कीर्तिपुर-चोभारमा बुबा माधव केसी र आमा अञ्जना केसीको कोखबाट जन्मिनुभएकी सोनिका केसी नेपाली गायन क्षेत्रमा आफूलाई संलग्न गराउँदै अघि बढिरहनुभएको छ । सोनिका बुबा माधव वरिष्ठ गीतकार हुनुहुन्छ । उहाँका धेरै गीत श्रोता-दर्शकमाझ लोकप्रिय छन् । घरायसी वातावरणले पनि सोनिकामा सानैदेखि गीत-संगीततर्फ लगाव बढ्यो । २०६२ सालदेखि औपचारिक रूपमा यो क्षेत्रमा होमिनुभएकी सोनिकाका आधा दर्जन गीत श्रोता-दर्शकमाझ लोकप्रिय छन् । पारिवारिक प्रेरणा, गुरुको मार्गदर्शन र आफ्नै दृढ इच्छाशक्तिले उहाँलाई निरन्तर अघि बढाइरहेको छ । उहाँको सांगीतिक जीवनमा गायक अशोक बराल जीवनसाथीका रूपमा आएपछि अझ झांगिने अवसर पायो । संगीतले जीवन जोड्छ र संघर्षले जीवनलाई अर्थ दिन्छ भन्ने मान्यता राख्नुहुने गायिका सोनिका केसीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यो क्षेत्रमा कसरी आउनुभयो ?
सानैदेखिको विशेष रुचिको क्षेत्र थियो यो । त्यसैले यो क्षेत्रमा आएँ । मेरो जन्म कीर्तिपुरको चोभारमा भएको हो । चोभार आफैंमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको ठाउँ हो, जहाँ परम्परा, संस्कार र संगीतको मिठास मिसिएको वातावरण पाइन्छ । त्यही परिवेशमा हुर्किँदा कला र संस्कृतिप्रति स्वाभाविक आकर्षण जाग्यो । मेरो परिवार नै संगीतसँग जोडिएको भएकाले सानैदेखि गीत-संगीत सुन्दै, बुझ्दै हुर्किएँ ।
तपाईंको परिवारमा संगीतको पृष्ठभूमि कस्तो छ ?
मेरो बुबा माधव केसी वरिष्ठ गीतकार हुनुहुन्छ । उहाँले नेपाली गीत-संगीत क्षेत्रमा धेरै योगदान दिनुभएको छ । आमा अञ्जना केसीले पनि सधैं हाम्रो परिवारलाई सकारात्मक ऊर्जा दिनुभएको छ । बुबाको सिर्जनात्मक सोच र लेखनले मलाई धेरै प्रेरणा दियो । घरमै गीतको शब्द, लय र भावबारे छलफल हुने भएकाले संगीतप्रति मेरो झुकाव झन् गहिरो भयो ।
तपाईंले औपचारिक रूपमा संगीत यात्रा कहिलेदेखि सुरु गर्नुभयो ?
मैले २०६२ सालदेखि गाउन थालेकी हुँ । त्यसअघि पनि विद्यालय र स्थानीय कार्यक्रमहरूमा गाउने गर्थें, तर व्यावसायिक रूपमा भने २०६२ सालबाट यात्रा सुरु भयो । त्यो समय मेरो जीवनको महत्वपूर्ण मोड थियो, किनभने मैले संगीतलाई पेशाकै रूपमा अघि बढाउने निर्णय त्यतिबेलै गरेँ ।
तपाईंको पहिलो गीतको अनुभव कस्तो रह्यो?
मेरो पहिलो गीत अमृता पौडेलको शब्द रचना र कन्हैया सिंहको संगीतमा गाएकी थिएँ । पहिलोपटक स्टुडियोमा गएर रेकर्ड गर्दा निकै उत्साह र डर दुवै थियो । माइक्रोफोन अगाडि उभिँदा हात काँपेको अझै सम्झन्छु । तर, त्यो अनुभवले मलाई आत्मविश्वास दियो । पहिलो गीतले मलाई ‘म सक्छु’ भन्ने विश्वास दिलायो ।
संगीत सिकाइ कसरी सुरु भयो ?
मैले संगीत सिकेर नै यो क्षेत्रमा प्रवेश गरेकी हुँ । कन्हैया सिंहसँग संगीत सिक्ने अवसर पाएँ । उहाँ अत्यन्तै अनुशासित र गम्भीर गुरु हुनुहुन्छ । स्वरको अभ्यास, शास्त्रीय आधार, लय-तालको ज्ञान, यी सबै कुरामा उहाँले कडाइका साथ प्रशिक्षण दिनुभयो । त्यही आधारले मलाई गीत गाउनमात्र होइन, संगीत बुझ्न पनि सिकायो ।
घरपरिवारको सुरुवाती प्रतिक्रिया कस्तो थियो ?
सुरुमा घरमा सबैले संगीत क्षेत्रमा नलाग्न सुझाव दिनुभएको थियो । विशेषगरी आमाबुबालाई छोरीले यो क्षेत्रमा संघर्ष गर्नुपर्छ भन्ने चिन्ता थियो । तर, जब मैले आफ्नो दृढता देखाएँ र संगीतप्रतिको समर्पण बुझाउन सकेँ, उहाँहरूले समर्थन गर्न थाल्नुभयो । तीन महिना त उहाँहरूलाई थाहा नै नदिइकन संगीत सिकेँ । पहिलो रेकर्डिङ गर्न जाँदा घरबाट टीका लगाएर पठाउनुभएको क्षण म कहिल्यै बिर्सिन सक्दिनँ । त्यो आशीर्वाद नै मेरा लागि सबैभन्दा ठूलो प्रेरणा बन्यो ।
तपाईंले गाएका गीतहरूका बारेमा बताइदिनुहोस् ?
हालसम्म आधा दर्जनजति गीत गाएकी छु । राजेशपायल राई, अशोक बराल, सुरुचि पन्थीलगायतसँग संयुक्त रूपमा गाएकी छु । तीमध्ये तीज गीत पनि समावेश छन् । सुरुचिसँग मिलेर गाएको तीज गीतले मलाई विशेष चिनारी दिलायो । तीज गीतमा नेपाली नारीको भावना, उत्सव र संस्कृतिको झल्को हुन्छ, जुन गाउन पाउँदा निकै खुसी लाग्छ । प्रत्येक गीत मेरा लागि एउटा कथा हो । कहिलेकाहीँ खुसीको, कहिलेकाहीँ पीडाको, त कहिलेकाहीँ प्रेरणाको ।
तपाईंको श्रीमान् पनि संगीत क्षेत्रमा हुनुहुन्छ ?
हो, मेरा श्रीमान् अशोक बराल पनि राम्रो गायक हुनुहुन्छ । उहाँको साथ र सहयोगले मलाई अझ अघि बढ्न हौसला मिलेको छ । एउटै क्षेत्रमा हुँदा हामीबीच सिर्जनात्मक समझदारी पनि राम्रो हुन्छ । कहिलेकाहीँ हामी एकअर्काको अभ्यास सुन्छौं, सुझाव दिन्छौं । त्यो सहकार्यले दुवैलाई फाइदा पुगेको छ । हामीले सँगै केही गीत रेकर्ड पनि गरेका छौं ।
संगीत तपाईंका लागि के हो ?
मेरा लागि संगीत जिन्दगी जोड्ने आधार हो । संगीतले मानिसको मन जोड्छ, भावना जोड्छ र कहिलेकाहीँ टुटेको आत्मालाई पनि जोडिदिन्छ । जीवनमा जति नै उतार-चढाव आए पनि संगीतले सधैं सान्त्वना दिन्छ । म संगीतलाई केवल पेशा होइन, जीवनको साथी ठान्छु ।
तपाईं जीवनलाई कसरी हेर्नुहुन्छ ?
जीवन आफैंमा संघर्ष हो । पाइला-पाइलामा संघर्ष हुन्छ । तर, संघर्षलाई नडराई सामना गर्नुपर्छ । संगीत क्षेत्रमा त झन् धेरै प्रतिस्पर्धा र चुनौती छन् । कहिलेकाहीँ अवसरको अभाव, कहिलेकाहीँ आलोचना, यी सबै कुरा भोग्नुपर्छ । तर, धैर्य र मिहिनेतले अघि बढ्न सकिन्छ भन्ने मेरो विश्वास छ ।
महिला गायिकाका रूपमा तपाईंले कस्ता चुनौतीहरू सामना गर्नुभयो ?
महिला भएकै कारण धेरै प्रश्न र अपेक्षाहरू सामना गर्नुपर्छ । तर, मैले सधैं आफ्नो काममार्फत् उत्तर दिने प्रयास गरेँ । आफूमा विश्वास राखेपछि अरूको दृष्टिकोण पनि परिवर्तन हुन्छ । परिवार र जीवनसाथीको साथले चुनौती सामना गर्न सजिलो बनायो ।
आगामी योजना के छन् ?
हामी व्यवसायमा पनि छौँ । यसले गर्दा पूर्ण रूपमा गीत-संगीतमा लाग्न सकिएको छैन । फेरि पनि गीत-संगीत हाम्रो जीवनको अमूल्य पाटो हो । अझै धेरै गुणस्तरीय गीतहरू श्रोतामाझ ल्याउने योजनामा छौँ । नयाँ पुस्तासँग सहकार्य गर्ने, लोक र आधुनिक संगीतलाई जोड्ने प्रयास गर्ने सोच छ । साथै, आफूले सिकेको ज्ञान नयाँ प्रतिभाहरूलाई बाँड्ने इच्छा पनि छ ।
अन्त्यमा ?
म सधैं आफ्ना श्रोताहरूको माया र साथको ऋणी छु । तपाईंहरूले दिनुभएको समर्थन नै मेरो ऊर्जा हो । जीवनमा जस्तोसुकै कठिनाइ आए पनि आफ्नो सपना नछोड्नुहोस् । निरन्तर प्रयास गरिरहनुहोस् । संगीतजस्तै जीवन पनि सुरिलो बनाउन सकिन्छ, यदि हामीले त्यसलाई प्रेम र धैर्यका साथ अघि बढायौं भने ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच