काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी तीव्र बनेको छ । लुम्बिनी प्रदेशको पहाडी भूभागमा अवस्थित गुल्मी-१ पनि यसपटक राष्ट्रिय चासोको केन्द्रमा परेको छ । विगत तीन दशकदेखि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच आलोपालो प्रतिस्पर्धा हुँदै आएको यस क्षेत्रमा यसपालि नयाँ राजनीतिक शक्तिको उपस्थितिले समीकरण थप जटिल बनाएको छ ।
गुल्मी-१ मा कुल एक लाख २२ हजार १८६ मतदाता रहेका छन् । तीमध्ये ६२ हजार २७२ महिला र ५९ हजार ९१४ पुरुष मतदाता छन् । ८३ मतदान स्थल र १५५ मतदान केन्द्र तोकिएको यस क्षेत्रमा १० दलका १० उम्मेदवार र ११ स्वतन्त्र गरी २१ जना चुनावी मैदानमा छन् ।
यद्यपि, मुख्य प्रतिस्पर्धा भने चार दलबीच केन्द्रित देखिन्छ । नेकपा (एमाले) बाट पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वउपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इञ्जिनियर सागर ढकाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट पूर्वप्रदेशमन्त्री सुदर्शन बराल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
विगतको इतिहास र मतगणित
गुल्मी-१ को निर्वाचन इतिहास हेर्दा कांग्रेस र एमालेबीच आलोपालो जितको परम्परा देखिन्छ । २०५६, २०६४ र २०७४ मा प्रदीप ज्ञवाली विजयी हुनुभयो भने २०७० र २०७९ मा चन्द्रकान्त भण्डारीले बाजी मार्नुभयो । २०७९ को निर्वाचनमा भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदै ज्ञवालीलाई एक हजार ५९२ मतान्तरले पराजित गर्नुभएको थियो । ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला कांग्रेसले तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलसँग गठबन्धन गरेको थियो । समानुपातिकतर्फ २०७९ मा एमालेले २८ हजार ४५३, कांग्रेसले २३ हजार ४१३, रास्वपाले आठ हजार ११६ र माओवादी केन्द्रले ६ हजार २५७ मत पाएका थिए । २०७४ मा भने एमाले-माओवादी गठबन्धनका कारण ज्ञवालीले सात हजार ५५८ मतान्तरले विजय हासिल गर्नुभएको थियो ।
यसरी हेर्दा गठबन्धन र मत विभाजनको प्रभाव यस क्षेत्रमा निर्णायक बन्दै आएको छ । स्थानीय तह निर्वाचन परिणाम पनि मिश्रित देखिन्छ । केही पालिकामा कांग्रेस बलियो देखिएको छ भने केहीमा एमाले र माओवादी प्रभावशाली छन् । यसैले यसपालिको चुनावमा स्थानीय समीकरण, उम्मेदवारको व्यक्तिगत छवि र दलगत एकता निर्णायक बन्नसक्ने आँकलन गरिएको छ ।
नयाँ शक्ति र बदलिँदो राजनीतिक माहोल
यसपटकको चुनावमा सबैभन्दा धेरै चासोको विषय बनेको छ रास्वपाका उम्मेदवार सागर ढकालको ‘इन्ट्री’ । २०७९ मा डडेल्धुराबाट शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर राष्ट्रिय चर्चा कमाउनुभएका ढकाल आफ्नै गृहजिल्ला गुल्मीबाट मैदानमा उत्रिनुभएको हो । सामाजिक सञ्जालमा उहाँको उल्लेख्य उपस्थिति छ, जसले प्रतिस्पर्धालाई त्रिपक्षीय बनाएको आँकलन गरिएको छ । यद्यपि, सामाजिक सञ्जालको ‘लहर’ र भुइँ तहको मतगणित फरक हुनसक्ने विश्लेषण पनि भइरहेको छ । चुनाव जित्न २०-२५ हजार मत आवश्यक पर्ने अनुमान छ, जुन रास्वपाका लागि चुनौतीपूर्ण हुनसक्ने तर्क पनि छ ।
उता, नेकपाका सुदर्शन बराल सरल र स्वच्छ छवि भएका नेताका रूपमा परिचित हुनुहुन्छ । २०६४ मा संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भई मन्त्रीसमेत बन्नुभएका बराल कांग्रेस-एमालेबीच मत विभाजन भए त्यसको फाइदा आफूलाई मिल्ने अपेक्षामा हुनुहुन्छ । एमाले उम्मेदवार ज्ञवाली अनुभवी र राष्ट्रिय राजनीतिमा स्थापित नेता मानिनुहुन्छ । २०६३ सालमा पर्यटन र २०७४ मा परराष्ट्रमन्त्री बन्नुभएका उहाँ कूटनीतिक र विकासमुखी नेताका रूपमा चिनिनुहुन्छ । तर, केही स्थानीय विश्लेषणअनुसार पार्टीभित्रको असन्तुष्टि र राष्ट्रिय राजनीतिक घटनाक्रमले उहाँलाई चुनौती थपेको चर्चा छ ।
कांग्रेसका भण्डारी भने बौद्धिक र स्पष्ट वक्ताका रूपमा परिचित हुनुहुन्छ । २०७९ को झिनो मतान्तरको जित जोगाउने चुनौती उहाँका सामु छ । कांग्रेसले नेतृत्व र नारामा परिवर्तन गर्दै निर्वाचनमा होमिएको सन्दर्भमा भण्डारीको व्यक्तिगत छविले सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।
त्रिपक्षीय कि द्विपक्षीय ?
राजनीतिक विश्लेषकहरूका अनुसार सामाजिक सञ्जालको माहोलले प्रतिस्पर्धा त्रिपक्षीय देखिए पनि भुइँ तहमा मुख्य भिडन्त कांग्रेस र एमालेबीच नै हुनसक्ने संकेत देखिन्छ । रास्वपाको प्रभावले दुवै पुराना दलको मत काट्ने सम्भावना छ भने त्यसको लाभ कसलाई पुग्छ ? भन्ने प्रश्न खुला नै छ ।
गुल्मी-१ मा कालिगण्डकी, सत्यवती, रुरु, चन्द्रकोट, गुल्मी दरबार गाउँपालिका तथा रेसुंगा नगरपालिकाका केही वडा समेटिएका छन् । यी क्षेत्रहरूमा विगतको मत परिणाम हेर्दा कांग्रेस र एमालेबीच कडा टक्कर देखिन्छ । यसपटक सबै दल एक्लाएक्लै चुनावमा गएका छन् ।
गठबन्धन नभएको अवस्थामा मत विभाजनले नतिजा अप्रत्याशित बन्नसक्ने विश्लेषण छ । मतगणित, स्थानीय समीकरण, उम्मेदवारको व्यक्तिगत प्रभाव र बदलिँदो राजनीतिक चेतनाले यसपटक गुल्मी-१ लाई राष्ट्रिय रूपमा चासोको निर्वाचन क्षेत्र बनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच