काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब दुई साता मात्र बाँकी छ । निर्वाचन आयोग र सरकारले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । निर्वाचन लक्षित चुनावी प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारहरूको लागि छुट्याइएको समय लागू भइसकेको छ । राजनीतिक दल र उम्मेदवारहरूले मतदाता रिझाउन जोडबल गरिरहेका छन् । दलका नेता तथा कार्यकर्ता र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहँदा मुलुक चुनावमय भएको छ । मतदानको समय नजिकिँदै जाँदा पनि चुनाव हुनेमा आशंका अझै जारी छ । निर्वाचनमा सहभागी रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आसन्न निर्वाचन बिथोल्न चाहने शक्तिहरू अहिले पनि सक्रिय रहेको दाबी गरेको छ । जटिल परिस्थितिमा निर्वाचन गर्न लागेको आयोगले आफूमाथि प्रश्न उठ्न नदिन, जनतामा भ्रम छरिनबाट रोक्न तथा आचारसंहिता विपरीतका सबै गतिविधिविरुद्ध प्रभावकारी कदम चाल्दै जनताको विश्वास कायम राख्नुपर्ने नेकपाको भनाइ छ ।
मंगलबार पार्टी मुख्यालय पेरिडाँडामा आयोजित पत्रकार सम्मेलनपछि नेकपा निर्वाचन प्रचार समितिका संयोजक अग्नि सापकोटाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘देश संवेदनशील अवस्थामा छ । निर्वाचन बिथोल्न चाहने शक्तिहरू अहिले पनि सक्रिय छन् । यस परिस्थितिमा, स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । विभिन्न पक्षबाट कतिपय प्रसंगमा दलहरूपिच्छे आचारसंहिता अनुगमनमा फरक व्यवहार तथा आचारसंहिता उल्लंघनविरुद्ध प्रभावकारी निगरानी र कारबाही नगरेको जस्ता प्रश्नहरू निर्वाचन आयोगमाथि उठाइएका छन् ।’
वर्तमान संकटबाट देशलाई बाहिर निकाल्न, स्वाधीनता र सार्वभौमसत्ता तथा राष्ट्रिय एकता सुदृढ गर्न र स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चित गर्न नेपाल सरकार, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबै पक्षलाई उच्चतम इमानदारी, जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्नसमेत नेकपाले आह्वान गरेको छ । नेकपाले मुलुकमा हाल विभिन्न प्रकारका अतिवादको चुनौती सामना गरिरहेको पनि निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संयोजक सापकोटाले एकातिर दलाल र बिचौलियाको आडमा कुशासनका शृंखलाहरू चलाउने र अभिव्यक्ति स्वतन्त्रता एवं सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने अतिवादी प्रवृत्ति हाबी भइरहेको टिप्पणी गर्दै भन्नुभयो, ‘यतिबेला हाम्रो देश दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको छ । एकातिर दलाल र बिचौलियाको आडमा कुशासनका शृंखलाहरू चलाउने र अभिव्यक्ति स्वतन्त्रता एवं सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने अतिवादी प्रवृत्ति हाबी छ । अर्कोतर्फ, जनभावनालाई निहित समूहहरूको स्वार्थमा प्रयोग गर्दै लोकतन्त्रका आधारस्तम्भ मानिने राष्ट्रपति भवन, व्यवस्थापिका संसद्, सिंहदरबार, सर्वोच्च अदालत जस्ता राष्ट्रिय सम्पदामाथि आगजनी र आक्रमण गर्ने अर्को अतिवाद छ ।’
दुवै अतिवाद हाम्रो लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समृद्धिका लागि गम्भीर रूपमा हानिकारक रहेको सापकोटाको जिकिर छ । नेकपाले सुशासनको पक्षमा आन्दोलन गर्ने युवाहरूविरुद्ध दमन गर्ने प्रवृत्ति र देशको सम्पत्ति जलाउने प्रवृत्तिको सामना गर्नु परिरहेको बताएको हो ।
पहिलो शक्ति बन्ने दाबी
नेकपाले आसन्न चुनावबाट पहिलो पार्टी बन्ने दाबी गरेको छ । निर्वाचन प्रचार समितिका समितिका संयोजक अग्निप्रसाद सापकोटाले सबै पक्षको सामूहिक प्रयासले नै मुलुक निर्वाचनको निर्णायक मोडमा आइपुगेको उल्लेख गर्दै नेकपाप्रति जनताको विश्वास र भरोसा चुलिँदै गएको दाबी गर्नुभएको हो । देशलाई सही दिशामा नेतृत्व दिनसक्ने एक मात्र सक्षम शक्ति नेकपा भएको दाबी गर्दै सापकोटाले पछिल्ला रिपोर्टहरूका आधारमा आफ्नो पार्टी निर्वाचनमा पहिलो बन्ने स्पष्ट रहेको जिकिर गर्नुभएको छ । संयोजक सापकोटाले भन्नुभयो, ‘नेकपाले मतदाताहरूलाई राजनीतिक दलहरूको विगत र वर्तमानको भूमिका, विचारधारा र एजेण्डाको गहिरो मूल्यांकन गर्न अनुरोध गरेको छ । इतिहासका उपलब्धिहरूको रक्षा गर्दै परिवर्तन, स्थायित्व र समृद्धिको पक्षमा उभिन र विवेकपूर्ण निर्णय लिन आम नागरिकसँग अपिल गर्दछौँ ।’
पार्टीविरुद्ध सञ्चार माध्यमले गलत सूचना सम्प्रेषण गरेको आरोप
नेकपाले निर्वाचन आचारसंहिता उल्लंघनको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चार माध्यमले पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक सूचना फैलाएर पार्टीलाई अवमूल्यन गर्ने प्रयास गरिरहेको नेकपाको टिप्पणी छ । यस प्रकारका गतिविधिलाई लिएर कडा आपत्ति जनाउँदै नेकपाले भनेको छ, ‘निर्वाचन आचारसंहिता उल्लंघन हुने विभिन्न प्रकारका गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । केही सीमित सञ्चार माध्यमहरू पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक र गलत सूचना फैलाएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयासमा निरन्तर लागिरहेका छन् । यस प्रकारका गतिविधिप्रति हाम्रो पार्टी कडा आपत्ति जनाउँछ ।’ नेकपाले नेपाल प्रेस काउन्सिललाई समेत आचारसंहिताको निष्पक्ष रूपमा कडाइका साथ अनुगमन गर्न अपिल गरेको छ ।
नेकपा संयुक्तको चुनावी घोषणा, ‘प्रधानमन्त्री दुईपटक, मन्त्री र सांसद चार पटकसम्म’
नेकपा संयुक्तले एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने प्रस्ताव गरेको छ । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले मन्त्री र सांसद बढीमा चारपटक मात्रै हुन पाउने व्यवस्था गर्ने पनि उल्लेख गरेको हो । नेकपाले घोषणापत्रमा भनेको छ, ‘एकजना व्यक्ति दुई पटकसम्म मात्र प्रधानमन्त्री हुन, बढीमा चारपटक मन्त्री र सांसद हुन पाउने व्यवस्था गर्नुपर्छ ।’ नेकपा संयुक्तले घोषणापत्रमा कृषिलाई निकै प्राथमिकतामा राखेको छ । उसले कृषिमा आश्रित हरेक परिवारमा महिनामा न्यूनतम ४०/४५ हजार रुपैयाँ भित्रिने व्यवस्था गर्ने पनि उल्लेख गरेको छ । नेकपाले उक्त रकमको व्यवस्था गर्न नसक्ने हो भने कृषि पेसामा टिकाउन नसकिने दाबी गरेको छ । नेकपा संयुक्तले गरिबी, बेरोजगारी, युवा पलायनको मुख्य स्रोत संरक्षण नपाएको ग्रामीण कृषि भएको जनाएको छ । घोषणापत्रमा भनिएको छ, ‘त्यसलाई नभत्काई हुँदैन । त्यसका लागि कृषि क्षेत्रको संरक्षण गर्नैपर्छ । कृषिको संरक्षण भनेको ५१ प्रतिशत किसानको संरक्षण हो । यो काम अरू कसैले जिम्मा लिँदैन, राज्यले नै जिम्मा लिनुपर्छ ।’ त्यसैगरी, कृषिमा संरक्षणको नीतिले पाँच वर्षमा कृषि उत्पादनमा आत्मनिर्भर हुनसक्ने भन्दै नेकपा संयुक्तले त्यही बलमा कृषिमा आधारित उद्योगको ठूलो क्षेत्र खुल्ने दाबी गरेको छ । घोषणापत्रमा नेकपाले भनेको छ, ‘कृषि, शिक्षा, स्वास्थ्य पर्यटन, पूर्वाधार र सूचना प्रविधि र सुशासनलाई प्राथमिकतामा राखेर सार्वजनिक गरेको घोषणापत्रमा संघीय प्रणालीको प्रभावकारिताका लागि आवश्यक संवैधानिक व्यवस्था तथा कानुनी प्रबन्ध गर्नुपर्छ ।’





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच