काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको बताउनुभएको छ ।
आफ्नो किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ आफू मैदानमा होमिएको उल्लेख गर्नुभएको हो । उहाँले एमालेलाई देशको प्रमुख शक्ति बनाउने आफ्नो अर्को ठूलो लक्ष्य रहेको र त्यसलाई पूरा गरेरै छाडेको दाबी गर्नुभयो । नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरेको भएपनि त्यसलाई सहन नसक्नेहरूले फुटाएको उहाँको गुनासो छ । आफूमाथि लाग्ने ‘जिद्दी’ को आरोपबारे स्पष्ट पार्दै उहाँले आफू कहिल्यै पनि गलत वा नराम्रो कुरामा जिद्दी नगर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मैले करिव किशोरावस्था नै थियो, विवाह पनि भइसकेको थियो । त्यसबेला पञ्चायत फाल्नुपर्छ, राजतन्त्र फाल्नुपर्छ भन्ने लाग्यो मलाई, म त्यस काममा लागेँ । लागेपछि लागें, लागें । जबसम्म पञ्चायत फालिएन, जेल परियोस् कि, जेल ठोकियोस् कि, हत्कडी लगाओस् कि, यातना दियोस् कि, कुटोस् कि, पिटोस् कि, भोकै राखोस् कि, जे सुकै गरे पनि राजतन्त्र फाली छाड्छु, पञ्चायत फाली छाड्छु । यो संकल्प पूरा नभएसम्म लागेको लाग्यै गरियो । त्यसैगरी सानो ठाउँबाट निर्माण शुरु गरेर नेकपा एमाले देशको प्रमुख पार्टी बनाई छाड्छु भन्ने कुरा पनि गरियो र नेपालमा दुई तिहाइ हैसियतको पार्टी समेत निर्माण गरियो । त्यो कुरा सहन नसक्नेहरूले फुटाए, त्यो आफ्नो ठाउँमा छ । त्यसलाई कमजोर पारे, त्यो आफ्नो ठाउँमा छ, त्यो भोलि त्यस सन्दर्भमा कुरा होला । संघर्षशील जिन्दगी भनेको रमाइलो जिन्दगी होइन । तर संघर्षको अन्त्यमा, सही कुरा । एउटा संघर्ष गर्दा सही कामका लागि, सही कुराका लागि संघर्ष गर्नुपर्छ । जिद्दी गर्छ भन्ने अलिकति आरोप छ मलाई यस कितावमा । जिद्दी म केमा गर्छु भन्दा, नराम्रो कुरामा कहिल्यै पनि जिद्दी गर्दिनँ, गलत कुरामा कहिल्यै पनि जिद्दी गर्दिनँ, सही कुरामा मात्रै जिद्दी गरेको हुन्छु ।’
संघर्षशील जिन्दगी रमाइलो नहुने तर सही कामका लागि गरिने संघर्षको अन्त्य सुखद् हुने उहाँको तर्क छ ।
‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाईको पार्टी फुटाउनेहरुले देशलाई कमजोर पारेको बताउनुभएको छ । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक इमानदारिता र दृढ संकल्प नै सफलताको आधार भएको बताउनु भयो । आफ्नो राजनीतिक जीवनका कठिन संघर्ष, पार्टी निर्माणको अभियान र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा पनि गर्नुभयो ।
पार्टी निर्माण र फुटको पीडा
सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्न आफूले गरेको संघर्षको स्मरण गर्नुभयो ।
‘सानो ठाउँबाट निर्माण शुरु गरेर नेकपा एमालेलाई देशको प्रमुख पार्टी र दुई तिहाइ हैसियतको शक्ति बनाइयो ।’ उहाँले भन्नुभयो, ‘तर त्यो सफलता सहन नसक्नेहरूले पार्टी फुटाएर आन्दोलनलाई कमजोर पारे ।’
उहाँले सही कामका लागि गरिएको संघर्ष र जिद्दीले नै गणतन्त्र र परिवर्तन सम्भव भएको दाबी गर्नुभयो ।
‘म बाटो बनाउने मान्छे हुँ’
आफ्नो कार्यशैलीबारे टिप्पणी गर्दै ओलीले आफू बनेको बाटोमा हिँड्नेभन्दा पनि नयाँ बाटो खन्ने मान्छे भएको बताउनु भयो । उहाँले आफूले जीवनभर नयाँ ठाउँमा जाने र आफैँ बाटो खन्ने मानिस भएको बताउनु भयो ।
‘म भीरपखेरामा हामफाल्दै बाटो बनाउने मान्छे हुँ । जसले बाटो बनाउँछ, ऊ पहिले अप्ठ्यारोमा जान्छ, ब्लास्टिङ गर्छ र ट्रयाक खोल्छ ।’ उहाँले भन्नुभयो, ‘मैले जिन्दगीभर नयाँ ठाउँमा जाने र आफैँ बाटो खन्ने काम गरेको छु ।’
भूमिगत काल र जेल जीवनको संघर्ष
अध्यक्ष ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ किशोरावस्थादेखि नै राजनीतिमा होमिएको बताउनु भयो । १४ वर्षको कठोर जेल जीवन, भूमिगत कालका चुनौती र त्यस क्रममा गुमेका आफ्ना साहित्यिक सिर्जनाहरूबारे उहाँले भावुक हुँदै स्मरण गर्नुभयो । पक्राउ पर्ने डरले नोटहरू नराख्ने बानी परेका कारण अहिले पनि आफूले धेरै कुरा स्मृतिबाटै बोल्ने गरेको उहाँको भनाइ थियो ।
पारदर्शिता र सामाजिक न्याय
आफ्नो व्यक्तिगत जीवनमा कहिल्यै पैसाको हिसाव नराखेको र श्रीमतीको कमाइमा बाँच्न आफूलाई कुनै लाज नभएको बताउनु भयो । उहाँले राजनीतिमा त्याग र पारदर्शिताको महत्व धेरै रहेको बताउनु भयो ।
‘मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु, श्रीमतीलाई बलियो बनाउनु र उनको कमाइ खानुमा मलाई गर्व छ ।’ उहाँले भन्नुभयो ।
यसलाई उहाँले सामाजिक न्याय र समानताको नयाँ भाष्यका रूपमा व्याख्या गर्नुभयो ।
युवाहरूलाई सन्देशः ‘समय खेर नफाल्नुस्’
राजनीतिक नेतृत्वले समयको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले युवाहरूलाई ‘टाइम पास’ नगर्न सुझाव दिनुभयो । ‘समयका डटहरूको जोडाइ नै जिन्दगी हो । समय खेर फाल्नु भनेको जिन्दगी खेर फाल्नु हो ।’ उहाँले भन्नुभयो ।
साथै देशको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दै उहाँले युवाहरूलाई समयमै विवाह गर्न र सन्तान जन्माएर देशको भविष्य सुरक्षित गर्न समेत आग्रह गर्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच