हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गर्दै पुनः नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे छ । नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै उहाँ आफ्नो पुरानै दलमा फर्किनु भएकाे हाे ।
रास्वपा मकवानपुरले हेटौंडा-४ हुप्रचौरमा सभा आयोजना गरिरहेकै समयमा पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गर्नुभएकाे थियाे । उहाँलाई कांग्रेसका सभापति गगनकुमार थापाले औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभएकाे हाे । पराजुलीसहित रास्वपा मकवानपुरका केही नेता आइतबार राति नै सर्लाही पुगेका थिए ।
सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै पराजुलीले पार्टी नेतृत्व शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएकाे छ । उहाँले पार्टीभित्र सीमित व्यक्तिको प्रभाव, चाकरी प्रवृत्ति, आलोचना अस्वीकार गर्ने संस्कार र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको आरोप लगाउनु भएकाे छ। आफूहरूले अंगीकार गरेको उद्देश्य, मूल्य र आदर्श व्यवहारमा विपरीत दिशातर्फ उन्मुख भएको महसुस भएपछि पार्टी छाड्ने निर्णय लिएको उहाँको भनाइ छ ।
मनहरी गाउँपालिका निवासी पराजुली ६ मंसिर २०८१ मा सम्पन्न रास्वपा जिल्ला भेलाबाट सर्वसम्मत रूपमा सभापतिमा पुनः चयन हुनुभएकाे थियाे । नेपाली कांग्रेस परित्याग गरी रास्वपामा नेतृत्व सम्हालेका उहाँ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बन्नुभएकाे थियाे । उक्त निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महेश बर्तौलाले ३४ हजार ९१६ मतसहित विजय हासिल गर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का विरोध खतिवडाले ३० हजार ३९६ मत प्राप्त गर्नुभएकाे थियाे । पराजुलीले १२ हजार ३९ मत ल्याउँदै तेस्रो स्थान हासिल गर्नुभएकाे थियाे ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पराजुली पुनः उम्मेदवार बन्ने इच्छामा हुनुहुन्थ्याे । टिकट लिन पार्टी केन्द्रीय कार्यालय पुगेका उहाँलाई उम्मेदवारी नदिइएपछि असन्तुष्टि बढेको बताइन्छ । सो अवसरमा २५ वर्षीय प्रशान्त उप्रेतीले टिकट पाएपछि पराजुली रित्तो हात फर्किनु भएकाे थियाे ।
टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पराजुली कांग्रेस मकवानपुरका नेताहरूसँग संवादमा हुनुहुन्थ्याे । रास्वपाका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ताको अघिल्लो दिन फोन गरी ‘त्यागको मूल्यांकन हुने’ आश्वासन दिएको बताइए पनि अन्ततः पराजुलीले पुरानै दल रोज्नुभएकाे हाे ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच