काठमाडौं । सरकारले अब पात्रो (पञ्चांग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन तथा वितरण गर्नुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व-स्वीकृतिबिना कुनै प्रकारका पात्रो तथा क्यालेण्डर प्रकाशन र वितरण गर्न नपाइने स्पष्ट पारेको हो । समिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत क्रियाशील निकाय हो ।
समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार गठन आदेश–२०७९ तथा आन्तरिक व्यवस्थापन निर्देशिका-२०७९ बमोजिम व्यक्ति, संघ-संस्था, प्रकाशक तथा वितरकले पात्रो (पात्रो/पञ्चांग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्नुअघि अनिवार्य रूपमा समितिबाट स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । पछिल्लो समय बजारमा पूर्वस्वीकृतिबिना प्रकाशन तथा वितरण भइरहेका सामग्रीको संख्या बढेपछि उक्त व्यवस्था कार्यान्वयनमा कडाइ गरिएको उहाँले जानकारी दिनुभयो ।
त्रुटिपूर्ण विवरणले सर्वसाधारणमा अन्योल
समितिका अनुसार हाल बजारमा पाइने कतिपय पात्रो तथा क्यालेण्डरमा तिथि, मिति, सार्वजनिक बिदा, पर्व-उत्सव, ग्रह-नक्षत्र लगायतका विवरणमा त्रुटि भेटिएको छ । यस्ता त्रुटिका कारण सर्वसाधारणमा अन्योल सिर्जना हुनुका साथै धार्मिक, सांस्कृतिक तथा प्रशासनिक कामकाजमा समेत असर पर्ने गरेको जनाइएको छ । ‘पात्रो केवल मिति हेर्ने साधन मात्र नभई हाम्रो धार्मिक र सांस्कृतिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो’, कार्यकारी निर्देशक पन्थीले भन्नुभयो, ‘त्यसैले आधिकारिक र प्रमाणित विवरणसहितको पात्रो प्रकाशन हुन आवश्यक छ ।’
अनुगमनका लागि समिति गठन
पूर्वस्वीकृति लिए/नलिएको बारेमा अनुगमन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा छुट्टै अनुगमन समिति गठन गरिएको छ । उक्त समितिलाई पूर्वस्वीकृतिबिना प्रकाशित तथा वितरण गरिएका पात्रो र क्यालेण्डर जफत गर्ने तथा आवश्यक कारबाहीका लागि सिफारिश गर्ने अधिकार प्रदान गरिएको जनाइएको छ । समितिले स्वीकृतिबिना प्रकाशित सामग्री बजारमा फेला परेमा कानुनअनुसार जफत गरिने र सम्बन्धित प्रकाशक तथा वितरकमाथि कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयसँग सहकार्य
भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा समितिसँग पूर्वस्वीकृति लिन सरोकारवाला सबैलाई निर्देशन दिँदै समितिले उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभरका जिल्ला प्रशासन कार्यालयसँग सहकार्य र सहयोगको अपेक्षा गरेको छ । समितिका अनुसार अब आगामी वर्षका लागि प्रकाशन गरिने सबै प्रकारका पात्रो तथा क्यालेण्डरले पूर्वस्वीकृति लिएपछि मात्र बजारमा आउन पाउनेछन् । यस कदमले पात्रो प्रकाशन क्षेत्रमा एकरूपता कायम हुनुका साथै सर्वसाधारणले प्रमाणित र विश्वसनीय विवरण पाउने विश्वास समितिले व्यक्त गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच