काठमाडौं । अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस २०२६ का अवसरमा नेपालभर प्रारम्भिक पहिचान र प्रभावकारी उपचार प्रणाली सुदृढ बनाउन एकताबद्ध पहल गरिएको छ । गत माघ २९ देखि फागुन ४ गतेसम्म भक्तपुर, भरतपुर र काठमाडौंमा आयोजित विभिन्न कार्यक्रमले सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार तथा अभिभावकलाई एउटै साझा उद्देश्यमा एकताबद्ध गर्न सफल भएको आयोजकले जनाएको छ । ती सबै कार्यक्रमबाट स्पष्ट र आशावादी सन्देश प्रवाह भएको र बाल क्यान्सर समयमै पहिचान गरी उचित उपचार भएमा निको हुन सक्ने सन्देश प्रवाह भएको बताइएको छ । आयोजकका अनुसार, साताव्यापी अभियानको सुरुवात माघ २९ गते भक्तपुर क्यान्सर अस्पतालबाट भएको थियो ।
कार्यक्रममा प्रदेश तथा संघीय तहका सरोकारवालाले समन्वित र प्रभावकारी क्यान्सर सेवाको आवश्यकता औंल्याएका थिए । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग मिलेर सुदृढ रेफरल प्रणाली, व्यवस्थित तथ्यांक संकलन तथा प्रतिवेदन प्रणाली, तथा बाल क्यान्सर सेवामा पहुँच विस्तारको आवश्यकतामा जोड दिएका थिए । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फागुन १ देखि ३ गतेसम्म आयोजित कार्यक्रमले समुदायस्तरीय सचेतना र सहभागितामा विशेष ध्यान केन्द्रित गरेको थियो । सोही क्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई बाल क्यान्सरका प्रारम्भिक चेतावनी संकेतहरू पहिचान गर्न तालिम प्रदान गरिएको थियो । जसबाट छिटो सिफारिस र समयमै उपचार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा निको भइसकेका बालबालिकाका परिवार र उपचाररत परिवारबीच अनुभव आदानप्रदान सत्र पनि आयोजना गरिएको थियो । ती सत्रहरूले क्यान्सरसँग जुध्ने क्रममा भोग्नुपरेका भावनात्मक चुनौतीहरू तथा प्रारम्भिक उपचारको जीवनरक्षक महत्वलाई स्पष्ट रूपमा उजागर गरेको थियो । अभियान समापन फागुन ४ गते कान्ति बाल अस्पतालमा भएको थियो, जहाँ ‘अभिभावक सहयोग समूह’ गठन गरिएको थियो ।
भावनात्मक सन्तुलन र मानसिक सुदृढता उपचार प्रक्रियामा अत्यन्त महत्वपूर्ण हुने तथ्य आत्मसात गर्दै वर्ल्ड चाइल्ड क्यान्सर र रमेश गुप्ता मेमोरियल ट्रस्टले सबै कार्यक्रमस्थलहरूमा उपचाररत बालबालिकाका लागि शैक्षिक सामग्री तथा खेलौना वितरण गर्नुभएको थियो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कान्ति बाल अस्पताललाई बाल क्यान्सर वार्डहरूलाई अझ बालमैत्री वातावरणमा रूपान्तरण गर्न विशेष खेल सामग्री पनि प्रदान गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार, यस वर्षको बाल क्यान्सर दिवस अभियान नेपाल सरकार, अग्रणी बाल तथा क्यान्सर उपचार संस्थाहरू तथा नागरिक समाज संगठन-टुगेदर अगेन्स्ट चाइल्ड हुड क्यान्सर र धैर्य क्यान्सर फाउण्डेसनबीचको सहकार्यबाट सम्भव भएको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच