ललितपुर । डिलाइट किन्डरगार्डेन हाइस्कुल, ललितपुर महानगरपालिका-२३, ढोलाले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा रजतजयन्ती महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय परिसरमै आयोजित समारोहमा शिक्षा, संस्कृति र उत्सवको संगम देखिएको थियो ।
कार्यक्रमको उद्घाटन वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन मन्तव्यका क्रममा उहाँले विद्यार्थीहरूको सर्वांगीण विकासका लागि पठनपाठनसँगै उनीहरूभित्र निहित ज्ञान, सीप र प्रतिभा प्रस्फुटनका लागि उपयुक्त वातावरण निर्माण गर्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
विद्यालयकी प्रधानाध्यापिका रश्मिरा शाक्यले २०५६ सालमा विद्यालय अध्यक्ष सुनील लामासँग संयुक्त लगानीमा १३ जना विद्यार्थीबाट सुरु भएको विद्यालयले गौरवमय २५ वर्ष पूरा गरेको उल्लेख गर्नुभयो । उहाँले सुरुदेखि नै विद्यालयले बालबालिकाको सर्वांगीण विकासलाई केन्द्रमा राखेर शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । परीक्षाको अंकमात्र नभई लेखन, वाचन, सिर्जना र खेलकुदलाई समेत मूल्यांकनको आधार बनाइएको उहाँको भनाइ थियो ।
अध्यक्ष लामाले समसामयिक शिक्षा प्रणालीमा प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गर्दै सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक तथा उत्पादनमूलक शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा लामो समयदेखि विद्यालयमा योगदान पुर्याएका शिक्षक तथा कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो । उपमेयर मञ्जरी शाक्यले विद्यालयको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो ।
सांस्कृतिक कार्यक्रमअन्तर्गत ‘श्रुतिभधुर धुन’ शीर्षकमा विशेष सांगीतिक प्रस्तुति गरिएको थियो । वरिष्ठ संगीतकार तथा गायक जुजुकाजी रञ्जित र वरिष्ठ संगीतकार मनराजा नकर्मीको प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बनेको थियो । साथै विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीत प्रस्तुत गर्दै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए ।
रजतजयन्तीका अवसरमा विद्यालय परिसरमा खेलकुद प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, मनोरञ्जनात्मक खेल तथा खाद्य स्टलहरू सञ्चालन गरिएको थियो । २५ वर्षको ऐतिहासिक यात्रा पूरा गरेको यस अवसरले विद्यार्थी, अभिभावक र शिक्षकका लागि अविस्मरणीय क्षण सिर्जना गरेको विद्यालयले जनाएको छ । विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय, व्यावहारिक तथा जीवनोपयोगी शिक्षामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि