काठमाडाैं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ ।
सर्वसाधारण जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएको हो । पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले यसले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको बताउनु भयो ।
एमाले प्रचार विभाग प्रमुख शाहीले मधेस-तराईका विभिन्न जिल्लामा लगाइएको कफ्र्यूले आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पुर्याउने काम गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्य-मान्यतामाथि नै प्रश्न उठाएको एमालेको ठहर छ । समाजमा अनेक बहानामा निर्वाचन सार्ने भ्रामक हल्ला चलेकोप्रति ध्यानाकर्षण गराउँदै एमालेले घोषित समयमै चुनाव हुनुपर्ने अडान दोहोर्याएको छ ।
एमालेले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा स्थापित गरिसकेको दाबी गर्दै शाहीले ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ को नारा अघि सारेको बताउनु भयो । प्रतिनिधि सभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान राख्दै एमालेले सर्वोच्च अदालतको आलटालप्रति असन्तुष्टि जनाएको छ । अर्कोतर्फ, महान्यायाधिवक्ताको कार्यालयले ‘जेन-जी’ उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले दण्डहीनता मौलाउने वातावरण बनेको एमालेको आरोप छ ।
निर्वाचनको यो संवेदनशील घडीमा केही सञ्चारमाध्यमबाट एकपक्षीय मत सर्वेक्षण सार्वजनिक गरी जनमत प्रभावित पार्न खोजिएको भन्दै एमालेले आपत्ति जनाएको छ । यस्ता प्रायोजित तथ्याङ्कले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको र पत्रकारिताको विश्वसनीयता गुमाएको शाहीले बताउनु भयो ।
सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युब आदि) मार्फत गलत सूचना र कृत्रिम सामग्री प्रसार गरी राजनीतिक ध्रुविकरण गराउन खोजिएको भन्दै एमालेले सरोकारवाला सबैलाई जिम्मेवार हुन आह्वान गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच