब्बे वर्ष पूरा भएर पनि राजनीतिको विश्लेषण गर्नु नयाँ सम्भावनाहरूको खोजिगर्नु, देश र जनताको चिन्ता गर्नु आफैंमा एक विशिष्ट गुण हो र योगदान पनि । विश्वबन्धु थापा आफ्नो ९८ वर्षको उमेरसम्म नै विचार विश्लेषण गरिरहनु भएको थियो । आफ्नो जीवनको अन्तिम समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएर पार्टीलाई विचार प्रवाह गरिरहनु भएको थियो ।
०१५ सालको पहिलो संसदीय निर्वाचनमा विजयी थापा प्रमुख सचेतक भएर कांग्रेसमा सक्रिय हुनुहुन्थ्यो । अत्यन्त स्पष्ट वाक्कला, तर्क, सचेतता आदिका कारण बीपीले उहाँलाई पत्याउनुभएको हुनुपर्छ । राजा महेन्द्रले ०१७ मा सेनाको सहयोगमा संविधान खारेजी, संसद् विघटन, सरकारमा बस्नेहरूलाई जेल, राजनीतिक दलमाथि प्रतिबन्ध र नेताहरूलाई गिरफ्तार गरेको घटना सामान्य थिएन । राजाले गरेको यो नागरिक अधिकार र लोकतन्त्रविरोधी कदमप्रति नेपाली कांग्रेसका चर्चित दुईजना नेताहरू डा.तुलसी गिरि र विश्वबन्धु थापाको सहयोग रहेको धेरैको विश्वास छ । त्यस समयको घटना र अवस्थाले समेत यसलाई पुष्टि गरिरहेका छन् । तर पनि चुरोमा प्रजातन्त्रको केही न केही गुण विश्वबन्धुमा रहेको पाइन्थ्यो ।
विसं २०३६ सालमा विद्यार्थी आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण राजा वीरेन्द्रले निर्दलीय पञ्चायतलाई सुधार गर्ने कि बहुदलीय शासन व्यवस्था रोज्ने भन्ने प्रश्नसहित जनमत संग्रहको घोषणा गर्नुभएपछि विश्वबन्धु बहुदलका पक्षमा उभिन पुग्नुभयो । उहाँसहित श्रीभद्र शर्मा, रवीन्द्रनाथ शर्माहरूले राजाबाट सिधै बहुदलको घोषणा गर्नुपर्ने माग गर्नुभएको थियो । उहाँहरूका विचारमा जनमतसंग्रहले समस्याको स्थायी समाधान नदिने, केही समयका लागि विवाद टुंग्याए पनि त्यो स्थायी नहुने र समस्या बल्झिने हुनाले राजा आफैंले बहुदलको घोषणा गर्नु उचित हुने तर्क गर्नुभएको थियो । यो संभव भएन र जनमत संग्रह भयो, निर्दल पक्षले जित्यो । तर उहाँहरूले भन्नु भएजस्तै समस्या यथावत् रहेपछि ०४६ मा आन्दोलनले निर्दलीय पञ्चायतको मौलो ढालेको हो । यदि ०३६ मा नै राजाले बहुदलीय पद्धतिको घोषणा गरेको भए नेपालको लोकतान्त्रिक पद्धति, लोकतान्त्रिक संस्कृति र विकासको राजमार्ग सही दिशातर्फ जानसक्ने थियो होला । किनभने त्यस समय बीपी कोइराला सक्रिय हुनुहुन्थ्यो, टंकप्रसाद आचार्यदेखि केआई सिंहसम्म सबै सक्रिय हुनुहुन्थ्यो ।
कांग्रेसका मूर्धन्य नेताहरू सबैले लोकतान्त्रिक प्रक्रियामा आफ्नो पूर्वअनुभव अनुरूप योगदान गर्ने वातावरण बन्नसक्ने थियो । समय घर्केपछिको परिवर्तनमा पुराना नेताहरूले चाहेर पनि योगदान गर्न सक्नुभएन । पछिल्लो पुस्ताको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा लोकतन्त्रको मार्ग सहज हुनसकेन । त्यसपछिका नेताहरूको त कुरा गर्नु नै अर्थहीन हुन्छ । बीचमा थोरै दिन कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र पछिल्लो चरणमा सुशील कोइरालाको नाम नेतृत्व चर्चाका सन्दर्भमा महत्वकासाथ लिनुपर्ने हुन्छ । अन्यथा अरू कोही पनि लोकतन्त्रको आचरण, मर्यादा र संस्कृतिलाई जीवन्त राख्न समर्थ भएको देखिएन ।
०३६ सालमा विश्वबन्धु थापा गाउँफर्क राष्ट्रिय अभियानको अध्यक्ष हुनुहुन्थ्यो । जनमतसंग्रहको घोषणा भएको थियो, तैपनि पञ्चहरू कांग्रेस भनेपछि तर्सिने गर्थे । बीपी कोइराला जयबागेश्वरीस्थित तारिणीप्रसाद कोइरालाको घरमा बस्नुभएको अवस्था थियो । विजया दशमीको दिन थापा झण्डा हल्लाउँदै जयबागेश्वरी पुग्नु भयो र बीपीको हातको टीका लागउनुभयो । यो घटनाले निर्दलवादीहरूमा भयानक कम्पन पैदा भयो र उहाँको तीव्र विरोध सुरु भएपछि पदबाट राजीनामा दिनु भएर नेपाली कांग्रेसमा आबद्ध हुनुभयो । तर त्यहाँ पनि टिक्ने अवस्था भएन । पाल्पामा भएको कुनै कार्यक्रममा सहभागी हुनुभएका थापालाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले हुटिङ गर्दै खेदेपछि उहाँ त्यसपछि कहिल्यै पनि कांग्रेसमा आबद्ध हुनुभएन ।
०४६ पछिका दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर उहाँको योगदान रह्यो । यद्यपि थापा स्वयं गृहमन्त्री भएको समय ०१७ पुस २२ गते नै नेपालमा राजनीतिक दलहरूमाथि प्रतिबन्ध लागेको थियो । जे भए पनि अनेक उतारचढाब भोग्दै, अस्थिरता र स्थायित्वका अनुभव बटुल्दै दीर्घजीवन बाँच्नुभएका विश्बन्धु थापाको देहावशान भएको छ । दिवंगत थापाप्रति हार्दिक श्रद्धाञ्जलि ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच