मुगु । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले हिमाली जिल्ला मुगुलाई पुनः राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा यसपटक परम्परागत दुई शक्ति (नेपाली कांग्रेस र नेकपा एमाले) बीचको प्रतिस्पर्धामा नयाँ शक्ति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत निर्णायक रूपमा उभिएका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार मुगुमा यसपटकको चुनाव ‘त्रिपक्षीय प्रतिस्पर्धा’ मात्र नभई मत विभाजन र गठबन्धन विघटनको प्रत्यक्ष परीक्षणसमेत बन्ने देखिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट खड्गबहादुर शाही, एमालेबाट पूर्णबहादुर रोकाया र नेकपाबाट चन्द्रबहादुर शाही चुनावी मैदानमा हुनुहुन्छ । यसबाहेक रास्वपाबाट भुवन टमाटा, नेकपा माओवादी पृष्ठभूमिका रंगवीर परियार, राप्रपाबाट बलबहादुर मल्ल, प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन मल्ल लगायतका उम्मेदवारले समेत उम्मेदवारी दिनुभएको छ । साना दलहरूको उपस्थिति भए पनि मुख्य भिडन्त कांग्रेस, एमाले र नेकपाबीच केन्द्रित हुने आँकलन गरिएको छ ।
पुराना खेलाडीसँग नयाँ अनुहार
कांग्रेसका शाही २०७४ को प्रदेश निर्वाचनमा पराजित भए पनि यसपटक पहिलोपटक प्रतिनिधिसभा चुनावी मैदानमा उत्रिनुभएको छ । एमाले जिल्ला कमिटी अध्यक्षसमेत रहनुभएका रोकाया पनि पहिलोपटक संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँ पूर्वजिल्ला समन्वय समितिका प्रमुखसमेत हुनुहुन्छ । नेकपाका चन्द्रबहादुर शाही भने मुगुका अनुभवी र ‘पाका’ राजनीतिक खेलाडी मानिनुहुन्छ । उहाँ २०५६ सालको संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो भने २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भई कर्णाली प्रदेश सरकारमा कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ । राजनीतिक अनुभव र संगठनात्मक पकडका आधारमा शाहीलाई बलियो दाबेदारका रूपमा हेरिएको छ ।
अंकगणित के भन्छ ?
२०७९ सालको समानुपातिक मत परिणामअनुसार मुगुमा एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र एकीकृत समाजवादी चौथो स्थानमा थिए । जसमा एमालेले ८,६४३ मत, कांग्रेसले ८,४४० मत, माओवादी केन्द्रले ४,६५० मत र एकीकृत समाजवादीले २,६१२ मत प्राप्त गरेको थियो ।
माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकृत भई नेकपा बनेपछि उनीहरूको मत आधार एकीकृत भएको दाबी गरिएको छ । यही कारण कांग्रेस र एमाले दुवै दललाई ‘टाउको दुःखाइ’ थपिएको स्थानीय विश्लेषण छ ।
२०७९ को प्रत्यक्ष निर्वाचनमा भने कांग्रेस-माओवादी-समाजवादी गठबन्धनका साझा उम्मेदवारले १४,७०६ मत ल्याई विजय हासिल गरेका थिए भने एमाले उम्मेदवारले १०,७१० मत प्राप्त गरेका थिए । दुईबीच ३,९९६ मतको अन्तर थियो ।
यसपटक कुनै गठबन्धन नरहेकाले विगतको समीकरण पूर्णतः परिवर्तन भएको छ । कांग्रेसले पाएको गठबन्धनको मत घट्ने आँकलन गरिएको छ भने एमालेले प्रत्यक्ष लाभ लिनसक्ने दाबी गरिरहेको छ । उता, नेकपाले आफ्नो एकीकृत मत र असन्तुष्ट एमाले कार्यकर्ता तान्न सके जित सुनिश्चित हुने रणनीति बनाएको बुझिन्छ ।
रास्वपा र युवा प्रभाव
रास्वपाका उम्मेदवार भुवन टमाटा युवा पुस्ताका प्रतिनिधि मानिनुहुन्छ । गाउँ-गाउँमा पुगेर अभियान चलाइरहनु भएका टमाटाप्रति विशेषगरी ‘जेन–जी’ समूहका युवाहरू आकर्षित हुँदै गएको स्थानीय दाबी छ । विश्लेषकहरू भन्छन्- रास्वपाले जति मत काट्छ, त्यसले मुख्य तीन दलमध्ये कसलाई बढी असर पार्छ भन्ने कुराले नै अन्तिम परिणाम निर्धारण गर्नसक्छ ।
त्यस्तै, जनजीविका र पुराना सत्ताको आलोचना गर्दै प्रचारमा रहनुभएका रंगवीर परियारप्रति पनि केही मतदाता आकर्षित देखिएका छन् । यद्यपि, उनीहरूको मत प्रतिशत कति प्रभावकारी हुन्छ भन्ने स्पष्ट छैन ।
मतदाता संख्या र सम्भावित प्रभाव
जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा कुल ३६ हजार ३१ मतदाता छन् । जिल्लाभर ६७ मतदान स्थल र ७९ मतदान केन्द्र तोकिएका छन् । तर, हिउँद याम, रोजगारीका लागि भारत तथा तेस्रो मुलुक पलायन, र मतदातामा देखिएको उत्साहको कमीका कारण यसपटक मतदान प्रतिशत विगतभन्दा कम हुने अनुमान गरिएको छ । २०७९ मा करिब ७४ प्रतिशत मत खसेको थियो । कम मतदान भए परिणाममा अप्रत्याशित मोड आउनसक्ने देखिन्छ ।
मुगुमा यसपटकको चुनाव परम्परागत द्वन्द्वभन्दा फरक स्वरूपमा देखिएको छ । गठबन्धन विघटन, दल एकीकरण, युवा शक्ति उदय र मत विभाजनका कारण परिणाम अनुमानभन्दा बाहिर जानसक्ने संकेतहरू देखिएका छन् । कांग्रेस र एमालेबीचको सधैँको प्रतिस्पर्धामा नेकपाको संगठित चुनौती र रास्वपाको मत प्रभावले मुगुको राजनीतिक समीकरणलाई नयाँ मोड दिने लगभग निश्चित छ । फागुन २१ पछि मुगुको राजनीतिक नक्सा कता मोडिन्छ- त्यो भने मतपेटिकाले नै तय गर्नेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच