काठमाडौं । बंगलादेश राष्ट्रिय पार्टी (बिएनपी) अध्यक्ष तारिक रहमान बंगलादेशको प्रधानमन्त्री बन्नुभएको छ । ढाकास्थित संसद् भवनको दक्षिण प्लाजमा उहाँलाई मंगलबार राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । बिएनपी संसदीय दलले मंगलबार बिहान उहाँलाई सर्वसम्मत नेता चयन गरेको थियो । गत बिहीबार सम्पन्न निर्वाचनमा बिएनपीले दुई तिहाइभन्दा धेरै मत ल्याएको थियो ।
सन् २०२४ को हिंसात्मक जनविद्रोह र त्यसपछि गठन भएको १८ महिने अन्तरिम सरकारको अध्याय अन्त्य गर्दै बंगलादेशमा निर्वाचित प्रतिनिधिहरूले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का ६० वर्षीय नेता तारिक रहमान झण्डै १७ वर्षको निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किनुभएको थियो । शेख हसिनाको १५ वर्षे शासनकाल र त्यसपछिको संक्रमण कालपछि उहाँ देशको नेतृत्व सम्हाल्न तयार हुनुभएको हो ।
मंगलबार अपराह्न ४ बजे संसद् परिसरको दक्षिण प्लाजामा राष्ट्रपति मोहम्मद साहाबुद्दिनले प्रधानमन्त्री रहमान तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई शपथ खुवाउनुभएको छ । परम्परागत रूपमा बंगभवनमा हुने समारोह यसपटक खुला प्रांगणमा आयोजना गरिएको छ, जसलाई ‘लोकतान्त्रिक पुनरागमनको प्रतीक’का रूपमा हेरिएको छ ।
स्पष्ट बहुमत, प्रतिपक्षको प्रतिबद्धता
गत फेब्रुअरी १२ मा सम्पन्न निर्वाचनमा बिएनपी नेतृत्वको गठबन्धनले २१२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ । जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेर ‘सैद्धान्तिक र शान्तिपूर्ण प्रतिपक्ष’को भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगलाई भने निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो । हसिना हाल भारतमा शरणमा रहनुभएको छ ।
‘देशलाई एकताबद्ध बनाऔँ’
शपथपछि संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले राजनीतिक विभाजनको अन्त्य गर्दै देशलाई एकताबद्ध बनाउने आह्वान गर्नुभएको थियो । ‘वर्षौँको शत्रुता र अविश्वासले थलिएको राष्ट्रलाई पुनः उभ्याउनु हाम्रो दायित्व हो,’ उहाँले भन्नुभयो । नयाँ सरकारको प्राथमिकता कानुन-व्यवस्थाको बहाली, आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना रहने उहाँले स्पष्ट गर्नुभयो । ‘बंगलादेश फर्स्ट’ नीति अवलम्बन गर्ने तर छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्ने नीति दोहोर्याउँदै उहाँले दक्षिण एसियाली सहकार्यलाई प्राथमिकतामा राख्ने संकेत दिनुभयो ।
भारतले बिएनपीको जितलाई दुई देशबीचको सम्बन्धमा ‘नयाँ अध्याय’को सुरुवातका रूपमा स्वागत गरेको छ । भारतीय लोकसभाका सभामुख ओम बिरला शपथ समारोहमा सहभागी हुन ढाका पुग्नुभएको थियो । यस्तै, नेपालबाट परराष्ट्रमन्त्री बलानन्द शर्मा सहभागी हुनुभएको थियो ।
युनुसको बिदाइ र उपक्षेत्रीय दृष्टिकोण
प्रधानमन्त्रीको शपथअघि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले बिदाइ सम्बोधन गर्दै आफ्नो कार्यकालमा परराष्ट्र नीतिका ‘सार्वभौमसत्ता, राष्ट्रिय हित र गरिमा’का तीन स्तम्भ पुनःस्थापित गरेको दाबी गर्नुभयो । उहाँले भारतको उत्तर-पूर्वी ‘सेभेन सिस्टर्स’ राज्यहरू, नेपाल र भुटानसँग उपक्षेत्रीय आर्थिक सहकार्यको सम्भावनामा जोड दिनुभयो । समुद्री पहुँच, कनेक्टिभिटी र व्यापारिक सहकार्यलाई केन्द्रमा राखेर बंगलादेशलाई क्षेत्रीय आर्थिक हब बनाउने दृष्टिकोण प्रस्तुत गर्दै उहाँले सत्ता तत्काल हस्तान्तरण गर्न आफू तयार रहेको बताउनुभयो । तर, अन्तरिम प्रशासनले अल्पसंख्यक समुदायको सुरक्षामा कमजोरी देखाएको भन्दै आलोचना पनि खेप्नुपरेको थियो । ‘लोकतन्त्रको अभ्यास, वाक् स्वतन्त्रता र मौलिक अधिकारहरू अविच्छिन्न रहुन्’, युनुसले अपिल गर्नुभयो ।
जनमत संग्रहबाट सुधारको मार्ग
निर्वाचनसँगै ‘जुलाई राष्ट्रिय बडापत्र-२०२५’ सम्बन्धी जनमत संग्रह पनि सम्पन्न भएको छ । ६८.५९ प्रतिशत मतदाताले ‘हुन्छ’ पक्षमा मतदान गर्दै ८४ बुँदे सुधार प्रस्ताव अनुमोदन गरेका छन् । तीमध्ये ४७ बुँदाका लागि संवैधानिक संशोधन आवश्यक पर्नेछ ।
सन् २०२४ को विद्रोहपछि शेख हसिना अपदस्थ भएसँगै सुरु भएको राजनीतिक संक्रमण अन्ततः निर्वाचनमार्फत टुंगिएको छ । अब रहमान नेतृत्वको सरकारले राजनीतिक स्थायित्व, आर्थिक पुनर्निर्माण र क्षेत्रीय सन्तुलन कायम गर्न सक्ने–नसक्ने प्रश्न नै मुख्य परीक्षण बन्नेछ ।
बंगलादेशले नयाँ नेतृत्वसँगै लोकतान्त्रिक अभ्यासको पुनःस्थापनातर्फ कदम चालेको संकेत दिएको छ । अबको चुनौती-आर्थिक पुनरुत्थान र राष्ट्रिय एकताको मार्गमा स्थायित्व कायम राख्नु हो । एजेन्सीको सहयोगमा ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच