काठमाडौं । नेपाली कांग्रेसले आज (बुधबार) जनकपुरमा ‘प्रतिज्ञा सभा’ गर्दै छ । कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा पार्टीले प्रतिज्ञा सभा गर्न लागेको हो । सभामा कांग्रेसले चुनावी घोषणापत्र (प्रतिज्ञा पत्र) सार्वजनिक गर्नेछ । सभालाई सभापति गनगकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरूले सम्बोधन गर्ने कांग्रेस मधेस प्रदेश सभापति कृष्णकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सभामा प्रदेशका आठवटै जिल्लाबाट व्यापक सहभागिता सुनिश्चित गरिएको छ । सभामा करिब एक लाखको सहभागिता रहने उहाँले बताउनुभयो ।
सभाले मधेसमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने उहाँको भनाइ छ । ‘प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौँ’, उहाँले भन्नुभयो, ‘यो सभा मधेसमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ ।’
प्रतिज्ञा पत्रमा मधेसका विकास, रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा-स्वास्थ्य सुधार, पूर्वाधार विस्तार तथा सुशासनका एजेण्डा प्राथमिकतामा रहने यादवले बताउनुभयो । कांग्रेसले मधेस प्रदेशमा आफ्नो जनाधार सुदृढ बनाउँदै आगामी निर्वाचनमा स्पष्ट बहुमतको लक्ष्य राखेको पनि नेताहरूले बताएका छन् । ‘हामी एकढिक्का भएर चुनावमा होमिएका छौँ । पार्टीभित्र असन्तुष्टि वा बागी उम्मेदवारीको अवस्था छैन’, उहाँले भन्नुभयो ।
कांग्रेसले मधेसबाट चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने तयारी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने कर्णालीतिर लागेको छ । कांग्रेसले जनकपुरबाट चुनावी सभा गर्दा रास्वपाले भने कर्णालीको सुर्खेतलाई आफ्नो राजनीतिक प्रस्थानविन्दु बनाउने भएको छ । रास्वपाले सुर्खेतबाटै चुनावी घोषणापात्र (नागरिक करार) सार्वजनिक गर्ने तयारी गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन सुर्खेतमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहसहितका शीर्ष नेतृत्वले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् ।
कांग्रेसले यसपटक मधेसलाई राजनीतिक ऊर्जाको केन्द्र बनाउन खोजेको छ । योपटक सभापति थापा आफैँ मधेसको सर्लाही-४ बाट उम्मेदवार हुनुहुन्छ । अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामै व्यस्त रहँदा नेकपा एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम अलमलमै देखिएको छ । फागुन ६ गते ओली काठमाडौं फर्कने कार्यक्रम छ । त्यसपछि एमालेले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
मधेसमा ३२ वटै सिट जिताउन जनकपुरमा चुनावी सभा आयोजना गरेका छौँ : सभापति यादव
कांग्रेस मधेस सभापति कृष्णप्रसाद यादवले मधेसलाई उर्वर बनाउन चुनावी आमसभा मधेसबाट पार्टीले थाल्न लागेको बताउनुभएको छ । मधेसका धेरै एजेण्डा समेटिएका हुनाले कांग्रेसले मधेसमा चुनावी सभासँगै प्रतिज्ञापत्र जारी गर्न लागेको उहाँले बताउनुभयो । ‘मधेसलाई बुझ्न, मधेसको समस्या बुझ्न र बुझाउन तथा उर्वर भूमिको विरासत जोगाउन कांग्रेस जिताउन यहाँ पहिलोपटक चुनावी सभा गर्न लागेका हौँ’, उहाँले भन्नुभयो । मधेसमा चुनावको उभार ल्याएर जिताउन कांग्रेस केन्द्रीय सभापति गगन थापासहितको चुनावी सभा आयोजना गर्न लागेको उहाँको भनाइ छ । अहिलेसम्म मधेसले चुनावमा भोट मात्रै हालेको तर न्याय नपाएकाले यसपटक कांग्रेसले मधेसलाई चुनावी एजेण्डासहित न्याय दिलाउने अठोट गरेको यादवले बताउनुभयो । ‘कांग्रेसले बोलेको कुरा पूरा गर्छ भन्ने आशा राख्दै चुनावी सभा गरेका छौँ । साथै मधेसमा गगनको उम्मेदवारीसँगै मधेसको पहिचान, सम्मान र शानलाई फर्काउँदै गगन थापासहित मधेसमा ३२ वटै सिट जिताउन जनकपुरमा चुनावी सभा आयोजना गरेका छौँ’, उहाँले भन्नुभयो ।
ओलीको ४२ बुँदे प्रतिबद्धता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा नम्बर ५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षालाई मूलमन्त्र बनाइएको प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको छ । सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई)को दुरुपयोग गरी फैलाइएका तथ्यहीन कुराहरूलाई चिर्दै अधुरा कामहरू पूरा गर्ने जिम्मेवारी एमालेले लिने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै, नेपाललाई ‘भूपरिवेष्ठित’ बाट ‘भू–जडित’ मुलुक बनाउन छिमेकी देशहरूसँग व्यापार तथा पारवहन सन्धिमार्फत कूटनीतिक पहल गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ । यस्तै, प्रतिबद्धता पत्रमा विगतको एमाले सरकारले सुरु गरेका तर हाल रोकिएका विकास आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने संकल्प गरिएको छ । दमक सभाहल सञ्चालन, आदिवासी संग्रहालय निर्माण र प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्यलाई एमालेले आफ्नो मुख्य एजेण्डा बनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच